
दीननाथ बराल,
पोखरा, ८ मंसिर,
पोखराको लेकसाइडस्थित बैदाममा रहेको केदारेश्वर महादेव मणि सेवा आश्रममा कार्तिक पूर्णिमाको अवसरमा भोलि (मंगलबार) देव दीपावली महोत्सव आयोजना हुने भएको छ। महोत्सवका अवसरमा मन्दिर परिसरमा पाँच हजारभन्दा बढी दीप प्रज्वलन गरिनुका साथै विशेष महाआरतीसमेत गरिने भएको केदारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका पीठाधीश स्वामी चिद्धन चैतन्य (लेखनाथ आचार्य) ले बताउनु भयो ।

महोत्सव मंगलबार दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ। देवताहरूलाई प्रसन्न पार्ने उद्देश्यले परापूर्वकालदेखि मनाइँदै आएको देव दीपावलीलाई धार्मिक आस्था र परम्परासँग जोड्दै मन्दिर परिसरमा विगत सात वर्षदेखि निरन्तरता दिइँदै आएको उहाँले बताउनुभयो। कार्तिक पूर्णिमाका दिन देवालयमा दीपदान तथा दीप प्रज्वलन गर्दा विशेष पुण्य प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्वामी चिद्धन चैतन्यले बताउनुभयो। उहाँका अनुसार कार्तिक महिनाभर विभिन्न कारणले दीपदान गर्न नपाएका श्रद्धालु भक्तजनले पूर्णिमाका दिन दीप प्रज्वलन गर्दा महिनाभर दीपदान गरेसरह पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।
सार्वजनिक रूपमा आयोजना गरिएको महोत्सवमा सहभागी भई दीप प्रज्वलन गर्न स्वामी चिद्धन चैतन्यले सम्पूर्ण श्रद्धालु भक्तजनलाई आह्वान गर्नुभएको छ। कार्यक्रममा सहभागी हुने भक्तजनले माटोको दियो, तेल, बत्ती तथा ज्योति लिएर आउन सक्ने व्यवस्था गरिएको छ। मन्दिर परिसरमा पाँच हजारभन्दा बढी दीप प्रज्वलन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। धार्मिक आस्था, शान्ति र आध्यात्मिक भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सामूहिक दीप प्रज्वलनसँगै विशेष महाआरतीसमेत गरिनेछ।






