पोखरामा पनि कर सप्ताह सुरु, सात दिनसम्म विभिन्न कार्यक्रम गरिँदै

-


     पोखरा क्लिक     
     मंसिर १ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १ मङ्सिर,

राष्ट्रिय कर दिवस २०८३ को अवसर पारेर पोखरामा पनि कर सप्ताहका कार्यक्रम सुरु भएका छन् । आन्तरिक राजस्व कार्यालय पोखराले मंगलबार बिहान प्रभातफेरी आयोजना गर्दै सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरेको हो ।

‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरी पोखरा सभागृहबाट सुरु भएको थियो । सृजनाचोक, रत्नचोक, वाई चोक, राष्ट्र बैंक चोक हुँदै सहिदचोकबाट रत्नचोकस्थित आन्तरिक राजस्व कार्यालय पुगेर प्रभातफेरी समापन भएको थियो । कर तिर्नु राज्यप्रतिको नागरिकको जिम्मेवारी मात्र नभई सुशासन, विकास र समृद्धिमा योगदान पुर्‍याउने महत्वपूर्ण माध्यम हो भन्ने सन्देश प्रवाह गर्न प्रभातफेरी आयोजना गरिएको कार्यालयले जनाएको छ । प्रभातफेरीमा पोखरा उद्योग वाणिज्य सङ्घ, लेखनाथ उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषद्, नेपाल निर्माण व्यवसायी सङ्घ कास्की, पोखरा चेम्बर अफ कमर्स, महिला उद्यमी सङ्घ नेपाल कास्कीलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू प्लेकार्डसहित सहभागी भएका थिए ।

आन्तरिक राजस्व कार्यालय पोखराले मङ्सिर १ देखि ७ गतेसम्म कर सप्ताहका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । कर प्रणालीबारे सर्वसाधारणलाई जानकारी गराउने, करदातामा सचेतना अभिवृद्धि गर्ने, कर सहभागिता बढाउने र कर प्रशासन तथा करदाताबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यालयका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले बताउनुभयो ।

सप्ताहअन्तर्गत मङ्सिर २ देखि ६ गतेसम्म पोखराका विभिन्न स्थानमा वस्तुगत सङ्घसंस्थाका प्रतिनिधिसँग करसम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । यसमार्फत करदाताका दायित्व, कर प्रणालीका व्यवस्था र कर सहभागिताका विषयमा जानकारी दिइने कार्यालयले जनाएको छ । त्यस्तै, मङ्सिर ५ र ६ गते छोरेपाटनस्थित डेभिस फल फुटसल सेन्टरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना हुनेछ । कर सप्ताहको अन्तिम दिन मङ्सिर ७ गते कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट करदातालाई सम्मान गरिनेछ । उक्त अवसरमा कास्कीबाट सेवा तथा अन्य वस्तुगत क्षेत्रका दुई जना र स्याङ्जाबाट एक जना गरी तीन जना करदातालाई सम्मान गर्ने तयारी रहेको प्रमुख कर अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो ।

यसैबीच, आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो चार महिनामा राजस्व सङ्कलन लक्ष्यभन्दा बढी गर्न सफल भएको छ । साउनदेखि कात्तिक मसान्तसम्म कार्यालयले निर्धारित लक्ष्यको १०३।६६ प्रतिशत राजस्व सङ्कलन गरेको हो । प्रमुख कर अधिकृत ढुङ्गानाका अनुसार पहिलो चार महिनामा १ अर्ब ९६ करोड ४५ लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा २ अर्ब ३ करोड ६५ लाख २९ हजार रुपैयाँ सङ्कलन भएको छ । यो लक्ष्यभन्दा ७ करोड १९ लाख ५० हजार रुपैयाँ बढी हो । कर सप्ताहका कार्यक्रममार्फत कर तिर्ने संस्कृतिको विकास, करसम्बन्धी जानकारीको विस्तार र जिम्मेवार करदाता निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यालयले करदाता, व्यवसायी, उद्योगी तथा सर्वसाधारणलाई सप्ताहव्यापी कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।