पोखरा गौशालामा ‘पञ्चदिवसीय गाई पूजा महोत्सव–२०८३’ को तयारी पुरा, एक सय ५६ स्थानीय गाईको दर्शन गराइने

-


     पोखरा क्लिक     
     कार्तिक २० गते २०८३ मा प्रकाशित


पोखरा, कात्तिक २०,

पोखरा महानगरपालिका वडा नं. १५ मझुवास्थित पोखरा गौशाला (गौ सेवा आश्रम) मा कात्तिक २१ गते (भोलि)देखि २५ गतेसम्म आयोजना हुने ‘पञ्चदिवसीय गाई पूजा महोत्सव–२०८३’ को सम्पुर्ण तयारी पुरा भएको छ ।

तिहार (यमपञ्चक) को पावन अवसरमा स्थानीय रैथाने जातका गाईहरूको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गर्न लागिएको हो । कार्यक्रमका संयोजक लक्ष्मण पौडेलका अनुसार महोत्सव अवधिभर दैनिक बिहान ८ः०० बजेदेखि आगन्तुकहरूका लागि स्थानीय जातका एक सय ५६ वटै गौमाताहरूको दर्शन तथा पूजाआजाको व्यवस्था मिलाइएको छ । “हिन्दू संस्कृतिमा गाईलाई माता, समृद्धि र करुणाको प्रतीक मानिन्छ । गाई तिहारको दिन मात्र नभई हरेक दिन पुजनीय र सेवायोग्य छन्,“ संयोजक पौडेलले भन्नुभयो, “पिपल र तुलसी जस्तै पूजनीय गाईको सेवा र दर्शनले मानिसमा सकारात्मक ऊर्जा र पुण्य प्राप्त हुन्छ।”

यस गौशालाका परिकल्पनाकार नन्दगोपाल दास हुनुहुन्छ । उहाँकै अवधारणा अनुसार छाडा छोडिएका र बेवारिसे स्थानीय गाईहरूको संरक्षण गर्न यो आश्रम स्थापना गरिएको हो । पूर्ण रूपमा दाताहरूले उपलब्ध गराउने पराल, चोकर र अन्य खुराक (दान) बाट संचालित यस गौशालाले तिहारको अवसरमा गौप्रेमीहरूलाई सहज रूपमा पूजा गर्ने वातावरण निर्माण गरेको छ । नौ वर्ष अगाडि मात्र पाँचवटा गाईबाट सुरु गरिएको यस गौशालामा हाल गाईको संख्या बढेर एक सय ५६ पुगेको छ । तीमध्ये १० वटा गाई दुहुना रहेका छन्। फुलवारी रिसोर्टको तल्लो भागमा, सेती नदीको किनारमा अवस्थित करिब ६ सय रोपनी सार्वजानिक जग्गामा फैलिएको यस आश्रममा हाल पाँच वटा व्यवस्थित गोठहरू निर्माण गरिएका छन् ।

गौशालामा गाईहरूको रेखदेखका लागि पाँच जना गौसेवकहरू निरन्तर खटिएको आश्रमले जनाएको छ । गौशाला पुग्नका लागि बुद्धचोक, पेन्सन क्याम्प रामबजार, वडा कार्यालय–१५, स्थानीयपाटन, गलेश्वर मन्दिर चोक हुँदै गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र नजिकै पुग्ने मार्ग तय गरिएको आयोजक समितिले जनाएको छ । गाई तिहारको अवसरमा गौसेवा, आहार दान तथा संरक्षण कार्यमा हातेमालो गर्न सम्पूर्ण आम नागरिक र गौप्रेमीहरूमा महोत्सवमा सहभागी भईदिन कार्यक्रम संयोजक पौडेलले आग्रह समेत गर्नुभएको छ ।



This will close in 20 seconds