
दीननाथ बराल,
पोखरा, ६ मंसिर,
पर्यटकीय नगरी पोखरामा रात्रिकालिन व्यावसायलाई थप प्रबद्र्धन गर्न देशकै नमुना क्लव स्थापना गरिने भएको छ । पोखराको लेकसाइडमा अत्याधुनिक मनोरञ्जन केन्द्र ‘क्लब भोल्कानो’ तीन जना युवा व्यवसायीको संयुक्त लगानीमा स्थापना हुन लागेको हो ।
यो परियोजनाले पोखराको रात्रिकालीन पर्यटनमा नयाँ व्यावसायिक सम्भावना थप्ने अपेक्षा गरिएको छ ।

पोखराको पर्यटनलाई दिनको घुमफिरमा मात्रै सीमित नराखी रातको समयमा समेत पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित लेकसाइडमा करिब ४० करोड रुपैयाँको लगानीमा अत्याधुनिक मनोरञ्जन केन्द्र ‘क्लब भोल्कानो’ निर्माण सुरु गरिएको छ । विशाल श्रेष्ठ, विशाल थापा र विशाल तुलाचनको संयुक्त लगानीमा विशाल अर्बन भेन्चर्समार्फत निर्माण हुन लागेको भोल्कानो कम्प्लेक्सलाई आधुनिक क्लबका रूपमा मात्र नभई मनोरञ्जन, खानपान, किनमेल र पारिवारिक गतिविधिको एकीकृत केन्द्रका रूपमा विकास गर्न लागिएको हो । परियोजनाको भूमिपूजा तथा निर्माण शुभारम्भ भइसकेको विशाल अर्बन भेन्चर्सका अध्यक्ष विशाल श्रेष्ठले बताउनु भयो । कम्पनीले आगामी दशैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्य लिएको उहाँले जनाउनु भयो ।
पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्रिमियम क्लब स्थापना गर्ने योजनासहित लगानी अघि बढाइएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले विशेषगरी पोखरा घुम्न आउने पर्यटकले एउटै स्थानमा विभिन्न प्रकारका मनोरञ्जन तथा आतिथ्य सेवाको अनुभव लिन सकून् भन्ने उद्देश्यले परियोजना निर्माण गर्न लागिएको जनाए । ‘हामीले नेपालकै उत्कृष्ट क्लबमध्ये एकका रूपमा क्लब भोल्कानोलाई स्थापित गर्ने लक्ष्य राखेका छौँ । १८ वर्ष उमेर पूरा गरेका युवादेखि ज्येष्ठ नागरिकसम्मलाई लक्षित गरेर यसको अवधारणा तयार गरेका छौँ,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार पोखरामा पर्यटक आगमन बढिरहेको अवस्थामा यहाँ आउने पाहुनालाई एउटै भवनमा धेरै प्रकारका सुविधा उपलब्ध गराउन सकिए पर्यटन व्यवसायलाई थप विविधीकरण गर्न सकिन्छ। यही सोचका साथ लेकसाइडलाई परियोजनाको केन्द्र बनाइएको उहाँले बताउनुभयो ।
भोल्कानो कम्प्लेक्समा अत्याधुनिक क्लब, रेस्टुरेन्ट, फुड प्लाजा, रूफटप रेस्टुरेन्ट, कफी सप, स्पा तथा विभिन्न कपडा ब्रान्डका स्टोर सञ्चालन गर्ने योजना छ । बालबालिकाका लागि छुट्टै खेल्ने क्षेत्रसमेत निर्माण गरिनेछ। यसले मनोरञ्जनका लागि आउने युवा, परिवारसहित घुम्न आउने पाहुना तथा विदेशी पर्यटकलाई एउटै परिसरमा फरक–फरक सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ । विशेषगरी ट्रेकिङ तथा पदयात्राबाट फर्किएका पर्यटक, रात्रिकालीन मनोरञ्जनमा रुचि राख्ने युवा र पारिवारिक घुमफिरमा आउने आगन्तुकलाई लक्षित गरी सेवा सञ्चालन गरिने कम्पनीले जनाएको छ । भारतीयसहित विभिन्न मुलुकबाट पोखरा आउने पर्यटकको रुचि र आवश्यकतालाई समेत ध्यानमा राखेर सेवा तथा सुविधाको योजना बनाइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
क्लबको संरचना र डिजाइनलाई अन्तर्राष्ट्रिय स्तरको स्वरूप दिन सिंगापुर, भियतनाम, थाइल्यान्ड र स्पेनलगायत देशका क्लब तथा मनोरञ्जन केन्द्रहरूको अध्ययन गरिएको कम्पनीले जनाएको छ । ती देशका मनोरञ्जन स्थलमा प्रयोग भएका अवधारणा र संरचनालाई पोखराको पर्यटन बजारअनुकूल ढंगले समेट्ने प्रयास गरिएको छ । लेकसाइडको स्ट्रिट नम्बर १० नजिक निर्माण भइरहेको भोल्कानो कम्प्लेक्स १७ वर्षका लागि जग्गा भाडामा लिएर सञ्चालन गर्ने तयारी गरिएको हो । परियोजना सम्पन्न भई सञ्चालनमा आएपछि करिब १२० जनाले प्रत्यक्ष रोजगारी पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।





