
डि.एन.बी.,
पोखरा २४, पुष,
पोखरामा शारीरिक सुगठन खेलको विकास र विस्तारसंगै राष्ट्रिय देखि अन्तर्राष्ट्रिय निर्णायकको भूमिका खेलेको व्यक्ति आज हाम्रो सामु भौतिक रुपमा नरहे पनि उहाँले गरेको कामलाई हामी सधंै स्मरण गर्ने छौं । शालिन स्वाभावका ६१ बर्षीय वकिलमान तुलाधर उदास (शंकरमान उदास) आफुले गरेको कर्मलाई हामी माझ छाडेर सधैका लागि अस्ताएका छन्।
पोखरामा भएका प्रायः व्यायामशालाहरू उहाँबाट नै प्रशिक्षार्थी मै प्रेरणा पाएर संचालनमा रहेका व्यामशालाहरू छन भने केही यहाँको पोखरा ३ नदीपुरमा रहेको रत्नश्री जीमका प्रशिक्षार्थी खेलाडीहरूले राष्ट्रीय अन्तर्राष्ट्रीय क्षेत्रमा पनि पदक हासिल गरेका छन्। शंकरमान उदास नेतृत्वमा गएका अन्तर्राष्ट्रीय खेलमा कहिल्यै पदक विहीन भई फर्कन नपरेको ईतिहास रहेको उनका भाई प्रकाश उदासले स्मरण्ढा गर्छन् । उनको नेतृत्वमा अन्तर्राष्ट्रिय मुलुक छिमेकि राष्ट्र भारत, चीनका साथै माल्दिभ्स, थाईल्याण्ड, सिंगापुर, श्रीलंका, भेतनाम लगायतका देशहरूमा शारीरिक सुगठन खेलको लागि नेपाली खेलाडीहरुले सहभागिता जनाएका थिए ।
बाबा दूधमान उदास र माता सन्तमाया उदासको कोखबाट जेष्ठ सुपुत्रको रूपमा २०२० असार ६ गतेका दिन यो धर्तिमा आएका उनले पोखरेली जनमानस सहित सिंगो नेपाली खेलकुद क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै गर्दा उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०८१ पौष १४ गते राती १०ः२० बजे भौतिक रुपमा हामीलाई छाडेर गएका छन्। उनको निधनले श्रीमती रचना उदास, एक छोरी शुभेच्छा, छोरा सुबोध, बुहारी अंशु उदास दुई भाई मध्ये प्रकाशमान उदास (पोखरा महानगर पालिकाका ३ नं. वडा अध्यक्ष) ई. उत्तममान उदास (वुल्स जीमका प्रोपाईटर), दिदी अम्विका र भिनाजू ईन्द्र श्रेष्ठ, वहिनी ज्वाँई अञ्जु र रोशन ताम्राकार लगायत हामी सबै स्तब्ध भएका छौं ।
बाल्यकाल देखि नै धार्मिक क्षेत्रका साथै खेलकूद, राजनिति, शिक्षा, सामाजिक कार्यमा रूचि राख्ने उदास विद्यार्थी जीवन बुबाको संस्थापक अध्यक्षतामा स्थापना भएको तत्कालीन शिशु प्राईमरी स्कूल वर्तमान ज्ञानभूमी मा.वि. नदिपुरबाट प्राथमिक शिक्षा हासिल, निमाविको शिक्षा संस्कृत प्रधान पाठशाला र मा.वि.को शिक्षा राष्ट्रीय व्यवसायीक मा.वि. टुंडिखेलबाट पुरा गरे । जेठो बाठो छोरो घर व्यवहारको कारण उच्च शिक्षा अगाडि बढउन नसकेता पनि कृषि तर्फ कुखुरा पालनको ब्यवसाय गरेसंगै तामा पित्तल भाँडा बनाउने उद्योग र पसल पनि संचालन गरे । न्यू सिमेन्ट ब्लक ईण्डष्ट्रिजका पनि संस्थापक सफल प्रोपाईटर भएका उदास राजनीतिमा पनि रूचि राख्ने हुनाले उनी नेपाली काँग्रेसमा आवद्ध भई क्रियाशील सदस्य लिएर राजनीति क्षेत्रमा समेत अतुलनीय योगदान पुरÞ्याएका थिए । विभिन्न धार्मिक क्षेत्रमा पनि दान–दक्षिणा दिनुका साथै भौतिक निर्माण कार्यमा पनि उनले विशेष योगदान रहेको छ । सुर्य विनायक सी गुठीको उपाध्यक्ष पदमा रही आधुनिक सुविधा सम्पन्न भवन बनाउन अतुलनीय योगदान पुरÞ्याएको गुठीले सदा स्मरण गर्ने छ ।
स्कूल जीवनमा राष्ट्रिय सेवा दल मा पनि उनको सक्रिय सहभागिता रहेको थियो । बक्सिङ खेलदेखि अन्य साहसिक खेलमा पनि सक्रिय सहभागिता जनाउदै समूहमा उनी अब्बल र अनुशासित प्रशिक्षर्थीको रुपमा आफ्नो पहिचान बनाएका थिए ।
२०४० साल पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकूदमा ऐथलेटिक्स तर्फ २० कि. मी.को हिंडाईमा गण्डकी अञ्चलको प्रतिनिधित्व जनाएका उनी पोखरा ब्यायामशालाको संस्थापक हुन् ।
यो ब्यायामशाला सर्वसाधारण हरेक बर्गका ब्यक्तिहरूलाई ब्यायाम गर्न सहज होस भन्ने हेतुले केहि साथीहरू (अशोक, सुरेन्द्र, राजकुमार) मिलेर सानो २ कोठा भाडामा लिएर सुरू गरेका थिए । पोखरा जेसीजको कार्यक्रममा पहिलो पटक शारिरीक सुगठनको कला प्रस्तुत गरेका थिए भने त्यसपछि शारिरीक सुगठनको क्षेत्रमा कहिले पनि पछि फर्केर हेर्नु पर्ने अवस्था नआएको भाई प्रकाशले बताए । यसै खेलको दौरानमा ब्यवसायीक सुविधा सम्पन्न ब्यायामशाला स्थापना गरेका थिए । ब्यायामशालाको नामाकरण गर्ने समयमा परिवारिक छलफल पछि पूर्खाको नाम सम्झना र अमरत्व गर्ने हेतुले हजुरबुबा खरदार स्व. रत्नमान उदासको नाममा रत्नश्री नामाकरण गरी रत्नश्री जीम स्थापना गरेका उनको पनि नाम सधै चिर स्थायी हुने गरी कुनै केही काम गर्नु पर्ने छ । शारिरीक सुगठन खेललाई जनमानसमा पुरÞ्याउन उनकोे अतुलनीय योगदान रहेको छ ।
नेपाल शारिरीक सुगठन तथा फिट्नेस फेडेरेशनको उपाध्यक्ष, गण्डकी प्रदेश शारिरीक सुगठन गण्डकीका अध्यक्ष, कास्की जिल्ला शारिरीक सुगठन तथा फिट्नेश संघका नि.वर्तमान अध्यक्ष, पोखरा शारिरीक सुगठन संघका संरक्षक तथा सल्लाहकारको रुपमा रहेका थिए भने विरेन्द्र स्मृति पार्क, नदिपुरको उपाध्यक्ष, – कास्की जिल्ला जिम व्यवसायी संघका संस्थापक अध्यक्ष रहेका शंकर उदास साच्चै सहयोगी मनका धनिको रुपमा रहेका थिए । आज पोखराले खेलकुद र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्ति गुमाउदै गर्दा उनले देखाएको बाटो र उनको सपना पुरा गर्नु उहाँको परिवारजनको काधमा आएको छ ।