पोखराको आकाशमा एकै पटकमा १५ देशका १७ वटा हर्ट बेलुन उड्ने, बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा नेपालका चर्चीत कलाकारको प्रस्तुती हुने

-


     पोखरा क्लिक     
     पौष ६ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ६, पुष,

पोखराको आकाशमा एकै पटकमा १५ देशका १७ वटा हर्ट बेलुन उड्ने भएका छन्। पोखरामा यही पुष ९ गते देखि सुरु हुने बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा १५ देशका १७ वटा हर्ट एयर बेलुन उड्ने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

पर्यटनको राजधानि पोखरामा पोखरा पर्यटन परिषद र बेलुन नेपाल प्रा.लि. को संयुक्त आयोजनामा यही पौष ०९ देखि १७ गते (डिसेम्बर २४ देखि जनवरी १ तारिख) सम्म आयोजना हुने उक्त महोत्सवमा १५ देशका बेलुन पाइलटहरुको सहभागिता हुने भएको बेलुन नेपाल प्रा.लि.का अध्यक्ष बिक्रम वाडेले बताउनु भयो । उहाँका अनुसार हालसम्म करिब १० देशका बेलुन पाइलटहरु पोखरा आईसक्नु भएको छ भने बाँकी केही देशका भोलिसम्म आईपुग्ने उहाँले जनाउनु भयो ।

सुन्दर नगरी पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले आयोजना हुने महोत्सवमा नेपाल सहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अष्ट्रेलियन देशका बेलुन सहित बेलुन पाइलटहरुको सहभागि हुने भएको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको उक्त महोत्सवको स्थानिय संयोजकको रुपमा फेवा क्लब रहेको छ भने महोत्सव पोखरा २३ र २४ मा पर्ने फेवाफाँटमा हुने भएको छ । क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर हुन लागेको महोत्सवमा नेपालका चर्चीत राष्टिय देखि स्थानिय कलाकारको प्रस्तुती हुने भएको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भयो ।

महोत्सव अवधिमा बिहान ६ः०० बजे देखि ९ः०० बजेसम्म र बेलुका ४ः०० बजे देखि ०६ः०० बजे सम्म विभिन्न देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटहरूले हट एयर बेलुनको उडान गर्नुहुने छ भने बेलुका ७ः०० बजे देखि ०८ः०० बजे सम्म बेलुन नाईट ग्लोः गरिने भएको प्रतियोगिताका संयोजक सविन मर्हजनले बताउनु भयो । उक्त महोत्सवमा डिहिकोपाटनवाट निशुल्क सटल बसको व्यबस्था गरिएको उहाँले जनाउनु भयो ।

महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फुड स्टल, मेला र विभिन्न खेल समेत हुने भएको छ । महोत्सवमा राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य, राजु लामा, एलिना चौहान, कुमार सागर, कबिता नेपाली, काटुन क्रुज, बेली नृत्य लगायत थप स्थानीय कलाकार र व्यान्डले सांगीतिक प्रस्तुति दिने भएको परिषदका अध्यक्ष पहारीले जनाउनु भयो । महोत्सवको विशेष आकर्षणको रुपमा सूर्योदय र सूर्यास्त बेलुन उडानः पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँहरूको सुन्दर दृश्य, नाइट बेलुन ग्लोः बेलुनहरू रातको आकाशमा झिलिमिली गर्दै, आगो खेल, क्रिसमस इभ, काठमाण्डौंको कुमारी नृत्य र वर्ज योगीनी लगायतका कार्यकम प्रस्तुतः हुने भएको आयोजकले जनाएको छ । महोत्सवमा डिसेम्बर २४ देखि २६ तारिकसम्म विभिन्न व्याण्ड सहितको प्रस्तुती रहने भएको छ भने महोत्सवमा २७ देखि ३१ तरिखसम्म बेलुन उडान तथा विभिन्न सास्कृतिक कार्यक्रम हुने भएको छ। जनवरी १ तारिखमा सांगितीक कार्यक्रम प्रस्तुती सहित कार्यक्रम समापन हुनेछ । साथै महोत्सवमा विभिन्न खानाका परिकार सहितका अन्य केही स्टलहरु समेत रहने भएका छन् ।

बि. वाई.डी. को मुख्यः प्रायोजनमा हुने महोत्वसलाई सफल पार्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उघोग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकार प्रबर्द्धकमा रहेका छन । क्रिजम्याटिक ईन्टरटेन्मेन्ट महोत्सबको प्रमुख ईभेन्ट व्यवस्थापकको रुपमा रहेको छ भने परिचय एड्भरटाइजिङ, द क्लिप्स, वर्ल्ड लिंक, यति एयरलाइन्स, साग्रिला फेट कुरियर र हस्पिटल पार्टनरमा चरक मेमोरियल हस्पिटल, यातायात पार्टनरमा नेपाल पर्यटक यातायात व्यवसायी सधं गण्डकी प्रदेश, गिता एभिएसन, सालिको ईन्स्युरेन्स, एअर डाईनाष्टिक, कुमारी बैंक, पठाओ, गल्ली म्याप, खल्ती, पोखरा अल्ट्रालाईट लगायतका संघ संस्थाको सहयोग रहने छ ।

यसैबिच, उद्घाटनको अवसरमा पुष ९ गते पोखराको भकुण्डेदेखि विभिन्न जनजातिको भेषभुषा सहितको झाँकी समेत प्रर्दशन हुने भएको परिषदका महासचिव जीवनराम सापकोटाले जनाउनु भयो । पोखरामा सन २०१८ देखि व्यवसाँयीक रुपमा हट एयर बेलुन संचालन हुदै आएको छ । यस महोत्सवको ब्रान्ड एम्बासडरः राजेश हमाल र प्रियंका कार्की रहनु भएको छ । पोखरा र यस आसपासका सम्भावित विभिन्न साहासिक खेलकुदको पहिचान सहित पोखरालाई साँच्चिकै साहसिक खेलकुदको गन्तव्य बनाउन यस कार्यक्रमले थप टेवा पुग्ने परिषदका अध्यक्ष पहारीले बताउनु भयो । गत बर्ष थाइल्याण्डमा भएको बेलुन फेष्टिवलबाट प्रभावित भई हाल पोखरामा पहिलो पटक हुन लागेको हो । यस बर्ष राम्रो भएमा अर्को बर्ष यसले निरन्तरता पाउने अध्यक्ष वाडेले दाबी गर्नु भएको छ ।

गण्डकी प्रदेशका प्रेस रजिष्टार बिमला भण्डारीले उक्त कार्यक्रमले पोखराको सौन्दर्यतालाई थप्ने बताउनु भयो । पोखरा अन्तराष्टिय विमानथल कार्यालयका प्रबन्धक योगेन्द्र कुवंरले पोखरामा हुने बेलन फेष्टिभललाई सफलता पूर्वक सम्पन्न गर्न आफुहरुले प्राविधिक हिसावबाट उडानको सुरक्षा व्यबस्था मिलाएको जनाउनु भयो । पोखराको पाँमे, चंखपुर लगायतमा क्षेत्रमा ५ हजार मिटरको उचाईसम्म बेलुन उडाउन सकिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले चिन र भारतबाट घुम्न निस्कने पर्यटकहरुको १ प्रतिशत मात्र नेपाल ल्याउन सके नेपालको पर्यटन विकास हुने दाबी गर्नु भयो ।