पोखरा लायन्सको स्वर्ण महोत्सवको तयारी पूरा, सभामुख अर्याल पोखरामा

-


     पोखरा क्लिक     
     मंसिर ४ गते २०८३ मा प्रकाशित


पोखरा,

लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल पोखरा आएका छन् । उनलाई क्लबका पदाधिकारीहरूले पोखरा अन्तर्राष्ट्रिय सभागृहमा स्वागत गरे । सभामुख अर्यालको प्रमुख आतिथ्यमा विशेष सम्मान समारोह हुने क्लबका पूर्वअध्यक्ष दीपेन्द्र कोइरालाले बताए ।

क्लब स्थापनाको ५० औँ वर्ष अर्थात् स्वर्ण महोत्सव विशेष समारोहको तयारी पूरा भएको छ । मंसिर ५ गते पोखरा इभेन्ट सेन्टरमा समारोह हुँदैछ । त्यसको पूर्वसन्ध्यामा शुक्रबार पोखरामा बृहत् रक्तदान कार्यक्रम भयो । स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा गरिएको रक्तदानमा ५० जनाले रक्तदान गरेको रक्तदान कार्यक्रम समितिका संयोजक प्राडा बुद्धिबहादुर थापाले यो जानकारी दिए । निवर्तमान मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापालाई ब्लड ब्याग हस्तान्तरण गरेर प्राडा थापाले कार्यक्रम सुरु गरेका थिए ।
प्राडा बुद्धिबहादुर थापाले स्थापनाकालदेखि नै क्लबले जहाँ जे पर्छ त्यस्तै खालका काम गर्दै आएको बताए । शिक्षा, स्वास्थ्य वा विपद्का कार्यक्रममा लायन्सले सघाउँदै आएको उनको भनाइ छ । बाढीपहिरो र भूकम्पलगायतका महामारीमा समेत क्लबले सक्दो सहयोग गरेको उनले बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले जनाए । उनले नेपाल रेडक्रस सोसाइटीको प्राविधिक समूहलाई धन्यवाद ज्ञापन गरे ।

क्लबका अध्यक्ष डा माधव तिवारीले रगतको महत्वबारे जोड दिए । ‘विश्वमा विज्ञानले धेरै कुरा आविष्कार गरे पनि रगतको विकल्प आविष्कार हुन सकेको छैन’, उनले भने । ‘एकपटक दिएको रगतले चार जना बिरामीलाई काम लाग्छ’, उनले भने । उनले रक्तदानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । स्वर्ण महोत्सव विगतको योगदान सम्झने अवसर भएको डा तिवारीले बताए । आगामी पुस्तालाई सामाजिक सेवामा प्रेरित गर्ने अवसर पनि यो भएको उनको भनाइ छ । स्वर्ण महोत्सव समारोहमा नेपालभरका लायन सहभागी हुने मूल समारोह समितिका मुख्य संयोजक सुशीलकुमार गोशलीले जानकारी दिए । पाँच दशकको सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक योगदानको समीक्षा गर्न समारोह गरिएको उनको भनाइ छ । अग्रजहरूको सम्मानका रूपमा पनि समारोह आयोजना गरिएको गोशलीले बताए । समारोहमा क्लबका संस्थापक सदस्य र पूर्वअध्यक्षहरूलाई सम्मान गरिनेछ । समाजमा विशिष्ट योगदान पु¥याउने अग्रजलाई पनि सम्मान गरिनेछ । क्लबको स्थापनादेखि हालसम्म सेवा गर्ने सबैलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । संस्थापक कोषाध्यक्षसमेत रहेका सुशीलकुमार गोशलीलाई ‘लायन अफ द गोल्डेन जुब्ली अवार्ड’ बाट सम्मान गरिने भएको छ ।

समारोहमा विशेष स्वर्ण महोत्सव स्मारिका विमोचन हुनेछ । स्मारिकामा क्लबको पाँच दशक लामो सामाजिक सेवायात्रा समेटिएको छ । त्यसमा उपलब्धि, ऐतिहासिक अभिलेख र लेखहरू पनि छन् । स्वर्ण महोत्सवकै सन्दर्भ पारेर क्लबले काम अघि बढाएको छ । विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयमा आरोग्य भवन निर्माण गरी हस्तान्तरण गरिसकेको छ । विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई आरोग्य आश्रम हस्तान्तरण गरेको पनि उल्लेख छ । साथै तुलसी घाटमा शवदाहस्थल शिलान्याससमेत गरेको छ ।
सन् १९७६ नोभेम्बर १० अर्थात् विसं २०३३ सालमा लायन्स क्लब अफ पोखरा स्थापित भएको हो । यो नेपालकै छैटौँ लायन्स क्लब हो । तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रकै यो पहिलो लायन्स क्लब हो । लायन नवराज पटेल र उनको टोलीको पहलमा स्थापना अभियान सुरु भएको थियो ।

सुरुमा पृथ्वीनारायण क्याम्पसका तत्कालीन प्रमुख तथा शिक्षासेवी जर्ज जोनलाई संस्थापक अध्यक्ष प्रस्ताव गरिएको थियो । तर उनी शैक्षिक र प्रशासनिक जिम्मेवारीमा व्यस्त थिए । त्यसैले पोखराका व्यवसायी फणिन्द्रमान श्रेष्ठको अध्यक्षतामा क्लब अघि बढाइएको थियो । स्थापनाकालदेखि नै क्लबले शिक्षा, स्वास्थ्य र रक्तदानमा योगदान पु¥याउँदै आएको छ । वातावरण संरक्षण, छात्रवृत्ति र विपद् व्यवस्थापनमा पनि काम गरेको छ । मानवीय सहायता र सामुदायिक विकासमा समेत क्लब सक्रिय छ ।