
दीननाथ बराल,
पोखरा, १३ साउन,
पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा–प्रतिष्ठानको नयाँ नेतृत्व चयन गर्दै कवि तथा उपन्यासकार सरस्वती लालचन ‘प्रतीक्षा’ लाई कुलपतिमा नियुक्त गरेको छ । बुधबार पोखराका मेयर धनराज आचार्यले नवनियुक्त पदाधिकारीलाई नियुक्तिपत्र प्रदान गर्दै प्रतिष्ठानलाई पोखराको कला, साहित्य, भाषा र संस्कृतिको समृद्धिका लागि प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।,

प्रतिष्ठानको उपकुलपतिमा कला तथा साहित्यकर्मी तिलक पुर्जा पुन मगर तथा सदस्य–सचिवमा लोकगीत तथा संगीतकर्मी जीवन दाहाल नियुक्त हुनुभएको छ । प्रज्ञा परिषद् सदस्यमा फाइन आर्टबाट हरेराम जोजेजु, संगीत तथा वाद्यवादनबाट दिलीप गायक, नृत्यबाट श्रीजंग गुरुङ र रंगमञ्च तथा अभिनयबाट प्रमिला ताम्राकार तुलाचन मनोनयन हुनुभएको छ । यसैगरी प्रज्ञा सभाका सदस्यमा साहित्यबाट कल्पना चिलवाल, संस्कृतिबाट कृष्णप्रसाद गौतम, नृत्य निर्देशन तथा कलाकारबाट गमबहादुर परियार, फाइन आर्टबाट ज्योति गुरुङ, लेखनाथ साहित्य प्रतिष्ठानबाट नवराज अधिकारी, लोकगीत तथा संगीतबाट प्रेमराज अधिकारी, संगीत तथा ब्यान्डबाट भास्करध्वज श्रेष्ठ, साहित्य तथा इतिहासबाट रवीन्द्र माकाजु, साहित्य तथा कलाबाट रिता पहारी तथा लोक तथा दोहोरी संगीतबाट शिवहरि ढुंगाना चयन हुनुभएको छ । यी नियुक्ति तथा मनोनयन पोखरा प्रज्ञा–प्रतिष्ठान ऐन, २०७६ (दोस्रो संशोधन–२०८२) अनुसार गरिएको महानगरपालिकाले जनाएको छ ।

नियुक्तिपत्र हस्तान्तरण कार्यक्रममा वोल्दै पोखराका मेयर धनराज आचार्यले पोखरा प्रज्ञा–प्रतिष्ठानले नगरको प्राज्ञिक, साहित्यिक तथा सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका गतिविधिले पोखराको भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने बताउँदै उहाँले प्रतिष्ठानका लागि व्यवस्थित कार्यालय, आवश्यक कानुनी आधार र पर्याप्त बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो । उपप्रमुख मञ्जुदेवी गुरुङले प्रतिष्ठानको सक्रियताले पोखराको भाषा, साहित्य र सिर्जनशील क्षेत्रलाई थप उर्जा दिने विश्वास व्यक्त गर्दै महानगरपालिकाले आवश्यक सहयोग र सहजीकरण निरन्तर गर्ने बताउनुभयो ।

नवनियुक्त कुलपति सरस्वती प्रतीक्षाले आफूलाई दिइएको जिम्मेवारी इमानदारी र निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखराको प्राज्ञिक, साहित्यिक र सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सबै क्षेत्रसँग सहकार्य गर्दै प्रतिष्ठानलाई नमुना संस्थाका रूपमा विकास गर्ने उहाँको भनाइ छ । यसअघि कुलपति पदमराज ढकालको कार्यकाल सकिएपछि करिब डेढ वर्षदेखि प्रतिष्ठान नेतृत्वविहीन अवस्थामा थियो । नयाँ नेतृत्व चयन भएसँगै प्रतिष्ठानका गतिविधि थप सक्रिय, व्यवस्थित र परिणाममुखी हुने अपेक्षा गरिएको छ ।




