दशैंको तेस्रो दिनदेखि पोखरामा चहलपहल बढ्न थाल्यो

-


     पोखरा क्लिक     
     कार्तिक ६ गते २०८३ मा प्रकाशित


पोखरा, ६, कार्तिक,

नेपालीहरूको महान् पर्व बडादसैँको टीकाको तेस्रो दिनदेखि पोखरामा चहलपहल बढ्न थालेको छ। दसैँ मनाउन घर गएका सर्वसाधारण फर्किन थालेसँगै आन्तरिक पर्यटकको आगमन बढेको र बजार क्षेत्रमा मानिसहरूको आवतजावत बाक्लिन थालेको व्यवसायीहरूले बताएका छन्।

दसैँको बिदा मनाएर आफ्नो कर्मथलो फर्किने क्रम सुरु भएसँगै पोखराका मुख्य बजार तथा सडकमा चहलपहल बढ्न थालेको हो। महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, पालिखेचोक, पृथ्वीचोक, न्युरोड, पार्दी, बिरौटालगायतका क्षेत्रमा मानिसहरूको आवतजावत बढेको छ। बजारमा सर्वसाधारणको उपस्थिति बढ्दै गए पनि व्यापारिक गतिविधि भने अझै पूर्ण रूपमा लयमा फर्किन नसकेको व्यवसायीहरूको भनाइ छ।

दसैँको बिदामा पोखरा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेसँगै पर्यटकीय क्षेत्रहरूमा समेत चहलपहल थपिन थालेको छ। फेवाताल किनार, लेकसाइड र आसपासका पर्यटकीय गन्तव्यमा घुमफिर गर्नेहरूको उपस्थिति बढ्दै गएको व्यवसायीहरूले बताएका छन्। परिवार तथा साथीभाइसँग दसैँको बिदा मनाउन पोखरा आउने पर्यटकका कारण होटल, रेस्टुरेन्ट तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा क्रमशः गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

दसैँको टीकाको दिनदेखि नै पोखरा फर्किने क्रम सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ। पोखराबाट बाहिरिएका यात्रुहरू फर्किन थालेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन पनि नियमित सञ्चालनमा आउन थालेका छन्। दसैँको समयमा यात्रुको चापअनुसार सञ्चालन गरिएका सवारीसाधन अहिले क्रमशः नियमित तालिकामा फर्किन थालेका हुन्। यस वर्षको बडादसैँको अन्तिम दिन कात्तिक ८ गते कोजाग्रत पूर्णिमा परेको छ। उक्त दिन पोखराको फेवातालस्थित तालबाराही मन्दिरमा जमरा सेलाउने, पूजाआजा गर्ने तथा दर्शन गर्न जाने भक्तजनको ठूलो भीड लाग्ने गर्दछ। कोजाग्रत पूर्णिमासम्म दसैँको धार्मिक तथा सांस्कृतिक गतिविधि जारी रहने भएकाले पोखरामा चहलपहल अझै बढ्ने अपेक्षा गरिएको छ।

दसैँको बिदा सकिँदै जाँदा पोखरा फर्किने सर्वसाधारण र आन्तरिक पर्यटकको आगमनले सहरको जनजीवन क्रमशः सामान्य अवस्थामा फर्किन थालेको व्यवसायीले पोखराक्लिकलाई जनाए । बजारमा मानिसहरूको उपस्थिति बढ्न थालेसँगै पर्यटन तथा व्यापार व्यवसायले समेत गति लिने व्यवसायीहरूको अपेक्षा छ।



This will close in 20 seconds