स्थानीय नेतृत्वको अनुभव लिएर केन्द्रीय राजनीति तर्फ मीनबहादुर गुरुङ, जनजातितर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी

-


     पोखरा क्लिक     
     असाेज २० गते २०८३ मा प्रकाशित


पोखरा,

माछापुच्छ्रे गाउँपालिकाको नेतृत्व गर्दै स्थानीय सरकारमा अनुभव बटुलेका मीनबहादुर गुरुङ अब नेपाली कांग्रेसको केन्द्रीय राजनीतितर्फ अघि बढेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उनले जनजातितर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि कांग्रेसको संगठनात्मक राजनीतिमा सक्रिय गुरुङले स्थानीय तहमा प्राप्त अनुभव, पार्टी संगठनमा गरेको योगदान र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई अब केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।

यसअघि कास्की निर्वाचन क्षेत्र नं। ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित गुरुङले पार्टीभित्र एकता, पुस्ताबीचको सहकार्य, संगठन सुदृढीकरण, विचारमा स्पष्टता र जनतासँग निरन्तर संवाद आफ्नो प्राथमिकता रहने बताएका छन्। माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षका रूपमा उनले स्थानीय शासन, सेवा प्रवाह, पूर्वाधार विकास, सुशासन, पारदर्शिता र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्दै आएका छन्। स्थानीय सरकारमा काम गर्दा प्राप्त व्यावहारिक अनुभवलाई पार्टीको नीति, संगठन र जनतासँगको सम्बन्ध थप प्रभावकारी बनाउन उपयोग गर्न चाहेको उनको भनाइ छ।

प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको माछापुच्छ्रे क्षेत्र गुरुङको राजनीतिक यात्रासँग पनि जोडिएको छ। मर्दी हिमाल, खुमै डाँडा, माछापुच्छ्रे क्षेत्र तथा क्यानोनिङलगायतका पर्यटकीय गन्तव्यको संरक्षण, प्रवर्द्धन र विकास गर्दै गाउँपालिकालाई साहसिक पर्यटनको आकर्षक केन्द्रका रूपमा स्थापित गर्ने अभियानमा आफूले निरन्तर काम गरेको उनले बताएका छन्। पर्यटनलाई केवल घुमफिरसँग नभई स्थानीय रोजगारी, उत्पादन, उद्यमशीलता र आर्थिक समृद्धिसँग जोड्नुपर्ने उनको धारणा छ। गाउँको सम्भावना राष्ट्रिय नीतिसँग जोडिन सके मात्रै स्थानीय विकासले दीर्घकालीन गति लिने गुरुङको भनाइ छ।

गुरुङले आफ्नो राजनीतिक यात्रामा पदभन्दा जिम्मेवारी र भाषणभन्दा कामलाई प्राथमिकता दिँदै आएको बताएका छन्। स्थानीय तहमा जनताको नजिक रहेर काम गर्दा देखिएका समस्या, सम्भावना र अपेक्षालाई अब पार्टीको केन्द्रीय तहसम्म पुर्‍याउने लक्ष्यसहित आफू अघि बढेको उनको भनाइ छ। उनले कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्दै पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोड्ने पुल आवश्यक रहेको बताएका छन्। पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा, नीतिगत स्पष्टता, समावेशी प्रतिनिधित्व र संवादको संस्कार बलियो बनाउन आफू सक्रिय रहने उनको प्रतिबद्धता छ।

गुरुङ यसअघि नेपाली कांग्रेस कास्की क्षेत्र नं। ३ को नेतृत्वदायी भूमिकासँगै माछापुच्छ्रे गाउँपालिका समितिमा समेत जिम्मेवारी निर्वाह गरिसकेका नेता हुन्। संगठनको तल्लो तहदेखि स्थानीय सरकारको नेतृत्वसम्म आइपुगेका उनी अब त्यही अनुभवलाई कांग्रेसको केन्द्रीय संरचनासँग जोड्ने प्रयासमा छन्। माछापुच्छ्रेको भूगोलबाट सुरु भएको उनको राजनीतिक यात्रा अब कांग्रेसको केन्द्रीय मञ्चतर्फ मोडिएको छ। मर्दी हिमाल र खुमै डाँडाको सम्भावना बोकेको क्षेत्रको आवाजलाई पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउने उनको आकांक्षा छ।



This will close in 20 seconds