
पोखरा,
कोइली टुर एन्ड ट्राभल्सले पोखरा–काठमाडौं रुटमा शौचालय र स्लिपरसहितको सुविधासम्पन्न रात्रिकालीन बस सेवा सुरु गरेको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका सञ्चालकसमेत रहेका कोइली ट्राभल्सका सञ्चालक मेघराज त्रिपाठी र अशोककुमार चौधरीको पहलमा यात्रुको माग र आवश्यकतालाई ध्यानमा राख्दै आधुनिक सुविधासहितको बस सञ्चालनमा ल्याइएको हो ।

बिगत ३२ वर्षदेखि यातायात व्यवसायमा सक्रिय त्रिपाठीले आफ्नो अनुभवलाई उपयोग गर्दै यात्रुमैत्री सेवा विस्तारमा जोड दिइएको बताए । उनका अनुसार तीन वर्षअघि परिकल्पना गरिएको कोइली ट्राभल्सले यात्रुको सकारात्मक प्रतिक्रियापछि एक वर्षअघि दिवा सेवा सुरु गरेको थियो । अहिले रात्रिकालीन सेवालाई थप परिष्कृत गर्दै शौचालय र आरामदायी स्लिपरको व्यवस्था गरिएको हो ।
त्रिपाठीले यात्रुको माग र समयको आवश्यकताअनुसार सेवालाई निरन्तर स्तरोन्नति गर्दै लगिएको बताए । बाढीपहिरो, सडकको दुरवस्था र यातायात क्षेत्रको कठिन परिस्थितिका बाबजुद स्वदेशमै लगानीलाई निरन्तरता दिइएको उल्लेख गर्दै उनले चाडपर्वलाई मात्रै लक्षित नगरी नियमित सेवा सञ्चालन गरिने स्पष्ट पारे । पोखरा महानगरपालिका–२५ हेम्जाबाट सुरु हुने बस पोखराको पर्यटन बसपार्क हुँदै काठमाडौं, भक्तपुर र बनेपासम्म सञ्चालन हुनेछ । वातानुकूलित बसमा २ वाई १ ढाँचाका २१ सिट, एकल तथा दोहोरो स्लिपर, शौचालय, खानेपानी, खाजा, कफी र तातोपानीको सुविधा छ । सिट र स्लिपर दुवैको भाडा प्रतियात्रु एक हजार छ सय रुपैयाँ कायम गरिएको छ । बस प्रत्येक दिन साँझ ६ः ३० बजे र पर्यटक बसपार्कबाट ७ः ३० बजे छुट्ने छ ।
कोइली ट्राभल्सका अर्का सञ्चालक अशोककुमार चौधरीले अटोमोबाइल इन्जिनियरिङ अध्ययनपछि करिब २५ वर्षदेखि पोखरालाई कर्मथलो बनाएर यातायात क्षेत्रमा काम गर्दै आएको बताए । स्वदेशमै आधुनिक प्रविधिको प्रयोग गर्दै कोइलीलाई छुट्टै ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले बसमा चीनबाट ल्याइएको स्वचालित शौचालय, प्रत्येक सिटमा बेल तथा परिवारमैत्री स्लिपरको व्यवस्था गरिएको बताए । कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष ऐनकुमार शाहीले कठिन परिस्थितिमा समेत व्यवसायीहरूले गरेको लगानी र सेवा विस्तारको प्रशंसा गरे । उनले यात्रुको सुरक्षा र दुर्घटनापछिको अभिलेख व्यवस्थापनका लागि आधिकारिक काउन्टर वा अनलाइनमार्फत टिकट लिएर मात्र यात्रा गर्न आग्रह गरे । त्यस्तै, कार्यक्रममा बोल्दै पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका निवर्तमान अध्यक्ष योगेन्द्र केसीले बाढीपहिरो, सडकको कमजोर अवस्था र यात्रुको चाप घटिरहेका बेला करिब एक करोड २० लाख रुपैयाँ लगानी गरेर सेवा विस्तार गर्नु सराहनीय भएको बताए । उनले यात्रुको सुरक्षा, चालक तथा कर्मचारीको अनुशासित व्यवहार र गुणस्तरीय खानपानमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी यातायात व्यवसायीहरूले नयाँ सेवाले पोखरा–काठमाडौं यात्रालाई थप सहज, सुरक्षित र आरामदायी बनाउने विश्वास व्यक्त गरे ।





