
दीननाथ बराल,
पोखरा ३१, साउन,
पोखरामा लागू औषध बिक्री–वितरण गरेको आरोपमा प्रहरीले ६ जना युवालाई लागू औषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–१ सिम्पानीबाट ६ जना युवालाई लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) विरेन्द्र कुमार पासवानले बताउनु भयो ।
पक्राउ पर्नेमा धादिङ गंगा जमुना गाउँपालिका–१ घर भई हाल पोखरा महानगरपालिका–१ कस्केरी बस्ने २१ वर्षीय लुकाश तामाङ, सोही स्थानका २२ वर्षीय सुवास तामाङ, पर्वत मोदी गाउँपालिका–८ चित्रे घर भई हाल पोखरा–१६ बाटुलेचौर मैदान बस्ने २१ वर्षीय स्वस्तम गुरुङ रहनु भएको छ । त्यस्तै, पोखरा महानगरपालिका–१ सिम्पानीका १९ वर्षीय विकास तामाङ, पोखरा–१९ लामाचौरका २५ वर्षीय सन्दिप गुरुङ र माछापुच्छ्रे गाउँपालिका–४ घाचोक घर भई हाल पोखरा–२५ याम्दी बस्ने २० वर्षीय सुमित पुन मगर पक्राउ पर्नु भएको प्रहरीले जनाएको छ ।
गत साउन २९ गते साँझ करिब ७ बजे लागू औषध बिक्री–वितरण भइरहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा ६ जनालाई पक्राउ गरिएको उहाँले जनाउनु भयो । प्रहरीले पक्राउ परेकाहरूको साथबाट टापेन्टाडोल ट्याब्लेटहरू ८ सय चक्की, नगद ८ हजार रुपैयाँ र चार थान मोबाइल बरामद गरेको डिएसपी पासवानले बताउनु भयो । पक्राउ परेकाहरूलाई लागू औषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको उहाँले बताउनु भयो । प्रहरीले बरामद लागू औषध र अन्य सामग्रीसहित घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।





