पोखराको सेतीनदी माथि निर्माण हुन लागेको पुल निमार्णको काम पुनः दुई महिना देखि ठप्प

-


     पोखरा क्लिक     
     भाद्र ३१ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ३१, भदौ,

पृथ्बीराजमार्ग अन्र्तगत पर्ने पोखरा पृथ्बीचोक क्षेत्र (चाइनापुल) नजिक सेतीनदी माथि निर्माण हुदै गरेको दुई वटा पुलहरु मध्य माथिल्लो पट्टि निर्माण हुदै गरेको पुलको काम पुनः दुई महिना देखि ठप्प भएको छ । हाल उक्त क्षेत्रमा एक कार वास कम्पनी र स्थानियको अबरोधका कारण विगत दुई महिना देखि जग खन्ने काम नै अघि बढ्न नसकेको रसुवा कन्स्ट्रक्सन प्रा.ली.का प्रतिनिधि सुदर्शन देवकोटाले बताए ।

माथिल्लो पुलको बायाँ साइडमा जग खन्ने क्रममा रोयल कार वास सहितको स्थानियको अबरोधका कारण आफुहरुले विगत दुई महिना देखि सो क्षेत्रमा काम गर्न नसकेको, मेसिन थन्केर बसेको कामदारलाई काममा लगाउन नसकिएको जसले गर्दा उक्त योजना समयमै सक्न कठिन हुन सक्ने उनले गुनासो गरे । उक्त कार वास र स्थानियको घर आगनमै उक्त पुल निर्माण हुने भए पछि स्थानियले निकास दिन माग गर्दै आएका छन्। पोखरा मुग्लिङ सडकखण्ड पश्चिम खण्ड परियोजनाले उक्त क्षेत्रको साइड क्लियर गर्न नसक्दा आफुहरुले चाहेर पनि निर्धारित समयमा उक्त परियोजना सम्पन्न गर्न कठिन हुन सक्ने प्रतिनिधि देवकोटाले पोखराक्लिकलाई जनाए । परामर्शदाता समक्ष आफुहरुले काम गर्न नसकेको कुरा जानकारी गराउदा हालसम्म कुनै सुनुवाई नभएको उनले गुनासो गरे ।

तल्लो पुलको जग हाल्ने कार्य सहित हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको देवकोटाले दाबी गरे । अब उक्त पुलमा सुपरस्टक्चरको काम बाँकी रहेको बताउदै प्रतिनिधि देवकोटाले माथिल्लो पुलको करिब १० प्रतिशत मात्र निर्माण कार्य भएको जनाए । माथिल्लो पुलको दाया साइडमा भने जग खन्ने काम सम्पन्न भएको उनले जनाए । तल्लो पुलमा अब सेतीनदीको खाँेचमा टेका लगाउने, बिम, स्ल्याप हाल्ने तयारी भएको छ भने माथिल्लो भागको बायाँ साइडमा भने काम प्रभावित भएको उनले पोखराक्लिकलाई जनाए । अझै पनि २ सय ५० मिटर वारी पारी बिद्युत पोलहरु नहटउदा अर्को समस्या भएको निर्माण कम्पनीले जनाएको छ ।
सम्पन्न भएको ४ दिन अघि देखि माथिल्लो पुलको निर्माण कार्य गर्ने योजनामा रहे पनि हाल आफुहरु अन्यौलमा परेको उनले जनाए । खानेपानी र बिद्युत कार्यालयले समयमै उक्त क्षेत्रमा पर्ने पाइप तथा पोलहरु व्यबस्थापन गर्न नसक्दा आफुहरुको काम प्रभावित भएको उनले गुनासो गरे । पोखराको सेतीनदी माथि दुई वटा पुलहरु सेप्टेम्बर २५, २०२५ मा निर्माण गर्ने गरी कम्पनीले सम्झौता गरेको हो । रसुवा कन्स्ट्रक्सन कम्पनीले १ अर्ब ७ करोड २४ लाख २६ हजार ५ सय रुपैयाँ (भ्याट सहित) निर्माण गर्न लागेको हो ।

पोखराको चाइना पुलसंगै निर्माण हुन लागेको पुल निर्माणमा केही समय देखि समस्या भएकोले त्यसको समाधानको लागि आवश्यक पहल गर्न लागेको मुग्लिङ पोखरा (पश्चिम) सडक खण्ड कार्यालयका ई.नारायण पौडेलले बताए । रोयल कार वास सहित स्थानियहरुले आफुहरुको पसलको अगाडी सवारी साधन आवाज जावात गर्न नमिल्ने गरी पुलको जग्ग खन्दै गर्दा स्थानियले बिरोध जनाए पछि उक्त काम हाल स्थगित भएको उनले जनाए । अबको केही दिनमा उक्त समस्या समाधान हुने गरी आफुहरुले पहल गर्दै गरेको उनले बताए । केही समय अघि पनि पुल निर्माणको क्रममा बिद्युत तथा खानेपानीका पाइपहरु व्यबस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको थियो ।