पाँच पटक प्रधानमन्त्री भइसकेँ, अब मलाई केही चाहिँदैनः शेरबहादुर देउवा (भिडियो सहित)

-


     पोखरा क्लिक     
     मंसिर ५ गते २०८३ मा प्रकाशित


पोखरा ५, मंसिर

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू पाँच पटक प्रधानमन्त्री भइसकेको भन्दै अब व्यक्तिगत रूपमा आफूलाई कुनै पदको आवश्यकता नरहेको बताउनु भएको छ । देश र जनताको हितका लागि पार्टी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले देश निर्माण गर्ने पार्टी कांग्रेस भएको बताउनु भएको हो ।

शनिबार पोखरामा आयोजित नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) को दोस्रो गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले जेन्जी आन्दोलनको क्रममा आफुहरु माथि कुटपिट भएको घटना समेत स्रण गर्नुभयो । जेनजी आन्दोलनका बेला आफू र पत्नी डा.आरजु राणा देउवा गम्भीर आक्रमणमा परेको र आफूहरूको ज्यान जेनजी युवाहरूले बचाएको बताउनु भयो । आन्दोलनका क्रममा टाउकोमा चोट लागेको उल्लेख गर्दै उहाँले उपचारका लागि हङकङ र सिंगापुर जानुपरेको पनि सुनाउनु भयो ।

‘मेरो श्रीमती आरजु र मलाई मारिसकेका हुन्, हामी बाँचेका हौँ । यहाँ अहिलेसम्म घाउ छ,’ देउवाले भन्नुभयो, ‘हेलिकप्टर ल्यान्ड गर्न दिएनन् । घर जाने बाटोमा सारा मान्छे बसेका थिए । पछि सेनाले गाडी पठाएर सेनाको क्याम्पमा लग्यो । त्यहीँ उपचार भएर हामी बाँचेका हौँ।’ आफूहरूलाई जेनजी युवाहरूले नै बचाएको उल्लेख गर्दै देउवाले आन्दोलनका नाममा ५० वर्षमाथिका व्यक्तिहरूले समेत ढुंगामुढा गरेको दाबी गर्नुभयो । उहाँले घटनामा ठूलो षड्यन्त्र रहेको जिकिर गर्दै कांग्रेसलाई लक्षित गरी देशभर पार्टी कार्यालयहरूमा आक्रमण भएको जनाउनु भयो ।

‘बीपी कोइरालाका बुबाले बनाएको घरदेखि गणेशमान सिंहको घरसम्म आक्रमण भयो । देशभरि पार्टी अफिसमा हानियो । यो कांग्रेसको खिलाफको षड्यन्त्र हो भन्ने बुझ्नुपर्दछ,’ । उहाँले भन्नुभयो । यसैगरी, कांग्रेसभित्रको विशेष महाधिवेशन र ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षरको विषयमा पनि देउवाले प्रश्न उठाएउनु भयो । विशेष महाधिवेशनका लागि भनिएको ४० प्रतिशत हस्ताक्षर कहाँ र कसले गरेको तथा ती हस्ताक्षर कसलाई बुझाइएको हो भन्नेबारे उहाँले प्रश्न गर्दै अर्को पक्षका सभापति गगन थापाप्रति लक्षित टिप्पणी गर्नुभयो ।

आफूले जीवनभर देश र राष्ट्रका लागि काम गरेको उल्लेख गर्दै देउवाले पार्टीबाट आफूले धेरै कुरा प्राप्त गरिसकेको बताउनु भयो । ‘जीवनभर यो देश र राष्ट्रका लागि काम गरेको छु । मैले पाउनुपर्ने केही बाँकी छैन् । पार्टीले मलाई पाँच पटक प्रधानमन्त्री बनाइसकेको छ,’ उहाँले भन्नुभयोे, ‘म पाँच पटक प्रधानमन्त्री भएँ, अब मलाई केही चाहिँदैन। देश र जनताका लागि पार्टी बन्नुपर्छ । देश बनाउने पार्टी कांग्रेस हो ।’

यसैबीच, पोखरा सभागृहमा आयोजित विशेष समारोहबीच देउवाले अधिवेशनको उद्घाटन गर्नु भएको हो । मूल समारोह समितिका संयोजक मेखलाल श्रेष्ठका अनुसार गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट एक हजार ६०१ भन्दा बढी प्रतिनिधि अधिवेशनमा सहभागी हुनु भएको छ । मंसिर ६ गते बन्दसत्र तथा निर्वाचन प्रक्रिया पोखरा–९, बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा सञ्चालन हुने कार्यक्रम रहेको छ ।