
पोखरा,
पोखरा महानगरपालिका–२२ स्थित कालिमाटी शान्ति स्तुप टोल विकास संस्थाले तिहारको शुभ अवसर पारेर घरधुरी सर्वेक्षण, घरदैलो तथा भैलो कार्यक्रम सुरु गरेको छ।
टोलको समग्र अवस्था पहिचान गरी व्यवस्थित विकास र भावी योजना निर्माणमा सहयोग पुर्याउने उद्देश्यले शनिबारदेखि अभियान सञ्चालन गरिएको हो। टोलको ढाबाबाट शुभारम्भ गरिएको उक्त अभियानले प्रत्येक घरपरिवारसम्म पुगेर उनीहरूको वस्तुस्थिति बुझ्ने र आवश्यक विवरण संकलन गर्ने लक्ष्य राखेको छ।
अभियानअन्तर्गत टोलका प्रत्येक घरधुरीको पारिवारिक विवरण, उमेर समूह, सदस्यता, स्वास्थ्य अवस्था, शैक्षिक योग्यता, पेसा, अध्ययनको अवस्था, पारिवारिक स्थिति तथा सम्पर्क नम्बरलगायतका विवरण संकलन गरिनेछ। त्यसैगरी टोलमा रहेका समस्या, आवश्यकता, सम्भावना र विकाससँग सम्बन्धित विषयहरूबारे समेत जानकारी लिइने संस्थाले जनाएको छ। संकलित विवरणका आधारमा टोलको वास्तविक अवस्था, आवश्यकता र प्राथमिकता पहिचान गरी योजनाबद्ध रूपमा विकास निर्माणका काम अघि बढाउन सहज हुने संस्थाका अध्यक्ष दिनेश बरालले बताउनुभयो।
अध्यक्ष बरालका अनुसार यस अभियानले टोलको व्यवस्थित अभिलेख तयार गर्नुका साथै स्वास्थ्य, शिक्षा, सीप विकास, सामाजिक सचेतना तथा पूर्वाधार विकासजस्ता क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण आधार तयार गर्नेछ। उहाँले टोलको समग्र विकासका लागि प्रत्येक घरपरिवारको सहभागिता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अभियानमा सक्रिय रूपमा सहभागी हुन टोलवासीलाई आग्रह गर्नुभयो।
तिहारको सांस्कृतिक उत्सवसँगै सामाजिक एकता, आपसी सद्भाव र सामुदायिक विकासलाई जोड्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले टोलको वस्तुनिष्ठ अवस्था पहिचान गरी योजनाबद्ध र दिगो विकासको आधार तयार गर्ने अपेक्षा गरिएको छ। घरदैलोबाट संकलित तथ्यांकलाई टोल विकासको मार्गचित्र बनाउने संस्थाको यो प्रयास स्थानीयस्तरमा तथ्यमा आधारित योजना निर्माण र सामूहिक विकासको सकारात्मक पहलका रूपमा हेरिएको छ।





