विश्व शान्तिको कामना गर्दै पोखराबाट लुम्बिनीसम्म २२० किलोमिटर ध्यानमय पदयात्रा हुने

-


     पोखरा क्लिक     
     मंसिर १ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १, मंसिर,

विश्व शान्तिको कामना गर्दै मानिसको मनमा शान्ति, प्रेम, करुणा र सकारात्मक चेतनाको विकास गर्ने उद्देश्यसहित पोखराको बराङदेखि भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म २२० किलोमिटर लामो ध्यानमय पदयात्रा हुने भएको छ । विकासनन्द फाउन्डेसन विश्व परिवारको आयोजनामा यही मङ्सिर ३ गतेदेखि १२ गतेसम्म दोस्रो मनोक्रान्ति विश्व शान्ति ध्यानमय पदयात्रा सञ्चालन हुने भएको आज पोखरा २३ को बराङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

’आफ्नो लागि साधना, अरूका लागि सेवा’ भन्ने मूल नारासहित आयोजना हुन लागेको पदयात्रामा साधक–साधिकासहित करिब ४५ जनाको सहभागिता रहने आयोजकले जनाएको छ । पदयात्राबारे जानकारी दिन विकासानन्द फाउन्डेसनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मनोक्रान्तिका प्रवर्तक डा.योगी विकासानन्दले विश्व शान्तिको सुरुवात प्रत्येक व्यक्तिको मनबाट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विश्व शान्ति चाहने हो भने सबैभन्दा पहिले मानिस आफैँ शान्त हुनुपर्छ । संसारमा अशान्ति फैलिनुको प्रमुख कारण मानिसको मनमा रहेको अशान्ति हो । मन शान्त भए मात्रै मानिसले अरूलाई खुसी दिन सक्छ र समाजमा प्रेम, सद्भाव तथा सहअस्तित्वको भावना विकास गर्न सक्छ ।”

मनलाई विचारहरूको शृङ्खलाका रूपमा व्याख्या गर्दै उहाँले आफ्ना विचार, भावना र व्यवहारलाई बुझ्न तथा तिनलाई सकारात्मक दिशामा रूपान्तरण गर्न ध्यान आवश्यक रहेको बताउनुभयो । बाहिरी संसारलाई परिवर्तन गर्नुअघि आफ्नै मन र चेतनामा परिवर्तन ल्याउन सके मात्रै वास्तविक शान्ति सम्भव हुने उहाँको भनाइ थियो ।

डा. विकासानन्दका अनुसार ध्यानमय पदयात्रा केवल एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने शारीरिक यात्रा मात्र नभई आत्मचिन्तन, आत्मबोध र मानसिक रूपान्तरणको अभ्यास पनि हो । हिँडाइका प्रत्येक पाइला, श्वासप्रश्वास र वर्तमान क्षणप्रति सचेत रहँदै गरिने यस्तो अभ्यासले मानिसलाई आफ्नो मन र भावनालाई साक्षीभावले नियाल्न सहयोग पु¥याउने उहाँले बताउनुभयो । पदयात्रामा उमेर र शारीरिक अवस्थाअनुसार विभिन्न उमेर समूहका व्यक्तिहरू सहभागी हुने आयोजकले जनाएको छ । बालकदेखि ७९ वर्षीया ज्येष्ठ आमासम्मको सहभागिता रहने जानकारी दिँदै सहसंयोजक खगेन्द्र पराजुलीले पदयात्राको स्थानीय तथा व्यवस्थापकीय तयारी पूरा भएको बताउनुभयो ।

स्थानीय संयोजक डिलाराम लामिछानेले पदयात्रालाई सफल बनाउन आवश्यक समन्वय, व्यवस्थापन र तयारीका काम सम्पन्न भएको जानकारी दिनुभयो । मनोक्रान्ति आश्रम बराङमा गुरुदेवको प्रत्यक्ष उपस्थितिमा लामो समयदेखि ध्यान साधनामा संलग्न साधक–साधिकाहरूका लागि यो पदयात्रा विशेष आध्यात्मिक अवसरका रूपमा रहने आयोजकको विश्वास छ ।

१० दिनसम्म सञ्चालन हुने पदयात्रा पोखराको बराङबाट सुरु भई स्याङ्जा, पाल्पा र रूपन्देहीका विभिन्न धार्मिक, आध्यात्मिक तथा पर्यटकीय स्थल हुँदै लुम्बिनी पुगेर समापन हुनेछ । निर्धारित पदयात्रा मार्गअनुसार मङ्सिर ३ गते पोखराको बराङबाट मुडीखोला, स्वाँरातर्फ यात्रा प्रारम्भ हुनेछ। मङ्सिर ४ गते छाङ्छाङ्दी मन्दिर, मङ्सिर ५ गते वालिङको भकुण्डे, मङ्सिर ६ गते मालुङ्गा तथा उत्तरवाहिनी क्षेत्र, मङ्सिर ७ गते आयुर्भञ्ज्याङ र मङ्सिर ८ गते ओशो ध्यान केन्द्र प्रभासतर्फ यात्रा अघि बढ्नेछ।

त्यसपछि मङ्सिर ९ गते सिद्धबाबा मन्दिर क्षेत्र हुँदै मङ्सिर १० गते बुटवलबाट भैरहवा र मङ्सिर ११ गते भैरहवाबाट लुम्बिनीतर्फ पदयात्रा गरिनेछ। मङ्सिर १२ गते लुम्बिनीमा समापन समारोह आयोजना हुनेछ । पदयात्राका क्रममा विभिन्न स्थानमा योग, ध्यान तथा गुरुदेवको विशेष प्रवचन कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ । मङ्सिर ३ गते पोखराको विरौटास्थित रोयल महल बैंक्वेटमा कार्यक्रम आयोजना हुनेछ । मङ्सिर ५ गते वालिङ भकुण्डेस्थित नेपाल आदर्श क्याम्पसमा कार्यक्रम हुनेछ ।

त्यसैगरी, मङ्सिर १० गते बुटवलको कालिकानगरस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा, मङ्सिर ११ गते भैरहवास्थित मारवाडी सेवा रूप कार्यालयमा र मङ्सिर १२ गते लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म योग, ध्यान तथा विशेष प्रवचन कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

पदयात्राको अन्तिम दिन मङ्सिर १२ गते दिउँसो ३ बजेदेखि लुम्बिनीमा विशेष ध्यान तथा विश्व शान्ति दीप प्रज्वलन कार्यक्रम आयोजना गरी यात्राको औपचारिक समापन गरिने भएको छ । मनोक्रान्तिको मूल दर्शन मानिसको मन, विचार, भावना र चेतनामा सकारात्मक परिवर्तन ल्याउनु रहेको आयोजकको भनाइ छ । पछिल्लो समय मानिसमा बढ्दै गएको मानसिक तनाव, चिन्ता, भय, निराशा, एक्लोपन, अनिद्रा र भावनात्मक असन्तुलनलाई सम्बोधन गर्न ध्यान तथा योगको अभ्यास महत्त्वपूर्ण हुने डा. विकासानन्दले बताउँदै आउनुभएको छ ।

उहाँका अनुसार मानिसले बाहिरी सुख, सुविधा र समृद्धि प्राप्त गरे पनि मनमा शान्ति नहुँदा जीवनमा वास्तविक आनन्द अनुभूति गर्न सक्दैन । त्यसैले मनलाई बुझ्ने, विचारलाई नियाल्ने, भावनालाई स्वीकार गर्ने र वर्तमान क्षणमा सचेत रहने अभ्यासले व्यक्तिको जीवनमा सकारात्मक रूपान्तरण ल्याउन सक्छ । ’आफ्नो लागि साधना, अरूका लागि सेवा’ भन्ने सन्देशसहित आयोजना हुन लागेको यस पदयात्राले व्यक्तिगत आत्मजागरणसँगै सामाजिक सद्भाव, मानवीय एकता, विश्वबन्धुत्व र शान्तिको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

विकासनन्द फाउन्डेसन विश्व परिवारले पोखरा–२३, बराङस्थित मनोक्रान्ति आश्रममा विभिन्न ध्यान तथा योगका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आश्रममा चारमहिने ’मनोक्रान्ति इन्लाइटेन्मेन्ट इन्टेन्सिभ कोर्स’, गाभा मेडिटेसन शिविर, विभिन्न तहका योग तथा ध्यान प्रशिक्षण, हिप्नोसिस मास्टर क्लास, सुपर लर्निङ, मनोक्रान्ति स्मार्ट योग र महाकुण्डलिनी ध्यान साधनालगायत कार्यक्रम सञ्चालन हुने जनाइएको छ । त्यसैगरी, गुरुदेव डा.योगी विकासानन्दबाट हरेक दिन बिहान ६ बजे विशेष योग तथा ध्यान साधना र बिहान ७ः३० बजेदेखि ज्ञानयोगसम्बन्धी प्रत्यक्ष प्रवचनसमेत नियमित रूपमा सञ्चालन हुँदै आएको फाउन्डेसनले जनाएको छ ।