पोखरामा बाजागाजासहित भव्य शोभायात्रा निकालेर फूलपाती भित्र्याइयो

-


     पोखरा क्लिक     
     कार्तिक १ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ३१ असोज,

नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत फूलपातीका अवसरमा आज (शनिबार) पोखरामा बाजागाजा र भव्य शोभायात्रासहित फूलपाती भित्र्याइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सुरक्षा निकायको सहभागितामा पोखराको मानव अधिकार चोकदेखि विन्ध्यवासिनी मन्दिरसम्म फूलपाती शोभायात्रा निकालिएको प्रशासनले पोखराक्लिकलाई जनाएको छ ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि बडादसैँको सातौँ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा परम्परागत विधिअनुसार कास्की जिल्लाकै प्रमुख शक्तिपीठका रूपमा परिचित विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइएको हो। बाजागाजा र ब्यान्डबाजासहित निकालिएको शोभायात्रामा जिल्ला सुरक्षा समितिका पदाधिकारी, सुरक्षा निकायका अधिकृत तथा जवान र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

शोभायात्रा विन्ध्यवासिनी मन्दिर परिसरमा पुगेपछि कस्केली नागरिकको सुख, शान्ति र समृद्धिको कामना गर्दै विधिपूर्वक पूजाआजा गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीले बताउनु भयो । सो अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीलगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूले मन्दिरमा पूजाआजा गर्नुभएको थियो।

त्यसैगरी, नवदुर्गा भगवतीप्रति श्रद्धा व्यक्त गर्दै चारवटै सुरक्षा निकायका तर्फबाट सलामी अर्पण गरिएको थियो। धार्मिक विधि तथा परम्पराअनुसार पूजाआजा सम्पन्न भएपछि विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याउने कार्य सम्पन्न भएको हो। फूलपाती भित्र्याउने कार्यक्रमले पोखराको धार्मिक, सांस्कृतिक तथा सामाजिक वातावरणलाई थप उल्लासमय बनाएको थियो। बडादसैँको महत्त्वपूर्ण दिनका रूपमा मनाइने फूलपातीमा नवदुर्गाको पूजा गरी सुख, शान्ति, समृद्धि र विजयको कामना गर्ने धार्मिक परम्परा रहिआएको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय कास्की तथा सुरक्षा निकायले चाडपर्वका समयमा शान्ति सुरक्षा कायम राख्दै सबैले भयरहित वातावरणमा हर्षोल्लासपूर्वक दसैँ मनाउने वातावरण निर्माण गर्न सबैको सहयोग अपेक्षा गरेका छन्। साथै, विजयादशमी तथा फूलपातीको अवसरमा सम्पूर्ण जिल्लावासीमा सुख, शान्ति र समृद्धिको शुभकामनासमेत व्यक्त गरिएको छ।



This will close in 20 seconds