
पोखरा २, मंसिर,
पोखराको पर्यटन प्रवद्र्धनसँगै खेलकुद संस्कृतिको विकास र रात्रिकालीन पर्यटनलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यले आयोजना हुन लागेको दोस्रो संस्करणको ‘पोखरा रात्रिकालीन सडक दौड प्रतियोगिता–२०८३’ लाई भव्य रूपमा सम्पन्न गर्न पोखरा महानगरपालिका वडा नं. ९ ले विशेष सहयोगसहित सहकार्य गर्ने भएको छ ।

‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने मूल नाराका साथ आगामी पुस १० गते शुक्रबार आयोजना हुने प्रतियोगितालाई सफल बनाउन वडा नं. ९ ले आर्थिक, भौतिक तथा आवश्यक अन्य सहयोग गर्ने प्रतिबद्धता जनाएको हो। प्रतियोगिताका लागि वडाले चालु आर्थिक वर्षको रातो किताबमा पाँच लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको वडा अध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिनुभयो । वडा सचिव मीना भुजेलले समग्र पोखराको खेल पर्यटनमा नयाँ कार्यक्रम भएकोले उक्त कार्यक्रमलाई सबैले साथ र सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । पहिलो संस्करणदेखि नै प्रतियोगितासँग सहकार्य गर्दै आएको वडा नं.९ ले यसपटक प्रतियोगितालाई थप व्यवस्थित, प्रभावकारी र आकर्षक बनाउन विशेष प्राथमिकताका साथ सहयोग गर्न लागेको हो। यसैक्रममा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न पोखरा महानगरपालिका वडा नं ९ र आयोजक संस्था पोखरा प्रवद्र्धन केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ ।
वडा अध्यक्ष मर्सानीले ‘म बनाउँछु मेरो वडा’ भन्ने अवधारणाअनुरूप वडाको पहिचान, पर्यटन प्रवद्र्धन र सामाजिक गतिविधिलाई जोड दिँदै यस्ता सिर्जनात्मक कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले गत वर्षदेखि सुरु भएको सहयोग सहितको सहकार्य यस वर्ष थप व्यवस्थित र भव्य बनाउन पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गर्दै प्रतियोगिताका लागि आवश्यक आर्थिक, भौतिक लगायतका सहयोग गर्न वडा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । प्रतियोगिताका संयोजक दिननाथ बरालले वडा नं. ९ ले सुरुदेखि नै देखाएको साथ र यस वर्ष प्रदान गरेको विशेष सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँका अनुसार गत वर्ष सानो इभेन्टका रूपमा सुरु गरिएको प्रतियोगितालाई यस वर्ष विधा विस्तार, पुरस्कार राशिमा वृद्धि तथा व्यवस्थापकीय पक्षमा सुधार गर्दै बृहत् रूपमा आयोजना गर्न लागिएको हो । वडाको विशेष सहयोगले प्रतियोगितालाई थप उत्साहका साथ सम्पन्न गर्न ऊर्जा मिलेको उहाँले बताउनुभयो ।
पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको सुंयुक्त आयोजनामा हुने प्रतियोगिताको मुख्य उद्देश्य खेलकुद र पर्यटनलाई एकसाथ जोड्दै पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप चिनाउनु हो । रातको समयमा पनि पोखराका सडक सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री छन् भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुका साथै रात्रिकालीन पर्यटनको सम्भावनालाई उजागर गर्ने लक्ष्य प्रतियोगिताले लिएको छ । पोखराको बाराहीघाटबाट सुरु हुने पाँच किलोमिटर दूरीको दौड सेन्टरप्वाइट, हल्लनचोक, जरेवर, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक र न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल हुँदै पोखरा महानगरपालिका वडा नं। ९ स्थित अन्तर्राष्ट्रिय झण्डा पार्क (फल्चा) मा पुगेर समापन हुनेछ । प्रतियोगितामा खुला, महिला, विद्यार्थी (यू–१६), विदेशी र भेट्रान्स गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ। पहिलो संस्करणमा नर्वे, थाइल्यान्ड, फ्रान्स, इङ्गल्यान्ड लगायत पाँच देशका १४५ जना धावक सहभागी भएका थिए। यस वर्ष सहभागी संख्या र प्रतियोगिताको आकर्षण थप बढ्ने आयोजकको अपेक्षा छ ।
प्रतियोगितामा विभिन्न विधाका विजेतालाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दौड पूरा गर्ने सबै धावकलाई डिजिटल प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ। यस वर्ष भेट्रान्स विधा थप गरिएको र पुरस्कार राशिसमेत वृद्धि गरिएको छ । प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न करिब १७ लाख ९० हजार रुपैयाँ खर्च अनुमान गरिएको केन्द्रका सचिव सागर सुनारले बताउनु भयो । यसका लागि विभिन्न सरकारी निकाय, संघसंस्था, निजी क्षेत्र तथा पर्यटन व्यवसायीसँग सहकार्य र सहयोगको अपेक्षा गरिएको उहाँले जनाउनु भयो । पोखराको प्राकृतिक सुन्दरता, साहसिक पर्यटन र सांस्कृतिक पहिचानसँगै खेलकुदलाई पनि पर्यटनको महत्वपूर्ण आधार बनाउने अभियानका रूपमा प्रतियोगितालाई अघि बढाइएको हो । यस्ता कार्यक्रमले धावक तथा खेलप्रेमीलाई पोखरासम्म आकर्षित गर्नुका साथै होटल, रेस्टुरेन्ट, यातायात र स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास आयोजकको छ । पोखरालाई दिनमा मात्र होइन, रातमा पनि जीवन्त, सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित आयोजना हुन लागेको दोस्रो पोखरा रात्रिकालीन सडक दौडले पोखराको पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।





