
पोखरा,
कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज ( बिहीबार) पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी, खेल सञ्चालन र हालसम्मको प्रगतिबारे जानकारी दिँदै ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि खेलाडीहरूबीच प्रतिस्पर्धा हुने जनाएको हो ।
आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका केही खेल भने औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन् । प्रतियोगिताको उद्घाटन तथा समापन समारोह सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा आयोजना गरिनेछ ।राष्ट्रिय खेलकुदमा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ९एपीएफ० र गैरआवासीय नेपाली संघ ९एनआरएनए० गरी ११ टोलीको सहभागिता रहनेछ । कुल ३२ खेलका ३८४ इभेन्ट्समा खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गर्नेछन् ।
प्रत्येक टोलीबाट ६६० जनाको सहभागिता रहने व्यवस्था गरिएको छ । जसमा ३१४ महिला र ३४६ पुरुष खेलाडी रहनेछन् । त्यसैगरी प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक सहभागी हुनेछन् । प्रतियोगिता सञ्चालनका लागि १ हजार ३० जना निर्णायक परिचालन गरिने राखेपले जनाएको छ । तीमध्ये २५८ जना अन्तर्राष्ट्रिय र ७७२ जना राष्ट्रिय निर्णायक रहनेछन् । विभिन्न खेल संघका ९६ प्रतिनिधिको समेत सहभागिता रहनेछ । यसपटक राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा कर्णालीसहित आसपासका जिल्लामा विस्तार गरिएका छन् । सुर्खेतमा २३ खेल सञ्चालन हुनेछन् भने नेपालगन्ज र बर्दियामा दुई–दुई, दैलेख, कालीकोट र पश्चिम रुकुममा एक–एक तथा सल्यानमा दुई खेल आयोजना गरिनेछ । यसले प्रतियोगितामार्फत कर्णाली प्रदेशका विभिन्न जिल्लामा खेलकुद गतिविधि र आर्थिक चहलपहल बढाउने अपेक्षा गरिएको छ ।
दसौं राष्ट्रिय खेलकुदलाई थप आकर्षक बनाउन राखेपले पदक विजेता खेलाडीलाई नगद पुरस्कारसमेत दिने भएको छ । व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्नेलाई २० हजार, रजत जित्नेलाई १५ हजार र कांस्य जित्नेलाई आठ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, टिम स्पर्धामा स्वर्ण विजेताले १५ हजार, रजत विजेताले १० हजार र कांस्य विजेताले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसअघि स्वर्ण विजेतालाई मात्र नगद पुरस्कार दिने गरिएकोमा यसपटक रजत र कांस्य पदक विजेतालाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको राखेपले जनाएको छ । प्रतियोगिताको तयारी तथा प्रगतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह, राखेप सदस्य एवं प्रचारप्रसार उपसमितिकी सदस्य मोनालिसा खम्बू तथा कार्यसम्पादन समितिको सचिवालयका सचिव फणिन्द्र पौड्याललगायतको उपस्थिति रहेको थियो । पटक–पटक मिति सर्दै आएको दसौं राष्ट्रिय खेलकुदको पछिल्लो मिति राखेपको १२५औँ बोर्ड बैठकले २०८३ साउन २८ गते निर्धारण गरेको थियो ।





