पोखरा लेकसाइडमा सोमबार मौलिक देउसी–भैलो उत्सव हुने (भिडियो सहित) १२ टिम बिच प्रतिष्प्रर्धा

-


     पोखरा क्लिक     
     कार्तिक २१ गते २०८३ मा प्रकाशित


पोखरा , २१ कार्तिक,

पोखरा लेकसाइडस्थित गौरी घाटमा सोमबार मौलिक देउसी–भैलो उत्सव हुने भएको छ । पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिकाको पर्यटन प्रवद्र्धन शाखा र पब्लिक फोर के टेलिभिजनको संयुक्त आयोजनामा यही कात्तिक २३ गते सोमबार कार्यक्रम हुने सनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कार्यक्रम पोखरा–६ लेकसाइडको गौरीघाटमा विहान ११ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ उत्सवमा विभिन्न जातजातीका १० समूहले परम्परागत भेषभूषा र मौलिक शैलीमा देउसी–भैलो प्रस्तुत गर्नेछन् । सहभागी समूहको मौलिकता, परम्परागत भाका, शब्द, लय, ताल, भेषभूषा र सांस्कृतिक प्रस्तुतिका आधारमा प्रतियोगिता सञ्चालन गरिने पब्लिक फोरके टेलिभिजनका प्रवन्ध निर्देशक मन क्षेत्रीले बताए । पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको पर्व भएको बताए । पछिल्लो समय यसको मौलिक स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै उनले पुराना भाका, शब्द र परम्परालाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

उत्सवले मौलिक देउसी–भैलोको संरक्षण र पुस्तान्तरणमा सहयोग पुग्ने र विदेशी पर्यटकलाई नेपाली तिहारको बारेमा जानकारी गराउन सकिने उनको भनाइ छ । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले संस्कृति संरक्षणलाई पर्यटन प्रवद्र्धनसँग जोड्नुपर्ने बताए । पोखरा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली चाडपर्व, संस्कार र परम्पराबारे प्रत्यक्ष जानकारी गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ छ । उनले कार्यक्रममा सयपत्री फूल र सेलरोटीको पनि स्टल रहने जानकारी दिए ।

कडरियाले देउसी–भैलो मनोरञ्जनको माध्यम मात्रै नभई नेपाली मौलिक पहिचान र सामाजिक एकताको प्रतीकसमेत भएको बताए । आधुनिकताको प्रभावसँगै हराउँँदै गएका परम्परागत शैलीलाई पुनर्जीवित गर्दै नयाँ पुस्तालाई आफ्नै संस्कृतिप्रति आकर्षित गर्दै पोखरा आएका पर्यटकलाई नेपाली संस्कृतिकबारे जानकारी गराउने उद्देश्यले उत्सव आयोजना गरिएको आयोजकको दावी छ । उत्सवले पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने पोखरा पर्यटन परिषद्का महासचिव मिलन तिवारीको विश्वास छ । प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई ५ हजार ५ सय ५५ रुपैयाँसहित र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट समूहलाई २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रसहित ‘देउसी–भैलो च्याम्पियन’ घोषणा गरिने पब्लिक फोरके टेलिभिजनका पत्रकार घनश्याम पाण्डेले बताए ।

उनले देउसी भैलो उत्सवलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठान प्रर्वद्धक रहेका छन भने कार्यक्रममा पर्यटनका विभिन्न संघसस्था सहित सामाजिक विकास युवा तथा खेलकूद मन्त्रालय, गण्डकी, सामाजिक विकास महाशाखा, पोखरा महानगरपालिका, माछापुच्छ«े, अन्नपूर्ण, मादी र रुपा गाउँपालिकालगायतको सहकार्य रहेको आयोजकले जनाएको छ ।