
दीननाथ बराल,
पोखरा, मंसिर ८,
एन्टिबायोटिक औषधिको अनावश्यक तथा जथाभावी प्रयोगका कारण प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स–एएमआर) को जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य क्षेत्रका विज्ञहरूले यसको विवेकपूर्ण प्रयोग गर्न आग्रह गरेका छन्। एन्टिबायोटिकको अत्यधिक प्रयोगले क्रमशः औषधिको प्रभावकारिता घट्दै जानु र नयाँ एन्टिबायोटिक औषधिको उत्पादन तथा विकास पर्याप्त नहुनु विश्व स्वास्थ्य क्षेत्रका लागि थप चिन्ताको विषय बनेको उनीहरूको भनाइ छ।
गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको आयोजनामा आज (मंगलबार) पोखरामा आयोजित एएमआरसम्बन्धी सञ्चारकर्मी तथा सरोकारवालाबीचको अन्तर्क्रिया कार्यक्रममा विज्ञहरूले एन्टिबायोटिकको अनियन्त्रित प्रयोगले मानव स्वास्थ्यसँगै पशुपन्छी, वातावरण र समग्र पारिस्थितिक प्रणालीमा समेत असर पार्ने बताएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री नन्दप्रसाद न्यौपानेले एन्टिमाइक्रोबियल औषधिको अनावश्यक तथा अनियन्त्रित प्रयोग नियन्त्रण गर्न औषधि उपभोगसम्बन्धी तथ्याङ्क नियमित रूपमा सङ्कलन, विश्लेषण र प्रसार गर्नुपर्ने बताए। तथ्याङ्कका आधारमा नियामकीय तथा नीतिगत निर्णय लिनुपर्ने उल्लेख गर्दै उनले औषधिको उपभोगलाई नियमन, खरिद, वितरण र प्रयोग व्यवस्थापनसँग जोड्नुपर्नेमा जोड दिए।
चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्ने, तोकिएको मात्रा र अवधिभन्दा फरक तरिकाले प्रयोग गर्ने तथा औषधि पसलबाट जथाभावी बिक्री वितरण गर्ने प्रवृत्तिले प्रतिजैविक प्रतिरोधको जोखिम बढाउने मन्त्री न्यौपानेको भनाइ थियो। यसको नियन्त्रणका लागि स्वास्थ्यकर्मी, औषधि व्यवसायी, उपभोक्ता, सञ्चारकर्मी र सम्बन्धित निकाय सबै जिम्मेवार हुनुपर्ने उनले बताए। एन्टिबायोटिकको विवेकपूर्ण प्रयोगलाई प्रोत्साहन गर्न औषधिको प्याकेजिङमा रातो धर्सा राख्ने, विश्व स्वास्थ्य संगठनले प्रयोगका लागि सिफारिस नगरेका १०३ प्रकारका एन्टिबायोटिकको दर्ता, नवीकरण, आयात तथा उत्पादनमा रोक लगाउने र रिजर्भ समूहका एन्टिबायोटिक अस्पतालका औषधि पसलबाट मात्र बिक्री वितरण गर्ने व्यवस्थालगायतका नियामकीय प्रयास भइरहेको पनि उनले जानकारी दिए।
कार्यक्रममा सहजीकरण गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा.शरदचन्द्र बरालले एन्टिबायोटिक औषधि चिकित्सकको सल्लाहअनुसार मात्र प्रयोग गर्नुपर्ने बताए। विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई औषधि पसलबाट चिकित्सकीय परामर्शबिना एन्टिबायोटिक दिने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो। उनले एन्टिबायोटिक सेवन गर्दा चिकित्सकले तोकेको मात्रा र अवधि पूरा गर्नुपर्ने, आफूखुसी औषधि सुरु गर्ने वा बीचमै बन्द गर्ने गर्न नहुने तथा बाँकी रहेको औषधिको सुरक्षित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। प्रयोगपछि बाँकी रहेका औषधि जथाभावी फाल्दा वा गलत तरिकाले व्यवस्थापन गर्दा त्यसका अवशेष पशुपन्छी, माछा तथा पानीको स्रोतमा पुग्न सक्ने र त्यसले वातावरण तथा मानव स्वास्थ्यमा समेत असर पार्न सक्ने उनले बताए।
डा। बरालले कोभिड–१९ महामारीका समयमा एन्टिबायोटिकको अत्यधिक प्रयोग भएको उल्लेख गर्दै यसबाट पाठ सिकेर आगामी दिनमा औषधिको विवेकपूर्ण प्रयोगमा ध्यान दिनुपर्ने बताए। एएमआर न्यूनीकरणका लागि खोपको अनिवार्य प्रयोग, खाद्य सुरक्षामा ध्यान, स्वच्छ खानेपानी, व्यक्तिगत सरसफाइ तथा वातावरणीय स्वच्छता कायम गर्नु आवश्यक रहेको उनको सुझाव थियो। कार्यक्रममा नेपालमा १० प्रकारका एन्टिबायोटिकको प्रयोग तथा प्रतिरोधसम्बन्धी अवस्थालाई निगरानीमा राखिएको जानकारी दिइएको थियो। मानव स्वास्थ्यमा मात्र नभई पशुपन्छीको उपचार तथा कृषि क्षेत्रमा समेत एन्टिमाइक्रोबियल औषधिको प्रयोग हुने भएकाले यसको व्यवस्थापनका लागि ुएक स्वास्थ्यु ९वान हेल्थ० अवधारणाअनुसार काम गर्नुपर्नेमा जोड दिइएको थियो। कार्यक्रममा प्रादेशिक रोग नियन्त्रण केन्द्रका महानिर्देशक मनमोहन मिश्रले गण्डकी प्रदेशमा एएमआरको अवस्था, विद्यमान समस्या, न्यूनीकरणका सम्भावित उपाय तथा आगामी कार्यदिशाबारे प्रस्तुतीकरण गरेका थिए। त्यसैगरी पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख डा.किरण पाण्डेले पशु स्वास्थ्यमा एन्टिमाइक्रोबियल औषधिको प्रयोग, जोखिम तथा एक स्वास्थ्य अवधारणाको महत्वबारे जानकारी गराएका थिए।
प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी अधिकृत साजन बरालले एन्टिमाइक्रोबियल औषधिको सुरक्षित प्रयोग तथा सञ्चारमाध्यममार्फत आम नागरिकसम्म पुर्याउनुपर्ने सचेतनामूलक सन्देशबारे प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक खिमबहादुर खड्का, स्वास्थ्य मन्त्रालयका निमित्त प्रदेश सचिव सुरज गुरौ, स्वास्थ्य क्षेत्रका विज्ञ, चिकित्सक, माइक्रोबायोलोजिस्ट, फार्मेसी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको स्वास्थ्य मन्त्रालयका अधिकृत बुद्धिसागर अधिकारीले पोखराक्लिकलाई बताए । कार्यक्रमले एएमआर नियन्त्रणमा सञ्चारमाध्यमको भूमिका, जनचेतना अभिवृद्धि र सरोकारवाला निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्त राज शर्माले बताए ।






