अदालतको आदेशपछि प्रदेश खेलकुद परिषद्का सदस्यसचिव शर्मा काममा फर्किए, पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

-


     पोखरा क्लिक     
     मंसिर ९ गते २०८३ मा प्रकाशित


पोखरा,

गण्डकी प्रदेश सरकारले पदमुक्त गर्ने निर्णय गरेपछि कानुनी उपचारको खोजीमा अदालत पुगेका प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्मालाई उच्च अदालत पोखराले पदमा यथावत् काम गर्न दिन आदेश दिएको छ। अदालतको आदेशसँगै शर्मा पुनः सदस्यसचिवको जिम्मेवारीमा फर्किएका छन्।

उच्च अदालत पोखराको संयुक्त इजलासले मंसिर १ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै मंसिर ७ गते शर्मालाई सदस्यसचिवकै हैसियतमा काम गर्न दिनुपर्ने आदेश गरेको हो। कामु मुख्य न्यायाधीश हरिप्रसाद पौडेल र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले शर्माले दायर गरेको उत्प्रेषण तथा परमादेशसम्बन्धी रिटमा यस्तो आदेश दिएको हो। यसअघि मंसिर १ गते अदालतले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णय यथास्थितिमा राख्न, कार्यान्वयन नगर्न र नगराउन तथा निवेदक शर्मालाई सदस्यसचिवको पदमा यथावत् काम गर्न दिन विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। पछिल्लो आदेशले उक्त अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो।

त्यस्तै, शर्मालाई स्पष्टीकरण सोध्ने तथा छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने कार्यसमेत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न अदालतले यसअघि नै अन्तरिम आदेश जारी गरिसकेको छ। अदालतको आदेशपछि शर्मा आफ्नो जिम्मेवारीमा फर्किएका हुन्। यद्यपि, अदालतबाट भएको आदेश अन्तिम फैसला भने होइन। मुद्दाको अन्तिम टुङ्गो लाग्न बाँकी छ। यसैबिच, प्रदेश खेलकुद परिषद्मा खेलाडीलाई पदक वितरण गर्ने क्रममा अनियमितता तथा प्रक्रियागत त्रुटि भएको आरोप लागेपछि गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। मन्त्रालयका सचिव डा। शेषनारायण पौडेलको संयोजकत्वमा गठित समितिले प्रतिवेदन बुझाएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज १ गते शर्मालाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको थियो।

स्पष्टीकरण सोध्ने तथा छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने प्रक्रियाविरुद्ध शर्मा उच्च अदालत पुगेका थिए। उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सात जनालाई विपक्षी बनाई उत्प्रेषण तथा परमादेशको रिट दायर गरेका थिए। सो रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि अदालतले मंसिर २ गते दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो। तर, उक्त छलफल हुनुअघि नै कात्तिक १८ गते बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले परिषद्का अन्य पदाधिकारी तथा सदस्यलाई यथावत् राख्दै शर्मालाई सदस्यसचिवबाट पदमुक्त गर्ने निर्णय गरेको थियो।

सरकारले रिक्त सदस्यसचिव पदमा प्रदेश खेलकुद ऐनको व्यवस्थाअनुसार अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयको खेलकुद महाशाखा प्रमुख उपसचिव दीपेन्द्र परियारलाई जिम्मेवारी दिएको थियो। सरकारको उक्त निर्णयविरुद्ध शर्माले छुट्टै उत्प्रेषण तथा परमादेशको रिट दायर गर्दै मन्त्रिपरिषद्को निर्णय बदर गरी आफूलाई पुनः सदस्यसचिव पदमा पदस्थापन गर्न माग गरेका थिए। सोही रिटमा अदालतले पहिलोपटक अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। यस प्रकरणमा शर्माले अदालतको आदेश तथा प्रक्रियाको पालना नभएको भन्दै अदालतको अवहेलनासम्बन्धी छुट्टै निवेदनसमेत दिएका छन्।सरकारले यसअघि अदालतबाट आदेश भएको विषयमा आवश्यक सक्कल कागजात उपलब्ध नगराएको तथा अदालतको आदेशको पालना नगरेको उनको जिकिर छ। उक्त निवेदनमा पनि मंसिर ७ गते न्यायाधीश हरिप्रसाद पौडेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। अदालतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, प्रदेशका प्रमुख सचिव र नवनियुक्त सदस्यसचिव दीपेन्द्र परियारसहित आठ जना विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

यसरी एउटै प्रकरणसँग सम्बन्धित विभिन्न रिटमा अदालतबाट आदेश जारी भएपछि सदस्यसचिव शर्माको पदमुक्ति र नियुक्तिसम्बन्धी सरकारी निर्णय थप कानुनी परीक्षणको प्रक्रियामा पुगेको छ। शर्माले खेलकुद पदक वितरणसम्बन्धी विषयमा भएको कामकारबाही र छानबिन प्रक्रियामाथि समेत प्रश्न उठाउँदै आएका छन्। उनले जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३९२० बमोजिम खेलकुद पदक वितरणसम्बन्धी सम्पूर्ण कामकारबाही र प्रक्रियाको छानबिन गर्न मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी रहेको बताएका छन्। यस प्रकरणमा अब अदालतको अन्तिम निर्णय, सरकारको लिखित जवाफ र पदक वितरणसम्बन्धी छानबिन प्रक्रियाले लिने दिशा महत्वपूर्ण हुने देखिएको छ। हाललाई भने उच्च अदालत पोखराको आदेशअनुसार श्रीधर शर्मा प्रदेश खेलकुद परिषद्को सदस्यसचिवका रूपमा यथावत् काममा फर्किएका छन्।