पोखराको प्याराग्लाइडिङ उडानमा भारी छुट, हाल दैनिक १५० उडान हुदै, आलोपालो सिस्टम हटेसंगै जोखिम बढ्यो

-


     पोखरा क्लिक     
     भाद्र ७ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ७ भदौ,

पोखरामा केही महिनाअघिसम्म ८ हजारमा हुँदै आएको साहसिक खेल प्याराग्लाइडिङ उडानको मूल्य हाल ह्वात्तै घटेको छ । आलोपालो प्रणाली हटाएर उडान खुला गरिएपछि केही कम्पनी तथा पाइलटलाई तत्काल फाइदा पुगे पनि समग्र व्यवसायमा असर पर्नुका साथै उडान सुरक्षामा समेत जोखिम बढ्न सक्ने व्यवसायीहरुको भनाई रहेको छ । हाल ३७.५ प्रतिशतले उडान शुल्क घटेसंगै ५ हजारमा प्याराग्लाईडिङ उडान हुने भएको कम्पनीहरुले पोखरााक्लिकलाई बताउनु भयो ।

करिब २१ महिनासम्म नाको आलोपालो प्रणालीमार्फत उडान सञ्चालन हुँदा दुर्घटनाको अवस्था न्यून रहेको नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ । तर पछिल्लो दुई महिनामै प्याराग्लाइडिङ उडानका क्रममा दुईवटा दुर्घटना भएका छन् । ती दुर्घटनामा एक चिनियाँ नागरिकसहित दुई विदेशी पर्यटक घाइते भएको नाले जनाएको छ । उडानको नियमन नाले गरिरहेको भए पनि हाल एउटै पाइलटले दिनमा दुईवटासम्म फ्लाइट गर्न पाउने अवस्था बनेपछि जोखिम बढेको व्यवसायीहरुको भनाई रहेको छ । पर्यटकको चाप, मौसम तथा उडान समयलाई व्यवस्थित गर्दै पहिले सिफ्टिङ प्रणालीमा उडान सञ्चालन गरिन्थ्यो । अहिले खुला प्रतिस्पर्धाका कारण कतिपय अवस्थामा मौसम प्रतिकूल हुँदासमेत उडान गर्न खोज्ने, हतार गर्ने र बढी फ्लाइट गर्न खोज्ने प्रवृत्ति देखिएको केही पाइटलहरुले नाम नवताउने गरी जनाएका छन् ।

“मूल्यमा भारी गिरावट आउनु र उडान खुला छाडिनुले केही कम्पनी तथा पाइलटलाई फाइदा पुगे पनि समग्र प्याराग्लाइडिङ व्यवसायमा असर परेको छ । हाल पोखरामा तोरीपानीबाट उडान भरी खपैदीमा अवतरण गर्ने गरिएको छ । नाले प्याराग्लाइडिङ उडानलाई व्यवस्थित गर्न विभिन्न आठवटा नियमनका आधारमा काम गर्दै आएको ना का अध्यक्ष अनिल केसीले बताउनुभयो । त्यसअन्तर्गत उपकरणको जाँच, पाइलटको लाइसेन्स नवीकरण तथा सिफारिस, दैनिक उडानको नियमन लगायतका काम हुँदै आएका छन् । व्यवसायी उपसमितिमार्फत मौसम र पर्यटकको चापअनुसार पाइलटलाई सिफ्टिङ गरी तोरीपानीबाट टेकअफ गराउने गरिएको उहाँले बताउनुभयो । “पहिले मौसम र पर्यटकको चाप हेरेर सिफ्टिङ गर्ने व्यवस्था थियो । अहिले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उडानको अनुमति दिइएको उहाँले जनाउनु भयो ।

हाल पोखरामा ५३ वटा प्याराग्लाइडिङ कम्पनी नवीकरण भएका छन् भने सातवटा कम्पनी नवीकरण भएका छैनन् । करिब चार सय पाइलटले लाइसेन्स लिएका छन् । तीमध्ये करिब ६० जना पाइलट अहिले पेशाबाट निष्क्रिय रहेको र करिब एक सय ९० जना सक्रिय रूपमा उडानमा रहेको नाले जनाएको छ । यसै वर्ष २५ जना नयाँ पाइलट थपिएका छन् । अफसिजनमा अहिले दैनिक करिब एक सय ५० वटा प्याराग्लाइडिङ उडान हुने गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो । एउटा उडानका लागि प्याराग्लाइडरसहितको उपकरण व्यवस्थापनमा मात्रै करिब रु। १ हजार ५ सय खर्च हुने गरेको छ । यस्तो अवस्थामा उडानको मूल्यमा अस्वाभाविक रूपमा भारी गिरावट आउँदा व्यवसायीलाई आर्थिक रूपमा समेत समस्या पर्ने गुनासो गर्नु भएको छ । व्यवसायी उप समितिले प्याराग्लाइडिङ सञ्चालनका क्रममा टेक–अफमा हुने भीड, पालैपालो उडान, आकाशमा हुने एयर कन्जेसन तथा मौसम व्यवस्थापनलाई आधार मानेर पालो प्रणाली लागू गरेको थियो। तर हाल सबै कम्पनीहरूलाई एकैपटक आफ्नै कम्पनीका यात्रुहरू टेक–अफमा लैजाने व्यवस्था गरिएमा टेक–अफमा अत्यधिक भीड बढ्नुका साथै आकाशमा एयर कन्जेसन हुने र मौसम प्रतिकूल हुँदा जोखिम अझ बढ्ने सम्भावना रहेको बताइन्छ ।

पोखरामा प्याराग्लाइडिङलाई व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्न सके वल्र्ड कप गर्ने सम्भावना समेत रहेको केसीले बताउनुभयो । पोखरामा यसअघि लगातार दुई वर्ष प्रि–वल्र्ड कप आयोजना भइसकेको र सन् २०१७ मा एसियन च्याम्पियनसिप समेत आयोजना भएको स्मरण गर्दै उहाँले भविष्यमा विश्वकप आयोजना गर्ने सम्भावना बलियो रहेको दाबी गर्नुभयो । विश्वका उत्कृष्ट पाँच प्याराग्लाइडिङ गन्तव्यमध्ये पोखरा पर्ने विज्ञहरूको दाबी रहेको भन्दै अध्यक्ष केसीले यहाँको प्याराग्लाइडिङलाई कमजोर बनाउनेभन्दा अझ व्यवस्थित र सुरक्षित बनाउनुपर्नेमा जोड दिनुभयो । “पोखराको प्याराग्लाइडिङलाई डाइभर्ट गर्ने प्रयासमा केही तत्व लागेको छ, तर यो केवल व्यवसायीको विषय होइन, पोखराको पर्यटनसँग जोडिएको महत्वपूर्ण क्षेत्र हो,” उहाँले भन्नुभयो ।