
दिननाथ बराल,
पोखरा, ३ कात्तिक,
स्पेनको दोनोस्तीमा रहेका नेपालीहरूले भोटेकोशी बाढीपीडितका लागि २२ लाख रुपैयाँ राहत संकलन गरेका छन्। खेलकुदकर्मी तथा समाजसेवी अशोक लामा रुम्बाको नेतृत्वमा संकलित रकम प्रभावित क्षेत्रमा पुर्याएर आवश्यकताका आधारमा वितरण गरिनेछ।

संकलित रकममध्ये पहिलो चरणमा आठ लाख चार हजार पाँच सय ५० रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमार्फत पठाइएको र बाँकी करिब १४ लाख रुपैयाँ टोलीले प्रभावित क्षेत्रमा पुगेर स्थानीय सङ्घसंस्थासँगको समन्वयमा वितरण गर्ने रुम्बाले जानकारी दिनुभयो। लायन्स क्लब अफ लेकसाइड पोखराको समन्वयमा राहत वितरणको तयारी भइरहेको स्थानीय श्रीकृष्ण श्रेष्ठले बताउनुभयो। यसबाट प्रभावित परिवारको वास्तविक आवश्यकता पहिचान गरी सहयोग गर्न सहज हुने अपेक्षा गरिएको छ। राहत अभियानमा स्पेनको रेन्तेरिया नगरपालिकासहित दोनोस्तीमा रहेका नेपाली तथा अन्य शुभचिन्तकले सहयोग गरेका छन्। रुम्बाले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ।

यसैबीच, नेपाली समाज दोनोस्तीले बडादशैंका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। रुम्बाको नेतृत्वमा आयोजित कार्यक्रममा स्पेनमा रहेका नेपालीहरू भेला भएर दशैंको शुभकामना साटासाट गरेका थिए। कार्यक्रममा सहभागीहरूले नेपाली भेषभूषा लगाउनुका साथै विभिन्न परिकारको स्वाद लिएका थिए। समाजले नेपाली संस्कृति, परम्परा र आपसी सद्भाव कायम राख्न हरेक वर्ष विभिन्न चाडपर्व मनाउँदै आएको जनाएको छ। समाजले प्रवासमा रहेका नेपालीबीच एकता, सांस्कृतिक निरन्तरता र मातृभूमिप्रतिको आत्मीयता बलियो बनाउन राहत तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ।





