
पोखरा,
सामाजिक क्षेत्रमा सक्रिय बाल अभियन्ता प्रेन्सा रेग्मीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८३ प्रदान गरिएको छ। शनिबार पोखरामा आयोजित कार्यक्रममा उनलाई सम्मानपत्रसहित नगद ५० हजार रुपैयाँ प्रदान गरिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कारका संस्थापक तथा वरिष्ठ साहित्यकार सरुभक्त र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले रेग्मीलाई पुरस्कार प्रदान गरे । वि.सं. २०६९ फागुन ६ गते म्याग्दीमा जन्मिएकी रेग्मी हाल पोखरा–११ फूलबारीमा बस्दै आएकी छन्। उनी गण्डकी बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन्। कोभिड महामारीका बेला मास्क, सेनिटाइजर तथा खाद्यान्न वितरणदेखि विपन्न बालबालिकालाई कपडा र शैक्षिक सामग्री सहयोग गर्नेसम्मका सामाजिक कार्यमा उनी सक्रिय रहँदै आएकी छन्। लुगा बैंक स्थापना तथा बालिका र महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउने कार्यमा समेत उनको योगदान छ।
पुरस्कार छनोट समितिका संयोजक डा. ईश्वरमणि अधिकारीले उनको सामाजिक सक्रियता, मानवीय संवेदना र पछाडि परेका समुदायको हितमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै छनोट गरिएको बताए । संस्थाका उपाध्यक्ष एवं पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाले स्वागत मन्तव्य राखेकी थिइन् । पुरस्कार ग्रहणपछि रेग्मीले परिवर्तनका लागि उमेर, पद वा ठूलो सम्पत्ति आवश्यक नपर्ने बताउँदै बालबालिका पनि वर्तमानका परिवर्तनकारी शक्ति भएको उल्लेख गरिन्। सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न साहित्यिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।





