माछाका पारखीलाई रेन्बो ट्राउट फार्ममा फिसिङ फेस्टिभलमा निम्तो, शनिबार आफैँ माछा मार्ने र ट्राउटको स्वाद लिने अवसर

-


     पोखरा क्लिक     
     मंसिर १ गते २०८३ मा प्रकाशित


पोखरा,

शनिबार के गर्ने सोच्दै हुनुहुन्छ ! माछा मार्ने रहर छ, त्यसमाथि ताजा रेन्बो ट्राउट माछाका विभिन्न परिकारको स्वाद पनि लिन पाइयो भने कस्तो होला रु त्यसो हो भने तपाईंका लागि एउटा रमाइलो अवसर आउँदैछ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२, सार्दीखोलास्थित भुजुङखोलामा ‘प्रथम मत्स्य दिवस तथा फिसिङ फेस्टिभल’ आयोजना हुँदैछ । गण्डकी रेन्बो ट्राउट फार्मले विश्व मत्स्य दिवसको अवसर पारेर आयोजना गर्न लागेको फेस्टिभलमा सहभागी भएर तपाईंले आफैँ बल्छी थापेर ट्राउट माछा मार्न सक्नुहुनेछ । आफूले मारेको माछा आफ्नै स्वाद र रोजाइअनुसार पकाएर खान पाउने व्यवस्था पनि आयोजकले मिलाएको छ ।

फेस्टिभलमा ट्राउट माछाका फ्राई, मःमः, छोइला लगायतका विभिन्न परिकारको स्वाद लिन पाइनेछ । माछा मार्ने प्रतियोगितासँगै स्थानीय कलाकारका सांगीतिक तथा सांस्कृतिक प्रस्तुति र विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि सञ्चालन हुनेछन् । त्यति मात्र होइन, गुरुङ समुदायको मौलिक कला, संस्कृति र पहिचान झल्काउने भेषभूषामा सजिएर फोटो खिच्ने अवसर पनि फेस्टिभलमा रहनेछ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै जेठोबुढो चामलको भात, अर्गानिक तरकारी, स्थानीय फलफूल तथा कृषि उपजको समेत स्वाद लिन पाइने आयोजकले जनाएको छ । गण्डकी रेन्बो ट्राउट फार्मले विगत १७ वर्षदेखि ट्राउट माछापालन तथा पर्यटनसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको छ । यसअघि फार्ममा दैनिक आउने ग्राहक तथा पर्यटकको संख्या करिब १ हजार ५०० देखि १ हजार ६०० सम्म रहने गरेकोमा यसपटक फेस्टिभलमार्फत करिब ५ हजार आगन्तुक भित्र्याउने लक्ष्य राखिएको फार्मका अध्यक्ष लक्षिन गुरुङले पोखराक्लिकलाई बताउनुभयो ।

फार्मका प्रबन्ध निर्देशक अमृत गुरुङका अनुसार विश्व मत्स्य दिवसलाई उत्सवका रूपमा मनाउनुका साथै स्थानीय उत्पादनको प्रवद्र्धन, पर्यटन विकास र रोजगारी सिर्जनामा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । त्यसैले शनिबारको बिदालाई रमाइलो बनाउने सोचमा हुनुहुन्छ भने माछापुच्छ्रे–२ सार्दीखोलाको भुजुङखोला पुग्न सक्नुहुन्छ है । आफैँ बल्छी थापेर माछा मार्ने, ताजा ट्राउटको स्वाद लिने, गुरुङ संस्कृति नजिकबाट अनुभव गर्ने र सांगीतिक मनोरञ्जन लिने अवसर एउटै ठाउँमा मिल्दैछ । माछाका पारखी, घुमफिर मन पराउने र परिवारसँग रमाइलो समय बिताउन चाहने सबैलाई आयोजकले फेस्टिभलमा सहभागी हुन निमन्त्रणा गरेको छ । तष्विर एआईजेनेरेटेड ।