
पोखरा, २२ मंसिर
पोखरा महानगरपालिका–२२ ठुलिबिडीस्थित सिम्लेपाखा खेलमैदानमा आउदो फागुनमा फेरि फुटबलको रौनक हुने भएको छ । परिवर्तन युवा क्लबको आयोजनामा दोस्रो फाइभ–ए–साइड फुटवल त्रिभुवन स्मृति कप २०८२ आयोजना हुने भएको क्लबका अध्यक्ष सुदिप बरालले पोखराक्लिकलाई जानकारी दिनुभयो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्व.त्रिभुवन पौडेलको सम्झनामा सो प्रतियोगिता आयोजना हुँदै आएको छ । २०७९ माघ १ गते यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनु भएको पौडेलको आदर्श र योगदानलाई खेलकुदमार्फत स्मरण गरिने क्लबले जनाउदै आएको छ ।
गत वर्षको पहिलो संस्करण अत्यन्त सफल भएपछि यसपटक पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरिएको अध्यक्ष बरालले बताउनु भयो । विजेताले नगद ८० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ४० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछ। त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि सम्मान गरिने भएको छ ।
यस वर्ष स्व.पौडेलको नाममा समाजमा सकारात्मक योगदान पु¥याइरहेका युवालाई ‘विशेष युवा सम्मान’ प्रदान गरिने क्लबको तयारी छ । सो सम्मानका माध्यमबाट सक्रिय, प्रेरक र जिम्मेवार युवा पहिचान गर्दै प्रोत्साहन गर्न सकिने अपेक्षा आयोजकको छ । खेलकुदसँगै स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता दौरान निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिने क्लवले जनाएको छ । स्थानीय बासिन्दा र खेल प्रेमीका लागि स्वास्थ्य परीक्षण तथा परामर्श उपलब्ध गराइने क्लबले जनाएको छ ।
फागुन ७ देखि ९ गतेसम्म सञ्चालन हुने छ । ठुलिबिडी मात्र नभई सम्पूर्ण पोखरा क्षेत्रमा खेलकुद तथा सामाजिक उत्तरदायित्वलाई जोड्ने उद्देश्य सहित कार्यक्रमलाई भव्य रूपमा सफल पार्न आर्थिक व्यवस्थापन, प्रचार–प्रसार, कार्यक्रम व्यवस्थापन लगायत विभिन्न उपसमिति गठन भइसकेको अध्यक्ष बरालले जानकारी दिनुभयो । प्रतियोगिताले स्थानीय युवामा फुटबल प्रति उत्साह बढाउनुका साथै समुदायमा एकता र सकारात्मक उर्जा प्रवाह गर्ने विश्वास समेत गरिएको छ ।




