पोखराको मोहरियास्थित यशोदा ज्वेलर्सबाट तिलहरी चोरी गर्ने ग्रिसकी ६६ वर्षीया महिला पक्राउ

-


     पोखरा क्लिक     
     मंसिर ३ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखराको मोहरिया टोलस्थित एक सुनचाँदी पसलबाट तिलहरी चोरी गरेको आरोपमा प्रहरीले ग्रिसकी एक महिलालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२, मोहरियास्थित यशोदा ज्वेलर्सबाट तिलहरी चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले ६६ वर्षीया विदेशी महिला कालिपी स्टेफानौ (KALLIPI STEFANOU) लाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत कात्तिक २९ गते बिहान करिब ११ः३० बजे यशोदा ज्वेलर्सबाट रातो पोतेसहितको एक थान तिलहरी चोरी भएको सूचना प्राप्त भएको थियो । घटनाबारे जानकारी पाएपछि प्रहरीले पसलमा जडान गरिएको सीसीटीभी फुटेजको आधारमा अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानकै क्रममा मंसिर १ गते साँझ करिब ५ बजे पोखरा महानगरपालिका–४, गैह्रापाटनस्थित पन्थी गल्लीबाट ग्रिसकी नागरिक क्त्भ्ँब्ल्इग् लाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीसँग रहेको झोलामा खानतलासी गर्दा रातो पोतेसहितको एक थान तिलहरी बरामद गरेको जनाएको छ । बरामद गरिएका गहना पसल सञ्चालकबाट समेत सनाखत भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेकी महिलालाई चोरीसम्बन्धी कसुरमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ ।