प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणः जयशङ्करसँग भेट, नयाँदिल्लीमा भारतीय विदेशमन्त्रीद्वारा स्वागत, व्यापार, ऊर्जा, पारवहन र कनेक्टिभिटीलाई प्राथमिकता

-


     पोखरा क्लिक     
     मंसिर ६ गते २०८३ मा प्रकाशित


पोखरा,

प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुग्नुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत पुग्नुभएका प्रधानमन्त्री शाहको भ्रमणलाई दुई देशबीचको सम्बन्ध र आर्थिक सहकार्यलाई थप विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।

नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुभएको थियो। स्थानीय समयअनुसार दिउँसो ३ः१५ बजे विमानस्थल अवतरण गर्नुभएका उहाँको स्वागतमा विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो। भ्रमणको पहिलो दिन नै भारतीय विदेशमन्त्री डा। एस जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नुभएको छ। नयाँदिल्लीस्थित होटल ताजमा साँझ भएको भेटमा विदेशमन्त्री जयशङ्करले भारत सरकारका तर्फबाट प्रधानमन्त्री शाहलाई औपचारिक स्वागत गर्नुभएको थियो। भेटका क्रममा भ्रमणका अवसरमा हुने विभिन्न सहमति तथा सहकार्यका विषयमा समेत जानकारी गराइएको थियो।

भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयामबारे छलफल भएको छ। विशेषगरी व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, सम्पर्क सञ्जाल, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयले प्राथमिकता पाएको छ। दुवै पक्षले विद्यमान सहकार्यलाई अझ विस्तार र प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरेका छन्। प्रधानमन्त्री शाहसँगको भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो।

यसैबीच, प्रधानमन्त्री शाह भारत भ्रमणमा रहनुभएकाले उहाँको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दिइएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री श्रेष्ठलाई उक्त जिम्मेवारी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकार तथा उच्च सरकारी अधिकारीहरू सहभागी हुनुहुन्छ। टोलीमा व्यवसायी र सञ्चारकर्मीसमेत रहनुभएको छ। भ्रमणको मुख्य आकर्षणका रूपमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मङ्सिर ७ गते हुने प्रतिनिधिमण्डलस्तरीय वार्तालाई लिइएको छ। त्यसअघि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। दुई प्रधानमन्त्रीबीचको वार्तामा व्यापार, लगानी, ऊर्जा, पारवहन, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने कार्यसूची छ। यसका अतिरिक्त शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संशाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी गरिएको छ।

भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पन्न भएका केही सम्पर्क सञ्जाल तथा ऊर्जा सहकार्यसम्बन्धी परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। दुई दिने भ्रमण सम्पन्न गरी उहाँ मङ्सिर ७ गते साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका रहेको छ। नेपाल र भारतबीच भौगोलिक निकटतासँगै व्यापार, पारवहन, ऊर्जा र जनस्तरको गहिरो सम्बन्ध रहँदै आएको छ। प्रधानमन्त्री शाहको यस भ्रमणबाट यी क्षेत्रमा भइरहेका सहकार्यलाई थप गति दिने तथा नयाँ आर्थिक र विकास साझेदारीका सम्भावना पहिचान गर्ने अपेक्षा गरिएको छ। विशेषगरी ऊर्जा व्यापार, पूर्वाधार विकास र सहज आवागमनका विषयमा हुने सहमतिले आगामी दिनमा दुई देशबीचको आर्थिक सम्बन्धलाई कस्तो दिशा दिन्छ भन्ने चासोका साथ भ्रमणलाई हेरिएको छ ।