विदेशी पर्यटक दाइँ महोत्सवमा रमाए, गोरु खेद्नेदेखि धान चुट्नेसम्म सहभागी (भिडियो सहित)

-


     पोखरा क्लिक     
     मंसिर १२ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १२, मंसिर,

नेपाली मौलिक कला, संस्कृति र परम्परागत कृषि जीवनशैलीको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजित तेस्रो दाइँ महोत्सवमा विदेशी पर्यटक उल्लेखनीय रुपमा सहभागी भएका छन् । पोखरा महानगरपालिका–२६, लेखनाथस्थित नौबीसे फाँटमा शनिबार सम्पन्न महोत्सवमा ८ भन्दा बढी देशका विदेशी पर्यटक उल्लेखनीय रुपमा सहभागी हुँदै नेपाली परम्परागत कृषि संस्कृतिमा रमाएको महोत्सव संयोजक हरिराम अधिकारीले बताउनु भयो ।

महोत्सवमा सहभागी विदेशी पर्यटकले गोरु खेद्नेदेखि धान चुट्नेसम्मका परम्परागत कृषि गतिविधिमा प्रत्यक्ष सहभागिता जनाएको उहाँले जनाउनु भयो । नेपाली गाउँघरको कृषि जीवनशैली, सामूहिक श्रम र परम्परागत खेती प्रणालीबारे प्रत्यक्ष अनुभव लिन पाउँदा विदेशी पर्यटक उत्साहित हुनु भएको पर्यटन विज्ञ दिपेन्द्र पहारीले बताउनु भयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ददेरालाई टोपी हस्तान्तरण गर्दै आफैँ धान चुटेर महोत्सवको उद्घाटन गर्नुभएको थियो । उद्घाटनका क्रममा उहाँले पोखराका विभिन्न क्षेत्रमा प्रशस्त खेतीयोग्य जमिन रहे पनि पछिल्लो समय धान खेती हुन थालेकोमा खुसी व्यक्त गर्नुभयो । किसानलाई सम्मान गर्ने कार्यक्रमले कृषि कर्ममा संलग्न कृषकलाई थप प्रोत्साहन मिल्ने उहाँको भनाइ थियो । प्रमुख आचार्यले पोखराको पहिचानसँग जोडिएको जेठोबुढो धानको ब्रान्डिङ तथा प्रवद्र्धनमा महानगरले जोड दिँदै आएको उल्लेख गर्नुभयो । स्थानीय उत्पादनको पहिचान स्थापित गर्दै यसको बजार विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेल, महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीलगायतले दाइँ महोत्सवले किसानलाई प्रोत्साहन गर्नुका साथै नयाँ पुस्तालाई धान खेतीको महत्व र परम्परागत कृषि प्रणालीबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । महोत्सवका अवसरमा उत्कृष्ट धान उत्पादक किसानलाई सम्मानसमेत गरिएको थियो । ११७ रोपनी क्षेत्रफलमा ३६० मुरी धान उत्पादन गर्न सफल पोखरा–२७ का किसान शिनप्रसाद भण्डारीलाई उत्कृष्ट किसानका रूपमा सम्मान गरिएको हो । त्यसैगरी पोखरा–१३ का मिलन अधिकारी दोस्रो र पोखरा–२८ का सोवित अधिकारी तेस्रो हुनुभएको थियो ।

महोत्सवमा धान चुट्ने, गोरु खेद्ने, गुन्द्री बुन्ने, लट्टे तान्नेलगायतका परम्परागत गतिविधि सञ्चालन गरिएका थिए । कार्यक्रममा विभिन्न आमा समूह, विद्यालयका विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलको अध्यक्षतामा सम्पन्न महोत्सवले नेपाली मौलिक संस्कृति र परम्परागत कृषि प्रणालीको संरक्षणसँगै कृषि तथा पर्यटनलाई एकअर्कासँग जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ । यस्ता कार्यक्रमले पोखरालाई प्राकृतिक सुन्दरतासँगै मौलिक संस्कृति, ग्रामीण जीवनशैली र कृषि पर्यटनका माध्यमबाट समेत स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । महोत्सवमा सेलरोटी अचार, लट्टे (चाम्रे) नइ समेत व्यबस्था गरिएको परिषदका महासचिव मिलन तिवारीले बताउनु भयो । आगन्तुक विदेशी पर्यटकहरुलाई फुलामालाको साथमा पन्चे बाजाले समेत स्वागत गरिएको थियो ।