
पोखरा, १२ मंसिर,
नव आदर्श सामुदायिक विकास समाज, लामाचौरको अध्यक्षमा सुशील केसी निर्वाचित भएका छन् । आज (शनिबार) संस्थाको ३० औं वार्षिक साधारणसभा तथा १६ औं अधिवेशनबाट अध्यक्षमा प्रत्यासी अर्जुन भण्डारीलाई ३२ मतअन्तरले पराजित गर्दै उनी २ वर्षे कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

कुल २७७ मत खसेकोमा निर्वाचित केसीले १५० र भण्डारीले ११८ मत ल्याए । यसैगरी, प्रथम उपाध्यक्षमा हरिबहादुर थापालाई पराजित गर्दै शोभा बानियाँ निर्वाचित भइन् । बानियाँले १८० मत प्राप्त गर्दा थापाले ९० मत ल्याए । द्वितीय उपाध्यक्षमा विष्णुमाया बानियाँ, सचिवमा राजकुमार पौडेल, कोषाध्यक्ष निर्मल पौडेल, सहसचिव गीता भण्डारी, सहकोषाध्यक्ष विकल सिजापति थापा मगर सर्वसम्मत भए । कार्यसमिति सदस्य शान्ता केसी, ई।सुजन आचार्य, बलराम थापा, राजकुमार केसी चुनिए । १५ सदस्यीय कार्यसमितिमा रिक्त ४ सदस्य मनोनीत हुने व्यवस्था छ ।
अधिवेशनका लागि वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्माको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समिति सदस्य केशवप्रसाद अचार्य, छवेन्द्रबहादुर थापा थिए ।
संस्थामा नवनिर्वाचित केसीले विगतमा कोषाध्यक्ष, सहसचिव र द्वितीय उपाध्यक्षको भूमिका निर्वाह गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको हो । पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताले नव आदशले सामुदायिक कार्यदेखि कला, संस्कृतिको संरक्षण, खेलकुद, शिक्षा र ज्येष्ठ नागरिकको हित आदिमा अनुकरणीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । सो अवसरमा संस्थाले प्रकाशन गरेको ‘नव आदर्श स्मारिका–२०८३’ विमोचन भयो । कार्यक्रमको संचालन सचिव शोभा बानियाँले गरिन् भने विद्यार्थीलाई विभिन्न नाममा छात्रवृत्ति वितरण गरिएको थियो । आफ्नो कार्यकालमा २५ लाख बचत गर्न सफल भएको अध्यक्ष दिनेश भण्डारीले सो अवसरमा जानकारी दिए ।





