
दीननाथ बराल,
पोखरा, ४ साउन,
गएराति आएको अविरल बर्षादले पोखरा २० भलाम र पोखरा १३ काहुँमा दुई घरका केही कोठाहरु बगाएको छ । शनिबार बेलुकाबाटै पानी परेका कारण पूर्वसतर्कता अपनाएका कारण मानविय क्षति हुनबाट बचाइएको स्थानिय एवं प्रहरीले पोखराक्लिकलाई बताउनु भयो ।
पोखरा–२० भलाम स्थित सूर्यबहादुर बास्तोलाको टिनले छाइएको एक तले भवनका सात कोठाहरु मध्ये तीनवटा कोठा पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताउनु भयो । त्यस्तै, पोखरा–१३ काहुँखोलाकी दीपा लामाको ब्लक र टिनले छाइएको घरका दुई वटा कोठा बगाएको उहाँले उल्लेख गर्नु भयो ।
ढल्केपुल वरिपरिका क्षेत्रका टहरा र घरहरूमा पनि क्षति पुगेको स्थानियले बताउनु भयो । रामबजार वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवप्रसाद कँडेल, सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र कटवाल सहितको टोली रातिदेखि नै उद्धार कार्यमा खटिएको छ । साथै पोखरा–१३ का वडा अध्यक्ष किरण बराल सहितको टोली राति देखि उद्धारमा खटिएको छ ।





