पोखरामा ट्याक्सीका रूपमा लक्षित नयाँ ईभीको आकर्षक सुरुवात, एकै दिन ८१ वटा बुकिङ

-


     पोखरा क्लिक     
     कार्तिक १६ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखराको विद्युतीय सवारीसाधन (ईभी) बजारमा नयाँ विकल्प थपिएको छ। सीजी मोटर्सले आफ्नो ‘विद्युत् ईभी रिभोलुसन’ अभियानअन्तर्गत नयाँ विद्युतीय कार पोखरामा औपचारिक रूपमा सार्वजनिक गरेको छ । न्युरोडस्थित आयोजित सार्वजनिक तथा लन्च कार्यक्रममा ग्राहकहरूको उत्साहजनक सहभागिता देखिएको छ।

पोखराको यातायात क्षेत्रमा ट्याक्सीका रूपमा समेत प्रयोग गर्ने लक्ष्यसहित बजारमा ल्याइएको उक्त ईभीले सार्वजनिक भएकै दिन उल्लेखनीय व्यावसायिक प्रतिक्रिया पाएको छ। लन्च भएको पहिलो दिनमै ९ वटा गाडी ग्राहकलाई हस्तान्तरण गरिएको छ भने ८१ वटा गाडी बुकिङ भएका छन्। यसले पोखरामा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षण र मागलाई थप पुष्टि गरेको छ।

पोखरामा विद्युतीय गाडीको माग अत्यधिक बढ्दै गएको उल्लेख गर्दै सीजी मोटर्सका प्रतिनिधि एवं टिटि इभि रिभोलुसनका निर्देशक प्रमेश पराजुलीले नयाँ ईभीप्रति ग्राहकहरूले देखाएको चासो र उत्साहले आफूहरूलाई थप उत्साहित बनाएको बताउनुभयो। उहाँका अनुसार सार्वजनिक भएकै दिन प्राप्त ८१ वटा बुकिङले पोखराको बजारमा विद्युतीय सवारीसाधनको सम्भावना र माग स्पष्ट पारेको छ।

‘ःबपभ ःयचभ, म्चष्खभ क्ष्ललयखबतष्यल’ अवधारणामा आधारित उक्त ईभीको सुरुवाती मूल्य ३१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। गाडीमा ३०.२४ किलोवाट आवर क्षमताको ब्याट्री, ६० किलोवाटको मोटर तथा एकपटक पूर्ण चार्ज गर्दा ३३० किलोमिटरसम्म चल्न सक्ने कम्पनीको दाबी छ।

गाडीमा सुरक्षाका लागि आईपी६७ रेटिङयुक्त ब्याट्री, वायरलेस चार्जिङ, ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा तथा ९० प्रतिशत स्पेस इफिसियन्सीजस्ता विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ। लन्चको अवसरमा सीजी मोटर्सले विशेष ग्रुप बुकिङ अफरसमेत सार्वजनिक गरेको छ। उक्त अफरअन्तर्गत पाँचवटा गाडी एकैपटक बुकिङ गर्दा कुल एक लाख रुपैयाँसम्म छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ।

आधुनिक डिजाइन, स्मार्ट प्रविधि, आकर्षक मूल्य र सञ्चालन खर्च कम हुने अपेक्षासहित बजारमा आएको यस ईभीले विशेषगरी पोखराको ट्याक्सी तथा सार्वजनिक यातायात क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ। एकै दिन ८१ वटा बुकिङ र ९ वटा गाडीको डेलिभरी हुनुले पोखरामा विद्युतीय सवारीसाधनप्रति ग्राहकको बढ्दो विश्वास र बजार विस्तारको संकेत गरेको छ।



This will close in 20 seconds