पोखरामा भोलिदेखि सुरु हुने फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक किङ्स र कोशी प्रदेश भिड्ने

-


     पोखरा क्लिक     
     मंसिर ८ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ८, मंसिर,

पोखरामा भोलि (बुधबार) देखि सुरु हुने फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ को उद्घाटन खेलमा आयोजक युनाइटेड किङ्स क्लब र कोशी प्रदेश बिच खेल हुने भएको छ । बुधबार दिउसो २ः०० बजे पछि दुई टोली बिच उद्घाटन खेल हुने गरी आज खेल तालिका समेत सार्वजनिक गरिएको प्रतियोगिताका संयोजक थमन गुरुङले बताउनु भयो । उहाँका अनुसार बुधबार बिहान ९ः०० बजे घरेलु टिम गण्डकी भलिवल संघ र त्रिभुवन आर्मी क्लव बिच हुने छ भने दोश्रो खेल ११ः०० बजे नेपाल पुलिस क्लव बिरुद्ध एपिएफ बिच खेल हुने भएको छ ।

युनाइटेड किड्स क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा मंसिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिम बिच प्रतिस्पर्धा हुने भएको छ । सहभागी टोलीमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, नेपाल आर्मी क्लब, कोशी प्रदेश भलिबल सङ्घ, गण्डकी प्रदेश भलिबल सङ्घ र किड्स पोखरा भलिबल क्लब रहेको संयोजक गुरुङले पोखराक्लिकलाई जनाउनु भयो । प्रतियोगिताको विजेता टोलीले चार लाख रुपैयाँ, उपविजेताले दुई लाख ५० हजार रुपैयाँ, तृतीय हुने टोलीले एक लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

राष्ट्रियस्तरमा पुरुष भलिबल खेलको विकास, विस्तार र प्रवद्र्धन गर्ने, प्रतिभावान् खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने तथा पोखरालाई राष्ट्रिय खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक गुरुङले जनाउनु भयो ।
प्रतियोगिता लिगकम नकआउट प्रणालीमा सञ्चालन हुनेछ । किङ्स पोखरा भलिबल क्लबको टोलीमा भारतका तीन खेलाडीसमेत सहभागी हुने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख ९५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक संस्थाका सचिव अशोक थापाले जानकारी दिनुभयो । त्यसैगरी प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।