
पोखरा,
गण्डकी प्रदेशस्तरीय ‘वाईवाई यू–१९’ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ। पोखरा क्रिकेट रङ्गशालामा हालै सम्पन्न फाइनलमा नवलपुरले कास्कीलाई डकवर्थ–लुइस–स्टर्न (डीएलएस) पद्धतिमा ७१ रनले पराजित गर्दै च्याम्पियन बनेको हो।

गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा असोज २८ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको नवलपुरले ४४ ओभरको चौथो बलमा सबै विकेट गुमाउँदै २०१ रन बनाएको थियो। नवलपुरले दिएको २०२ रनको लक्ष्य पछ्याएको कास्की वर्षाका कारण खेल प्रभावित भएपछि संशोधित लक्ष्यअनुसार १७० रन बनाउनुपर्ने अवस्थामा २९ ओभरको तेस्रो बलमा ९८ रनमै अलआउट भयो।
नवलपुरको जितमा ब्याटिङ र बलिङ दुवैतर्फ खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। समीर रोकाले सर्वाधिक ४९ रन बनाउँदा समीर न्यौपानेले ३९ रन जोडे। त्यस्तै, पंकज यादवले २७, दीप्सन भुर्तेलले २४ र रजत भुर्तेलले २३ रनको योगदान दिए। बलिङतर्फ कास्कीका अनिष राउतले चार विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। लक्ष्य पछ्याउने क्रममा कास्कीका ब्याटर नवलपुरको बलिङसामु टिक्न सकेनन्। सुरज अधिकारीले सर्वाधिक २४ रन बनाउँदा अनिष राउतले २३ र सम्राट अधिकारीले २१ रन बनाए। अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा कास्कीले उपाधि जित्ने अवसर गुमायो।
नवलपुरको जितमा सुशील भुसाल नायक बने। उनले सात ओभर बलिङ गर्दै ११ रन खर्चेर चार विकेट लिए। उनको कसिलो बलिङले कास्कीको ब्याटिङलाई धराशायी बनायो। उत्कृष्ट प्रदर्शन गरेका भुसाल फाइनल खेलको उत्कृष्ट खेलाडी घोषित भए।प्रतियोगितामा गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता रहेको प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए। सहभागी टोलीलाई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। समूह ‘ए’मा स्याङ्जा, पर्वत र नवलपुर तथा समूह ‘बी’मा कास्की, बागलुङ र तनहुँ रहेका थिए। प्रतियोगिताले गण्डकी प्रदेशका युवा क्रिकेटरलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ। नवलपुरले फाइनलमा कास्कीलाई पराजित गर्दै उपाधि जितेसँगै प्रदेशस्तरीय यू–१९ क्रिकेटमा आफ्नो बलियो उपस्थिति देखाएको छ।





