दशैंको अघिल्लो दिन नवरात्रिमा पनि फेवाताल सफाइ अभियानमा जुट्यो नागरिक समाज

-


     पोखरा क्लिक     
     कार्तिक ३ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा , ३ कार्तिक,

नेपालीहरूको महान् पर्व बडादशैंको उल्लास र चहलपहलका बीच पनि पोखरामा फेवाताल संरक्षण अभियान रोकिएन। दशैंको अघिल्लो दिन नवराीत्रको अवसरमा पोखरा–१८ खपौंदीस्थित फेवाताल किनारमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ।

वातावरण संरक्षणका लागि महाअभियानको अगुवाइमा आयोजित सरसफाइ कार्यक्रममा पोखरेली नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरू सक्रिय रूपमा सहभागी भएका थिए। हरेक महिनाको ३ गते सञ्चालन हुँदै आएको फेवाताल सफाइ अभियानअन्तर्गत आयोजित कार्यक्रममा पतञ्जली योग समिति गण्डकी प्रदेश, पोखरा महानगरपालिकाको सरसफाइ शाखालगायत विभिन्न संघसंस्थामा आबद्ध दिदीबहिनी तथा दाजुभाइहरूको सहभागिता रहेको थियो। चाडपर्वको व्यस्तताका बीच पनि फेवातालको स्वच्छता र संरक्षणप्रति ऐक्यबद्धता जनाउँदै सहभागीहरूले ताल किनारको सरसफाइ गरेका थिए।

वातावरण संरक्षणका लागि महाअभियानका संयोजक रामबहादुर पौडेलले फेवातालको संरक्षण गर्नु सबै नागरिकको साझा दायित्व भएको बताउनुभयो। फेवाताल मानव जीवनसँग मात्रै नभई जलचर, स्थलचर तथा समग्र जैविक विविधताको अस्तित्वसँग जोडिएको महत्वपूर्ण प्राकृतिक सम्पदा भएको उहाँको भनाइ थियो। फेवातालको संरक्षण र स्वच्छता कायम राख्न सरकारी निकायको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै उहाँले नागरिकको सक्रिय सहभागिता र निरन्तर सचेतना आवश्यक रहेको बताउनुभयो। ताललाई सफा र स्वच्छ राख्न सबैले आफ्नो जिम्मेवारीबोध गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

दशैंको अवसरमा समेत समय निकालेर सरसफाइ अभियानमा सहभागी भई फेवाताल संरक्षणमा योगदान पुर्‍याउने सम्पूर्ण व्यक्ति, संस्था तथा स्वयंसेवकप्रति संयोजक पौडेलले विशेष धन्यवाद तथा आभार व्यक्त गर्नुभयो। पर्यटकीय नगरी पोखराको प्रमुख आकर्षणका रूपमा रहेको फेवातालको संरक्षण, स्वच्छता र जैविक विविधता जोगाउने उद्देश्यले सञ्चालन हुँदै आएको अभियानले नागरिकस्तरमा वातावरण संरक्षणप्रतिको जिम्मेवारीबोध बढाउन सहयोग पुर्‍याउँदै आएको छ। चाडपर्वका अवसरमा समेत निरन्तरता पाएको यस अभियानले फेवाताल संरक्षणका लागि सामूहिक प्रयास र नागरिक सहभागिताको महत्वलाई पुनः उजागर गरेको छ।



This will close in 20 seconds