पिटिसिको शुभकामना आदानप्रदान कार्यक्रममाः रत्नमन्दिरलाई संरक्षणसहित दिगो रूपमा सञ्चालन गर्नुपर्नेमा जोड

-


     पोखरा क्लिक     
     असाेज ३१ गते २०८३ मा प्रकाशित



दीननाथ बराल,
पोखरा ३१, असोज,

पोखराको ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको रत्नमन्दिरलाई संरक्षणसहित दिगो रूपमा सञ्चालन गर्नुपर्नेमा पर्यटन क्षेत्रका अगुवा तथा सरोकारवालाले जोड दिएका छन् । पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले रत्नमन्दिरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सके पोखरा घुम्न आउने पर्यटकको बसाइ अवधि बढाउन र पर्यटन क्षेत्रको आर्थिक गतिविधि विस्तार गर्न सकिने वक्ताहरुको भनाई थियो ।

पोखराका पर्यटन व्यावसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी) को आयोजनामा शनिबार पोखरा–६, लेकसाइडस्थित रत्नमन्दिर परिसरमा आयोजित विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत्को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा वक्ताहरूले रत्नमन्दिरको संरक्षण, सञ्चालन र पर्यटकीय उपयोगका विषयमा जोड दिनु भएको हो । वक्ताहरूले रत्नमन्दिरलाई केवल ऐतिहासिक सम्पदाका रूपमा सीमित नराखी यसको मौलिकता र ऐतिहासिक महत्त्व जोगाउँदै पर्यटकले अनुभव लिन सक्ने आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनु भएको थियो । व्यवस्थित पूर्वाधार, संरक्षणमैत्री व्यवस्थापन र प्रभावकारी सञ्चालन गर्न सके पोखरामा पर्यटकको बसाइ केही घण्टासम्म भए पनि थप लम्ब्याउन सकिने उहाँहको धारणा थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रत्नमन्दिर सर्वसाधारणका लागि खुला गर्ने विषयमा मन्त्रालयसम्म पुगेर पहल गरिएको स्मरण गराउँदै नेपाल ट्रस्टको बोर्डबाट छिट्टै पोखरा महानगरपालिकालाई रत्नमन्दिर हस्तान्तरण गर्ने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । रत्नमन्दिर हस्तान्तरणपछि निश्चित मापदण्डका आधारमा वृक्षरोपणसहितको पर्यटकीय तथा मध्यवर्ती क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो । ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटकीय सम्भावनाको उपयोगलाई सँगसँगै अघि बढाउनुपर्नेमा उहाँको जोड थियो । प्रमुख आचार्यले लेकसाइड क्षेत्रका भित्री सडकमा सीसी क्यामेरा जडान गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउने तथा खानेपानीको समस्या समाधान गर्न महानगरपालिका लागिरहेको पनि बताउनुभयो। । पर्यटकीय क्षेत्र सुरक्षित, व्यवस्थित र सुविधासम्पन्न बनाउन सके पोखराको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने उहाँको भनाइ थियो ।

डिजिटल प्रविधि र ग्याजेटको बढ्दो प्रयोगले पारिवारिक तथा सामाजिक सम्बन्धमा पारिरहेको प्रभावप्रति चिन्ता व्यक्त गर्दै उहाँले चाडपर्वलाई परिवारसँग समय बिताउने, मौलिक संस्कृति र संस्कार नयाँ पुस्तामा हस्तान्तरण गर्ने अवसरका रूपमा लिन आग्रह गर्नुभयो । चाडपर्वका समयमा हुने सम्भावित दुर्घटना रोक्न हतार नगरी सावधानी अपनाउन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो । नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले कठिन परिस्थितिमा समेत पर्यटन व्यवसायीहरू आफ्नो क्षेत्रको उत्थानका लागि सङ्घर्षरत रहेको बताउनुभयो । उहाँले सबैलाई आफ्नो क्षमताअनुसार खुसीका साथ चाडपर्व मनाउन आग्रह गर्नुभयो ।

परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले पोखरालाई पर्यटकको आगमन र आवागमनको बलियो केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । पोखरामा रहेका पर्यटकीय सम्पदा र गन्तव्यको प्रभावकारी उपयोग गर्दै पर्यटकको बसाइ अवधि बढाउने रणनीति आवश्यक रहेको उहाँको भनाइ थियो । परिषद्का पूर्वअध्यक्ष डम्बरबहादुर केसीले पर्यटन क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै हिम्मतका साथ काम गर्नुपर्ने बताउनुभयो । चाडपर्वले व्यवसायी तथा पर्यटनकर्मीलाई नयाँ ऊर्जा प्रदान गर्ने उहाँको भनाइ थियो । पोखरा महानगरपालिका वडा नं. ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुलीले पर्यटनको राजधानी पोखराले प्रतिकूल परिस्थितिमा पनि पुनः उठेर अघि बढ्न सक्ने क्षमता देखाउनुपर्ने बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटन क्षेत्रमा विभिन्न विपद् र चुनौती आए पनि एकीकृत सोच र साझा प्रयासका साथ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले ‘एक गन्तव्य, एक दृष्टि’को अवधारणालाई आत्मसात् गर्दै पोखराको पर्यटन प्रवद्र्धनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो । परिषद्का महासचिव मिलन तिवारीले सञ्चालन गर्नुभएको कार्यक्रमको समापन परिषद्का प्रथम उपाध्यक्ष हरिराम अधिकारीले गर्नुभएको पिटिसीले पोखराक्लिकलाई जनाएको छ ।



This will close in 20 seconds