
दीननाथ बराल,
पोखरा, १६ कात्तिक,
पोखरामा आगामी यही कात्तिक १८ देखि २३ गतेसम्म नवौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रदेशस्तरीय एवं तेस्रो सयपत्री फूल मेला हुने भएको छ । तिहार तथा छठ पर्वलाई लक्षित गरी स्थानीय फूलको प्रवद्र्धन, बजारीकरण र पुष्प व्यवसायको विकास गर्ने उद्देश्यले पोखरा रंगशालामा उक्त मेला आयोजना गर्न लागिएको आज (सोमबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवद्र्धनमा गोदावरीको शान’ भन्ने मूल नाराका साथ आयोजना हुने मेलामा ३५ हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) कास्कीका अध्यक्ष श्रीराम सुवेदीले बताउनु भयो । पुष्प व्यवसायको प्रवद्र्धनसँगै उपभोक्तालाई तिहार र छठ पर्वका लागि आवश्यक फूल तथा बिरुवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । अध्यक्ष सुवेदीले फूलखेती गर्न चाहने किसान, पुष्प व्यवसायी तथा घरआँगन र बगैंचा सजाउन चाहने सर्वसाधारणका लागि मेला उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
फ्यान कास्कीका अनुसार मेलामा व्यावसायिक २२, कृषि सामग्रीका तीन र सूचनामूलक एक गरी कुल २६ वटा प्रदर्शनी तथा बिक्री कक्ष रहनेछन् । प्रदर्शनीमा नेपालमा लामो समयदेखि व्यावसायिक उत्पादन हुँदै आएका विभिन्न जातका गोदावरी फूल तथा यस वर्ष भित्रिएका नयाँ प्रजातिका फूलसमेत राखिनेछन् । यसका अतिरिक्त सयपत्री, मखमली, फूलमाला तथा अन्य मौसमी फूल र बिरुवाको प्रदर्शनी एवं बिक्री गरिने आयोजकले जनाएको छ । मेलाको उद्घाटन कात्तिक १८ गते पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम रहेको छ ।
पोखरामा पछिल्ला वर्षहरूमा व्यावसायिक फूलखेती विस्तार हुँदै गएको छ । पोखरा महानगरपालिकाका अनुसार यस वर्ष महानगर क्षेत्रमा करिब दुई सय रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ । महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरामा यस वर्ष तिहारलाई लक्षित गरी दुई करोड रुपैयाँभन्दा बढीको फूल कारोबार हुने अनुमान गरिएको छ । महानगर क्षेत्रमा हाल १६५ जना किसान व्यावसायिक फूलखेतीमा संलग्न रहेको र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न महानगरले फूलखेती गर्ने किसानलाई बीउ तथा मल्चिङ प्लास्टिक खरिदमा ५० प्रतिशत अनुदानसमेत उपलब्ध गराएको छ । फ्यान कास्कीका अध्यक्ष सुवेदीका अनुसार संस्थामा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायी पनि फूल उत्पादन र बिक्री वितरणमा सक्रिय छन् । व्यवसायीहरूले न्यूनतम ५० हजारदेखि अधिकतम ६ लाख रुपैयाँसम्म आम्दानी हुने गरी फूलखेती गर्दै आएका छन् ।
यद्यपि, पछिल्लो समय लगातार परेको वर्षाका कारण खुला आकाशमुनि लगाइएको फूलखेती प्रभावित हुन सक्ने चिन्ता व्यवसायीहरूमा देखिएको छ । फ्यानका पूर्वअध्यक्ष एवं गोल्डेन नर्सरीका सञ्चालक दयाकुमार द्वाले यस वर्ष समग्रमा फूल उत्पादन राम्रो भए पनि वर्षाले उत्पादनमा केही कमी आउन सक्ने बताउनुभयो । प्लास्टिकको छानामुनि लगाइएका फूलमा तुलनात्मक रूपमा कम असर परेको भए पनि खुला ठाउँमा लगाइएका फूल प्रभावित भएको उहाँको भनाइ छ ।
उहाँका अनुसार पोखराको फूल बजारमा हाल करिब ७० प्रतिशत स्थानीय उत्पादनले हिस्सा ओगटेको छ भने बाँकी ३० प्रतिशत फूल छिमेकी जिल्ला तथा पालिकाबाट आउने गरेको छ । विगतमा फूलका लागि भारतमा निर्भर रहनुपर्ने अवस्था रहे पनि पछिल्ला वर्षमा स्थानीय उत्पादन बढ्दै जाँदा पोखरा फूलमा आत्मनिर्भरतातर्फ अघि बढेको उहाँले बताउनुभयो ।





