
पोखरा,
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले असल र क्षमतावान युवा व्यक्तित्वले मात्र मुलुकको समृद्धिमा योगदान दिन सक्ने बताउनुभएको छ । सही नेतृत्व निर्माणमा पोखरा जेसीज जस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने उहाँले उल्लेख गर्नुभयो ।
पोखरा जेसीजको ४७ औं शाखा अधिवेशन तथा ५२ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि भट्टले पोखराकै जेठो संस्थामध्येको एक पोखरा जेसीजमा युवाहरूको सामाजिक कार्यसँगको आबद्धतालाई उत्प्रेरित गर्ने हेतु कार्यक्रममा सहभागी भएको बताउनुभयो । ‘जीवनको सबैभन्दा सक्रिय र उर्जाशील उमेर १८ देखि ४० वर्षसम्मका युवाहरुको साझmा संस्था जेसीजले व्यवसायिक युवालाई एकीकृत गर्दै नेतृत्व तथा व्यक्तित्व विकासका क्षेत्रमा सत्रियता पूर्वक लागिरहेको पाएको छु ।’ उहाँले भन्नुभयो– ‘तालिमको विश्वविद्यालयको रुपमा पनि चिनिने जेसीजले युवा सशक्तिकरण गर्दै समाजमा सकारात्मक परिवर्तन गरेको छ ।’
कर्मठ युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जेसीजले असल, योग्य युवाहरुको उत्पादन गरी राष्ट्र, राष्ट्रियता र समाजप्रति जिम्मेवार नागरिक निर्माणमा योगदान गरेको उहाँको भनाई छ । विधिको शासन, विश्व बन्धुत्व, आर्थिक न्याय र मानवताको सेवासँग युवालाई समाहित गर्नु महान कार्य हो भन्दै उहाँले सकारात्मक सोच र रचनात्मक काम गर्ने जेसीज सहर केन्द्रित मात्रै नभएर ग्रामीण क्षेत्रतिर पनि फैलन आवश्यक रहेको बताउनुभयो ।
‘युवाहरुलाई जागरुक बनाएर उनीहरुलाई सक्षम बनाई राष्ट्र निर्माणमा समाहित गर्न पनि यस्ता परोपकारी संस्थाको महत्वपूर्ण भूमिका रहन्छ । सक्षम नागरिकको उत्पादन हुन सकेमा समाज र सिंगो राष्ट्रको विकास हुनेछ ।’ उहाँले भन्नुभयो –‘पोखरा जेसीजको नेतृत्व गरेका अधिकांश समाजमा प्रतिष्ठित पदमा पुगेको पनि पाएको छु ।’ सिक्ने र सिकाउने कार्यमा अब्बल भूमिका निर्वाह गरिरहेको पोखरा जेसीजले व्यक्तित्व तथा क्षमता विकास, सामाजिक अभियान, उद्यमशीलता एवं व्यवसायिकताको नेटवर्किङ र विस्तारका साथै अन्तर्राष्ट्रिय सम्बन्ध एवं व्यापार विस्तारमा अझै ठूलो भूमिका खेलोस् भनी उहाँले अपेक्षा गर्नुभयो ।





