सयपत्री फूल मेलामा फूल खरिद गर्नेको भिड, पोखराका उत्कृष्ट फूल उत्पादन गर्ने किसान अधिकारीलाई नगदसहित सम्मान (भिडियो सहित)

-


     पोखरा क्लिक     
     कार्तिक २२ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २२ कात्तिक,

पोखरा रंगशालामा जारी पुष्प व्यापार मेला अन्तर्गत आयोजित आइतबार आयोजना भएको तेस्रो सयपत्री फूल मेलामा फूल खरिद गर्नेहरुको भिड भएको छ । तिहार पर्व लक्षित गरी आयोजना भएको उक्त मेलामा तिहारको फूल खरिद गर्नेहरुको आइतबार बिहानदेखि साँझसम्म आम उपभोक्ताको भिडभाड भएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनु भयो ।

महानगरपालिकाले कात्तिक २२ गतेदेखि लागू हुने गरी सयपत्री फूलको मूल्य प्रतिकेजी ५०० रुपैयाँ र प्रतिमाला २०० रुपैयाँ निर्धारण गरेको छ । सोही मुल्यका आधारमा मेलामा फूलको कारोवार भएको कडरियाले पोखराक्लिकलाई बताउनु भयो । यसैबिच, पोखरा महानगरपालिका–१३ का कृषक नरेन्द्रप्रसाद अधिकारीलाई पोखरामा सबैभन्दा बढी क्षेत्रफलमा सयपत्री फूल खेती गर्ने किसानका रूपमा सम्मान गरिएको छ । पोखरा रंगशालामा जारी पुष्प व्यापार मेलाअन्तर्गत आयोजित तेस्रो सयपत्री फूल मेलाको अवसरमा अधिकारीलाई सम्मानपत्र सहित नगद १० हजार रुपैयाँ प्रदान गरिएको हो । अधिकारीले करिब १० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गर्दै आउनुभएको छ । उहाँलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ र आर्थिक विकास महाशाखा प्रमुख कडरियाले सम्मान गर्नुभएको हो । त्यसैगरी, करिब तीन रोपनी क्षेत्रफलमा फूल खेती गर्दै आउनुभएका कृषक सोवितबहादुर अधिकारी दोस्रो र नन्दकली घर्ती मगर तेस्रो हुनुभएको छ । दोस्रो हुनेलाई नगद सात हजार र तेस्रो हुनेलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

तेस्रो सयपत्री फूल मेलामा सबैभन्दा बढी फूल उत्पादन गर्ने कृषकलाई सम्मान गर्नुका साथै फूलको माला बुन्ने प्रतियोगिता र उत्कृष्ट फूल स्टल प्रदर्शनीसमेत आयोजना गरिएको थियो । माला बुन्ने प्रतियोगिता तथा उत्कृष्ट फूल स्टल प्रदर्शनीमा रमेशकुमार श्रेष्ठ उत्कृष्ट हुनुभएको छ । उहाँको स्टलमा नयाँ जातको टेनिस बल नामक सयपत्री फूलसमेत प्रदर्शनीमा राखिएको थियो । विजेता तथा उत्कृष्ट कृषकहरूलाई पोखरा महानगरपालिकाका उपप्रमुख गुरुङ, आर्थिक विकास महाशाखा प्रमुख कडरिया र फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) कास्कीका अध्यक्ष श्रीराम सुवेदी लगायतले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।

कृषकहरूको मेहनत, लगनशीलता, सीप र सिर्जनशीलताले पुष्प खेतीको प्रवद्र्धन तथा स्थानीय उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पु¥याउन उक्त मेला आयोजना गरिएको पोखरा महानगरपालिकाका उपप्रमुख गुरुङले बताउनु भयो । यसैबीच, तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले स्थानीय स्तरमा उत्पादित सयपत्री फूलको बिक्री वितरणलाई व्यवस्थित बनाउन १७ वटा बिक्री केन्द्र तोकेको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले बताउनु भयो ।

स्थानीय कृषकले उत्पादन गरेका फूललाई बजार सुनिश्चित गर्ने र उपभोक्तालाई सहज रूपमा फूल उपलब्ध गराउने उद्देश्यले बिक्री केन्द्रको व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । त्यसैगरी, स्थानीय उत्पादनको प्रवद्र्धन तथा वातावरण संरक्षणका लागि महानगरपालिकाले प्लास्टिकजन्य फूलमाला तथा फूलगुच्छाको बिक्री वितरण, भण्डारण र प्रयोग नगर्न आग्रह गर्दै बजार अनुगमनलाई समेत तीव्रता दिएको छ । स्थानीय फूल प्रयोग गरौँ, पर्यावरण बचाऔँ र स्थानीय उत्पादनलाई प्रोत्साहन गरौँ भन्ने सन्देशसहित महानगरले यस वर्ष तिहारमा स्वदेशी फूलको प्रयोगलाई प्राथमिकता दिएको छ ।