
काठमाडौं,
प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा यही मंसिर ६ र ७ गते भएको भ्रमणका क्रममा नेपाल र भारतबीच विकास, पूर्वाधार, ऊर्जा, व्यापार, पारवहन, शिक्षा, प्रविधि तथा धार्मिक पर्यटनलगायतका क्षेत्रमा महत्त्वपूर्ण सहमति र समझदारी भएका छन्।

भ्रमणको मुख्य उपलब्धिका रूपमा भारतले नेपाललाई करिब २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। त्यस्तै, दुई देशले ‘विकसित भारत, समुन्नत नेपाल’ नामक संयुक्त दृष्टिकोणपत्र पारित गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ आर्थिक तथा विकास साझेदारीका आधारमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँदिल्लीमा भएको उच्चस्तरीय वार्तापछि जारी संयुक्त वक्तव्यअनुसार भारतले उपलब्ध गराउने विकास सहायतामध्ये ५६ अर्ब रुपैयाँ विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार निर्माणका लागि अनुदानस्वरूप उपलब्ध हुनेछ। बाँकी १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि सहुलियतपूर्ण ऋणका रूपमा प्रदान गरिनेछ।
‘विकसित भारत, समुन्नत नेपाल’ संयुक्त दृष्टिकोणपत्र पारित
नेपाल र भारतले आर्थिक विकास, ऊर्जा, जलस्रोत, यातायात, कनेक्टिभिटी, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने लक्ष्यसहित संयुक्त दृष्टिकोणपत्र पारित गरेका छन्। यसले दुई देशबीचको परम्परागत सम्बन्धलाई आधुनिक आवश्यकता र आर्थिक विकाससँग जोड्दै आगामी दिनमा सहकार्यका नयाँ क्षेत्र विस्तार गर्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहले संयुक्त पत्रकार सम्मेलनमा समझदारी र अघि बढाइएका परियोजनाको वास्तविक प्रतिफल आम नागरिकको जीवनमा देखिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ, युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ, विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ।”
जनकपुर–अयोध्या ६०४ किलोमिटर रेल सेवाले धार्मिक पर्यटनमा नयाँ सम्भावना
भ्रमणका क्रममा धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नेपालस्थित जनकपुरधाम र भारतको अयोध्याबीच प्रत्यक्ष एक्सप्रेस रेल सेवा उद्घाटन गरिएको छ। करिब ६०४ किलोमिटर दूरी समेट्ने यस रेल सेवाले माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई जोड्नेछ। यसबाट रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन, तीर्थयात्रा तथा दुई देशबीचको सांस्कृतिक आदानप्रदानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भारतीय रेल मन्त्रालयले यसअघि नै साप्ताहिक रेल सेवा सञ्चालनका लागि स्वीकृति दिएको थियो। यसले नेपाल र भारतबीचको धार्मिक पर्यटनलाई अन्तरदेशीय रेल कनेक्टिभिटीसँग जोड्ने नयाँ अवसर सिर्जना गरेको छ। यसैगरी, प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको घोषणा गरिएको छ। नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा समेत भारतले सहकार्य गर्ने सहमति भएको छ। विशेषगरी बर्दिबास–निजगढ र वीरगञ्ज–निजगढ खण्डलाई प्राथमिकता दिइने उल्लेख छ।
गौतमबुद्ध विमानस्थलका लागि हवाई मार्ग दुईतर्फी बनाइने
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उडान विस्तारलाई सहज बनाउन हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ। यसका लागि आवश्यक प्राविधिक परामर्श र कार्यविधि अन्तिम रूप दिइनेछ। यो सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तेस्रो मुलुकसँगको व्यापारका लागि दुई भारतीय बन्दरगाह उपलब्ध
नेपालको पारवहन व्यापारलाई सहज बनाउन भारतले गुजरातस्थित दीनदयाल बन्दरगाह ९काण्डला० प्रयोगका लागि नयाँ पहुँच उपलब्ध गराउने घोषणा गरेको छ। त्यस्तै, आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म नेपालको पहुँच विस्तार गरिने भएको छ।
यसबाट नेपालले तेस्रो मुलुकसँगको आयात–निर्यात व्यापारका लागि थप पारवहन विकल्प प्राप्त गर्नेछ। समुद्रसम्म प्रत्यक्ष पहुँच नभएको नेपालका लागि बन्दरगाहको विकल्प विस्तार हुनु व्यापारिक लागत, ढुवानी समय र आपूर्ति व्यवस्थामा महत्त्वपूर्ण विषय बन्न सक्छ।
ऊर्जा क्षेत्रमा ठूला परियोजना अघि बढाउने सहमति
ऊर्जा सहकार्यअन्तर्गत ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल शिलान्यास गरिएको छ। त्यसैगरी, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० शीघ्र अन्तिम रूप दिएर कार्यान्वयनमा लैजान तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर निर्माणलाई तीव्रता दिन दुवै प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ।
नेपालको इनरुवा–भारतको न्यू पूर्णिया र नेपालको दोदोधारा–भारतको बरेलीबीच उच्च क्षमताका दुई सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त उद्यम गठनसम्बन्धी प्रगतिप्रति पनि दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्।
पेट्रोलियम पाइपलाइन र सीमा पूर्वाधार विस्तार
नेपाल–भारत पेट्रोलियम पूर्वाधार सहकार्यअन्तर्गत मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपालका जनतालाई समर्पण गरिएको छ। झापामा पेट्रोलियम टर्मिनल निर्माणको भर्चुअल शिलान्यास गरिएको छ भने सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको निर्माण शीघ्र सुरु गर्ने सहमति भएको छ। नेपाल र भारतबीच ग्यास पाइपलाइन निर्माणको सम्भावनासमेत खोजिने भएको छ।
सीमापार आवागमन र व्यापारलाई सहज बनाउन बनबासामा नयाँ एकीकृत जाँच चौकीको भर्चुअल शिलान्यास गरिएको छ। भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको कामलाई समेत तीव्रता दिने सहमति भएको छ। यसै अवसरमा भारतको धार्चुला र नेपालको दार्चुलाबीच महाकाली नदीमाथि निर्माण गरिएको नयाँ मोटर चल्ने पुलको उद्घाटन गरिएको छ।
नेपालमा आईआईटी क्याम्पस स्थापना गरिने
नेपालको उच्च शिक्षा, अनुसन्धान तथा प्रविधि क्षेत्रको विकासका लागि भारतले नेपालमा प्रतिष्ठित भारतीय प्रविधि संस्थान ९आईआईटी० को सम्बन्धन प्राप्त क्याम्पस स्थापना गर्न सहमति जनाएको छ। यसबाट प्राविधिक शिक्षा, अनुसन्धान, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गरिने भएको छ। यसले कृषि उत्पादनको प्रशोधन, भण्डारण, बजारीकरण र औद्योगिक विकासमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ। दुवै देशले एकअर्काको मुलुकमा बसोबास गर्ने नागरिकलाई बैंकिङ तथा दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउन पनि सहजीकरण गर्ने सहमति गरेका छन्।
आठवटा समझदारीपत्र आदानप्रदान
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबीच विभिन्न आठवटा समझदारीपत्र आदानप्रदान भएका छन्। ती समझदारीपत्रमा निम्न विषय समेटिएका छन् ।
१.भारतको राष्ट्रिय न्यायिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य।
२. भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच सहकार्य।
३. नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम।
४. आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणालीमा सहकार्य।
५. दक्षिण एसिया उपग्रहको उपयोगका लागि भू–उपग्रह सञ्चार सञ्जाल स्थापना।
६. दिगो सहरी विकासमा प्राविधिक सहकार्य।
७. स्वास्थ्य तथा चिकित्साको क्षेत्रमा सहकार्य।
८.पशुधन तथा मत्स्य विकासमा सहकार्य।
नेपाल र भारतबीच बाँकी रहेका सीमा समस्याको समाधानका लागि दुवै देशका परराष्ट्र सचिवलाई आवश्यक काम अघि बढाउन निर्देशन दिइएको छ। सीमा स्तम्भको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कामलाई पनि निरन्तरता दिइने भएको छ। संयुक्त वक्तव्यमा दुई देशबीचका विद्यमान सन्धि तथा सम्झौतालाई पारस्परिक सहमतिका आधारमा समयानुकूल पुनरावलोकन गर्न सकिने विषयसमेत उल्लेख गरिएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको छ। प्रधानमन्त्री मोदीले निमन्त्रणा स्वीकार गर्नुभएको र भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने जनाइएको छ। संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावलाई नेपाल–भारत सम्बन्धको मूल आधारका रूपमा व्याख्या गर्नुभयो।
उहाँले नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल रहेको उल्लेख गर्दै प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा भारतले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। दुईदिने भ्रमणबाट विकास सहायता, ऊर्जा, रेल तथा हवाई कनेक्टिभिटी, पारवहन, शिक्षा र प्रविधिमा भएका सहमतिले नेपाल–भारत सम्बन्धलाई नयाँ कार्यदिशा दिएको छ। अब यी सहमति र घोषणालाई समयमै कार्यान्वयन गर्दै किसान, युवा, विद्यार्थी, उद्यमी र सर्वसाधारणको जीवनमा प्रत्यक्ष लाभ पुर्याउनु दुवै देशका लागि मुख्य चुनौती र अवसरका रूपमा रहनेछ।





