
दीननाथ बराल,
पोखरा, १ कात्तिक,
दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित गण्डकी प्रदेशले खेलाडी छनोटदेखि बन्द प्रशिक्षण र खेलाडी कल्याणकारी कार्यक्रमसम्मको तयारी अघि बढाएको छ। प्रदेश खेलकुद परिषद् गण्डकीले पालिकादेखि जिल्ला हुँदै प्रदेशस्तरसम्म खेलाडी छनोटको कार्यतालिका तय गरेको छ भने बन्द प्रशिक्षण तथा प्रतियोगिताको तयारीका लागि प्रदेश सरकारसँग ९ करोड ६८ लाख रुपैयाँभन्दा बढी बजेट माग गरेको छ।
कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकीले खेलाडीको मनोबल उच्च बनाउँदै पदक संख्या बढाउने लक्ष्य राखेको हो। त्यसका लागि पदक विजेता खेलाडीलाई व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जिते पाँच लाख रुपैयाँसम्म नगद पुरस्कार दिने प्रस्तावसमेत अघि सारिएको छ।
प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले पोखराक्लिकलाई बताएअनुसार खेलाडीलाई प्रोत्साहन गर्न नगद पुरस्कारसँगै अध्ययन छात्रवृत्ति, औषधोपचार सहयोग, आकस्मिक दुर्घटना बिमा, मासिक निर्वाह भत्ता र स्वयंसेवक प्रशिक्षकका रूपमा नियुक्तिको प्राथमिकतासहितको कार्यक्रम प्रस्ताव गरिएको छ। उक्त प्रस्ताव स्वीकृतिका लागि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमा पेस गरिएको उनले बताए।
पालिकादेखि प्रदेशसम्म छनोटको मिति तय
दशौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गर्न प्रदेश खेलकुद परिषद्ले ११ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गर्दै निर्धारित समयभित्र छनोट प्रक्रिया सम्पन्न गर्न आग्रह गरेको छ। प्रतियोगितामा ३२ खेल समावेश भएकाले सम्बन्धित खेलका संघ, जिल्ला समिति र स्थानीय तहसँगको समन्वयमा खेलाडी छनोट गरिनेछ। परिषद्ले तय गरेको कार्यतालिकाअनुसार पालिकास्तरीय छनोट कात्तिक १० गतेअघि सम्पन्न गर्नुपर्नेछ। जिल्ला खेलकुद विकास समितिमार्फत कात्तिक १२ देखि १५ गतेसम्म जिल्ला छनोट हुनेछ। त्यसपछि सम्बन्धित प्रदेश खेल संघमार्फत कात्तिक १६ देखि २० गतेसम्म प्रदेशस्तरीय छनोट सम्पन्न गर्ने योजना छ।
प्रदेशस्तरबाट छनोट भएका खेलाडीलाई कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म बन्द प्रशिक्षणमा राख्ने तयारी गरिएको छ। छनोट प्रक्रियाको अनुगमन तथा समन्वयका लागि प्रदेश खेलकुद परिषद्का बोर्ड सदस्य र तोकिएका संयोजक परिचालन गरिने परिषद्ले जनाएको छ। प्रतियोगिताका लागि खेलाडी छनोट र बन्द प्रशिक्षणलाई समयमै व्यवस्थित गर्न सके मात्रै गण्डकीले अपेक्षित नतिजा हासिल गर्न सक्ने खेलकुदकर्मीहरूको भनाइ छ।
बन्द प्रशिक्षणका लागि प्रदेशसँग ९ करोड ६८ लाख माग
दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेश सरकारसँग ९ करोड ६८ लाख १४ हजार एक सय रुपैयाँ माग गरेको छ। सदस्य सचिव शर्माका अनुसार उक्त रकम बन्द प्रशिक्षणलगायत प्रतियोगिताको तयारीमा खर्च गर्ने गरी मन्त्रालयसमक्ष प्रस्ताव गरिएको हो। यसैगरी, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सहित केन्द्रबाट बन्द प्रशिक्षण तथा अन्य तयारीका लागि करिब ५८ लाख रुपैयाँ उपलब्ध हुने अपेक्षा गरिएको छ। प्रदेश सरकारबाट मागअनुसारको बजेट स्वीकृत तथा निकासा भए खेलाडी छनोट, बन्द प्रशिक्षण र प्रतियोगिताको व्यवस्थापनमा सहज हुने परिषद्को अपेक्षा छ।
बजेट निकासा र तयारीको समयतालिका एकअर्कासँग जोडिएकाले प्रतियोगिताअघि आवश्यक स्रोतसाधनको व्यवस्था गर्नु गण्डकीका लागि महत्त्वपूर्ण देखिएको छ। विशेषगरी खेलाडीलाई पर्याप्त प्रशिक्षण, खेल सामग्री र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सके पदकको सम्भावना बढ्नेछ।
व्यक्तिगततर्फ स्वर्ण जित्नेलाई पाँच लाखसम्म पुरस्कार प्रस्ताव
गण्डकी प्रदेश खेलकुद परिषद्ले दशौं राष्ट्रिय खेलकुदमा पदक जित्ने खेलाडीको सम्मान र प्रोत्साहनका लागि नगद पुरस्कारसहित विभिन्न कल्याणकारी सुविधा दिने प्रस्ताव गरेको छ। प्रस्तावअनुसार व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्नेलाई पाँच लाख, रजत जित्नेलाई तीन लाख र कांस्य पदक विजेतालाई दुई लाख रुपैयाँ दिने योजना छ। त्यस्तै, टिम इभेन्टमा पहिलो हुने टोलीलाई तीन लाख, दोस्रो हुनेलाई दुई लाख र तेस्रो हुनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने प्रस्ताव गरिएको छ।
नगद पुरस्कारमा मात्रै सीमित नरही पदक विजेता खेलाडीलाई तीन वर्षसम्म अध्ययन छात्रवृत्ति, औषधोपचार सहयोग, आकस्मिक दुर्घटना बिमा र मासिक निर्वाह भत्ताको व्यवस्था गर्ने प्रस्ताव पनि अघि सारिएको छ। सम्बन्धित खेलमा स्वयंसेवक प्रशिक्षक नियुक्तिका लागि समेत प्राथमिकता दिने योजना समेटिएको छ। तर, यी पुरस्कार तथा सुविधाहरू हाल प्रस्तावित अवस्थामा छन्। मन्त्रालय र प्रदेश सरकारबाट स्वीकृति तथा आवश्यक बजेट सुनिश्चित भएपछि मात्रै कार्यान्वयनमा आउनेछन्।
नवौं राष्ट्रिय खेलकुदको उपलब्धि जोगाउने चुनौती
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले ३२ स्वर्ण पदक जित्दै प्रदेशगत प्रतिस्पर्धामा पहिलो स्थान हासिल गरेको थियो। समग्र पदक तालिकामा भने गण्डकी चौथो स्थानमा रहेको थियो। दशौं राष्ट्रिय खेलकुदमा पनि उक्त उपलब्धिलाई कायम राख्दै अझ राम्रो नतिजा ल्याउने चुनौती प्रदेशसामु छ।

खेलाडी छनोट, बन्द प्रशिक्षण, प्रशिक्षक व्यवस्थापन र आर्थिक स्रोतको सुनिश्चितता प्रतियोगिताको नतिजासँग प्रत्यक्ष जोडिने विषय हुन्। त्यसैले निर्धारित कार्यतालिकाअनुसार छनोट सम्पन्न गरी खेलाडीलाई पर्याप्त समय प्रशिक्षणमा राख्नुपर्नेमा खेलकुदकर्मीहरूले जोड दिएका छन्। खेलाडीलाई पदक जितेपछि पुरस्कार दिने मात्र नभई शिक्षा, स्वास्थ्य, बिमा र जीविकोपार्जनमा समेत सहयोग गर्ने गरी ल्याइएको कल्याणकारी कार्यक्रम कार्यान्वयनमा आए यसले खेलाडीलाई दीर्घकालीन रूपमा खेल क्षेत्रमा टिकाइराख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।अब गण्डकीको मुख्य चुनौती प्रस्तावित बजेट समयमै प्राप्त गर्नु, बन्द प्रशिक्षणलाई प्रभावकारी बनाउनु र छनोट भएका खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि तयार पार्नु हो।





