
पोखरा,
मानवीय सेवा, ज्येष्ठ नागरिकप्रतिको सम्मान र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै पोखरा–१७, सीतापाइला बिरौटा आश्रम र विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीको संयुक्त पहलमा नुवाकोटको देवीघाटस्थित ज्येष्ठ नागरिक आश्रमलाई राहत सहयोग हस्तान्तरण गरिएको छ।
२०८३ साल मंसिर ६ गते विदुर नगरपालिका–५, देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक सेवा आश्रममा आयोजित कार्यक्रममा खाद्यान्न, दैनिक उपभोग्य सामग्री, लत्ताकपडा तथा चिसो मौसमलाई लक्षित गरी न्यानो कम्बल वितरण गरिएको हो। विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीले आश्रमलाई नगद आर्थिक सहयोगसमेत प्रदान गरेको छ।
कार्यक्रममा सीतापाइला बिरौटा आश्रमकी अध्यक्ष, सामाजिक व्यक्तित्व तथा राष्ट्रिय महासंघ पत्रकारका वरिष्ठ उपाध्यक्ष कुसुम केशव पराजुली, गण्डकी प्रदेश ज्येष्ठ नागरिक समितिका अध्यक्ष धर्मा गुरुङ र विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीका अध्यक्ष बेलबहादुर विश्वकर्माको उपस्थिति रहेको थियो। प्रदान गरिएको राहत सामग्री तथा आर्थिक सहयोग देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा सेवा संस्थाका संस्थापक अध्यक्ष विष्णुप्रसाद नेपाललाई हस्तान्तरण गरिएको थियो। परिवार तथा आफन्तबाट टाढा रही आश्रममा जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई चिसो मौसममा राहत पुर्याउनु, दैनिक जीवनयापन सहज बनाउनु र उहाँहरूको मुहारमा खुसी थप्नु सहयोग कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
सहयोग रकम वा सामग्रीभन्दा पनि त्यसमा जोडिएको माया, सद्भाव, सम्मान र मानवीय भावना ठूलो हुने उल्लेख गर्दै आयोजकले ज्येष्ठ नागरिक समाजका अमूल्य सम्पत्ति भएकाले उहाँहरूको सम्मान, संरक्षण र सेवामा सबैले आ–आफ्नो तर्फबाट योगदान गर्नुपर्ने बताएको छ। यस मानवीय कार्यमा साथ, सहयोग र सहकार्य गर्ने सम्पूर्ण संस्था, पदाधिकारी, सहयोगी मन तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ। ज्येष्ठ नागरिकको सेवा नै समाजप्रतिको सच्चा मानवीय दायित्व हो भन्ने सन्देशका साथ कार्यक्रम सम्पन्न भएको थियो।






