पोखराको पृथ्वीचोकस्थित पोखरा मलमा खुल्यो बराल डेन्टल क्लिनिक, उद्घाटनको अवसरमा एक महिनासम्म १५ देखि २० प्रतिशत छुट

-


     पोखरा क्लिक     
     मंसिर ३ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ३ मंसिर,

स्वदेशमै भविष्य खोज्दै स्वास्थ्य क्षेत्रमा लगानी गर्ने युवा उद्यमीको प्रयासस्वरूप पोखराको पृथ्वीचोकमा आधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकसहितको ‘बराल डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर’ सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–९, पृथ्वीचोकस्थित पोखरा मलमा नेपाल बैंक रहेको भवनको पहिलो तलामा स्थापना गरिएको क्लिनिकको बिहीबार गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले उद्घाटन गर्नुभयो ।

करिब ७५ लाख रुपैयाँको लगानीमा स्थापना गरिएको क्लिनिकले दाँत तथा मुखसम्बन्धी सामान्य समस्यादेखि जटिल उपचारसम्मका विशेषज्ञ सेवा एउटै स्थानबाट उपलब्ध गराउने लक्ष्य राखेको छ । उद्घाटनको अवसरमा सेवाग्राहीलाई आकर्षित गर्न एक महिनासम्म विभिन्न सेवामा १५ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सञ्चालक डा.समिप बरालले जानकारी दिनुभयो ।पोखरा–२२ का युवा चिकित्सक डा. समिप बरालले आफ्ना बुबा अमृत बरालको प्रेरणा र सहयोगमा क्लिनिक स्थापना गर्नुभएको हो । आफ्नै ठाउँमा स्वास्थ्य क्षेत्रमा लगानी गर्दै व्यावसायिक भविष्य निर्माण गर्ने र अन्य युवालाई समेत रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । आफूले हासिल गरेको ज्ञान, सीप र दक्षतालाई आफ्नै जन्मभूमिमा उपयोग गर्ने सोचले यस क्षेत्रमा लगानी गरेको उहाँको भनाइ छ ।

क्लिनिकमा डा.बरालसहित ११ सदस्यीय चिकित्सकीय तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । मुख तथा दन्तरोग विशेषज्ञ डा. श्रेया बस्नेत, डा.मनिष सुवेदी र निरज क्षेत्री, गिजा रोग विशेषज्ञ तथा इम्प्लान्टोलोजिस्ट डा. मिनबहादुर गुरुङ, इन्डोडोन्टिस्ट डा.शिशिर लम्साल, अर्थोडोन्टिस्ट विश्वदीप पौडेल, मुख तथा बाल दन्तरोग विशेषज्ञ डा.सम्झना गौतमलगायतको विशेषज्ञ सेवा उपलब्ध हुने जनाइएको छ । क्लिनिकबाट जनरल डेन्टिस्ट्री, डेन्टल इम्प्लान्ट, अर्थोडोन्टिक्स, कस्मेटिक डेन्टिस्ट्री, ओरल सर्जरी, गिजासम्बन्धी उपचार, दाँतको सरसफाइ तथा नियमित परीक्षणलगायतका सेवा प्रदान गरिनेछ । दाँतको उपचारमा प्रयोग हुने उपकरण तथा सामग्रीलाई सुरक्षित र संक्रमणरहित बनाउन आधुनिक अटोक्लेभ प्रविधिसमेत जडान गरिएको डा.बरालले बताउनुभयो ।

‘नेपालमै दन्त स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवाको आवश्यकता र सम्भावना दुवै देखेका छौँ,’ उहाँले भन्नुभयो, ‘विशेषज्ञ चिकित्सक र आधुनिक उपकरणसहित एउटै ठाउँबाट दाँत तथा मुखसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने हाम्रो प्रयास हो । सेवाग्राहीले सामान्य उपचारदेखि इम्प्लान्ट र जटिल उपचारसम्मका लागि विभिन्न ठाउँ धाउनुपर्ने अवस्थाको अन्त्य गर्न चाहन्छौँ ।’ क्लिनिक उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले आफ्नै ठाउँमा लगानी गरेर स्वदेशमै भविष्य खोज्ने युवाहरूलाई समाजका सबै पक्षले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । युवाहरू विदेशिने क्रम बढिरहेका बेला आफ्नो ज्ञान, सीप र पुँजी स्वदेशमै परिचालन गरी स्वास्थ्यजस्तो महत्वपूर्ण क्षेत्रमा उद्यमशीलता देखाउनु सकारात्मक भएको उहाँको भनाइ थियो । यस्ता लगानीले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।

पछिल्लो समय दाँत तथा मुखको स्वास्थ्यप्रति जनचेतना बढ्दै गए पनि नियमित परीक्षण र विशेषज्ञ उपचारमा धेरैले पर्याप्त ध्यान दिन सकेका छैनन् । विशेषगरी दाँतको समस्या जटिल भएपछि मात्र उपचार खोज्ने प्रवृत्तिका कारण स्वास्थ्यमा थप समस्या देखिने गरेको छ । यस्तो अवस्थामा विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र विभिन्न उपचार सेवा एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा आएको क्लिनिकले पोखरा तथा आसपासका क्षेत्रका सेवाग्राहीलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । स्वदेशमै व्यावसायिक सम्भावना खोज्दै युवा चिकित्सक सहित परिवारले गरेको करिब ७५ लाख रुपैयाँको लगानीले स्वास्थ्य सेवा विस्तारसँगै रोजगारी सिर्जना र निजी क्षेत्रको उद्यमशीलतालाई समेत जोड्ने अपेक्षा गरिएको छ ।