
दीननाथ बराल,
पोखरा ८, मंसिर,
सुर्खेतबाट आएका राउटे समुदायका तीन सदस्यीय टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटघाट गरी आफ्नो समुदायको वर्तमान अवस्था, समस्या र आवश्यकताबारे ध्यानाकर्षण गराएका छन् । भेटका क्रममा टोलीले राउटे समुदायको मौलिक सीप र पहिचान झल्किने काठबाट निर्मित भाँडासमेत उहाँलाई उपहारस्वरूप प्रदान गर्नु भएको छ ।

मुख्यमन्त्रीसँगको भेटमा राउटे समुदायका मुखिया प्रकाशले आफ्नो समुदायको दैनिकी, परम्परागत जीवनशैली, सांस्कृतिक पहिचान तथा पछिल्लो समय भोग्नुपरेका विभिन्न समस्याबारे जानकारी गराउनुभयो । उहाँले समुदायले सामना गरिरहेका चुनौती र आधारभूत आवश्यकताका विषयमा आफ्ना धारणा राख्नुभएको थियो । भेटका क्रममा राउटे समुदायका सदस्यहरूका कुरा सुन्ने, उहाँहरूको अवस्था बुझ्ने र समस्या तथा आवश्यकताबारे प्रत्यक्ष जानकारी लिने अवसर प्राप्त भएको मुख्यमन्त्री पाण्डेले जनाउनु भयो ।
राउटे समुदाय नेपालको मौलिक पहिचान, विशिष्ट संस्कृति, भाषा, परम्परा र जीवनशैली बोकेको महत्वपूर्ण आदिवासी समुदाय हो । प्रकृतिसँग नजिक रहेर आफ्नै परम्परा र मौलिक जीवनपद्धतिमा आधारित जीवन बिताउँदै आएको यस समुदायको पहिचान र सांस्कृतिक सम्पदाको संरक्षण गर्नु आजको महत्वपूर्ण आवश्यकता रहेको उहाँको भनाई थियो । उहाँहरूको मौलिक जीवनशैली, भाषा, संस्कृति र परम्परालाई जोगाउँदै शिक्षा, स्वास्थ्य, सुरक्षा, खाद्य सुरक्षा तथा अन्य आधारभूत सेवामा सहज पहुँच सुनिश्चित गर्न राज्यका सबै तह र सरोकारवाला निकायको साझा पहल आवश्यक रहेको मुख्यमन्त्री पाण्डेले बताउनु भयो ।






