पोखराको पर्यटन विश्वमाझ चिनाउन विदेशी डिजिटल क्रिएटर पोखरामा, विमानस्थलमा स्वागत

-


     पोखरा क्लिक     
     कार्तिक १५ गते २०८३ मा प्रकाशित


पोखरा,

नेपालको पर्यटकीय राजधानी पोखराको प्राकृतिक सुन्दरता, संस्कृति र पर्यटनका विविध सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यसहित सात देशका चर्चित ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आइपुगेका छन्। उनीहरूमध्ये संयुक्त अरब इमिरेट्स (यूएई) र ट्युनिसियाका तीन जना कन्टेन्ट क्रिएटर फ्लाई दुबईको विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

पोखरा ओर्लिएका विदेशी पाहुनालाई पोखराका पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रका अगुवाहरूले विमानस्थलमा भव्य स्वागत गरेका थिए। पोखराको आत्मीय आतिथ्य र स्वागतबाट उनीहरू उत्साहित देखिएका थिए। विदेशी डिजिटल क्रिएटरको आगमनले पोखराको पर्यटन प्रवर्द्धनमा नयाँ उत्साह थपिएको पर्यटन व्यवसायीहरूको विश्वास छ।

नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनालाई विश्वभरका दर्शकमाझ पुर्‍याउने लक्ष्यसहित नेपाल पर्यटन बोर्ड (एनटीबी) र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको सहकार्यमा यो भ्रमण आयोजना गरिएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका विदेशी पाहुनालाई नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल, वरिष्ठ प्रबन्धक सूर्य थपलिया, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल, नाटा गण्डकीका अध्यक्ष सङ्गीता पौडेल, टान गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्य लगायत पर्यटन क्षेत्रका प्रतिनिधिले स्वागत गरेका थिए।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा फ्लाई दुबईको नियमित उडान सुरु भएसँगै अन्तर्राष्ट्रिय पर्यटकका लागि पोखरा पुग्ने सम्भावना थप फराकिलो बनेको बताउनुभयो।

उहाँले भन्नुभयो, “पोखरामा फ्लाई दुबईको नियमित उडान भएसँगै दुबईबाट मात्रै नभई विश्वका विभिन्न देशबाट पर्यटकहरू पोखरा आउन चाहने वातावरण बन्दै गएको छ। यसले पोखराको पर्यटनमा ठूलो सम्भावना देखाएको छ। अन्तर्राष्ट्रिय हवाई सम्पर्क र प्रभावकारी प्रचारप्रसारलाई सँगसँगै अघि बढाउन सके पोखरामा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढाउन सकिन्छ।”

उहाँका अनुसार विदेशी कन्टेन्ट क्रिएटरको पोखरा भ्रमणले यहाँका पर्यटकीय आकर्षणलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन सहयोग पुग्नेछ। सामाजिक सञ्जालमा पोखराका दृश्य, अनुभव र गतिविधि सार्वजनिक हुँदा नेपाल भ्रमणको योजना बनाइरहेका विदेशी पर्यटकलाई समेत आकर्षित गर्न सकिने उहाँको विश्वास छ।

यस भ्रमणमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बङ्गलादेश र श्रीलङ्काका चर्चित डिजिटल कन्टेन्ट क्रिएटर सहभागी छन्। टिकटकले हवाई यातायातको व्यवस्था गरेको छ भने भ्रमण तथा अन्य व्यवस्थापकीय समन्वय नेपाल पर्यटन बोर्डले गर्नेछ।

भ्रमणका क्रममा विदेशी क्रिएटरहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको अवलोकन गरी भिडियो तथा डिजिटल सामग्री निर्माण गर्नेछन्। पोखरामा प्राकृतिक सौन्दर्य, फेवाताल, हिमाली दृश्य, साहसिक पर्यटन, स्थानीय संस्कृति र आतिथ्य सेवाका विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिनेछ।

यस अभियानमा बङ्गलादेशका अनिर्बान कैसर, श्रीलङ्काका कसुन सम्पथ देगोडा गमागे, ट्युनिसियाका बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा यूएईका मोहम्मद नाबिलले पोखराका पर्यटकीय आकर्षण समेटेर सामग्री निर्माण गर्नेछन्।

त्यसैगरी फ्रान्सका जेरेमी ब्युडेटले चितवनका वन्यजन्तु, राष्ट्रिय निकुञ्ज र थारू संस्कृतिका विषय समेट्नेछन्। पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्ग्यु लीले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु तथा समुदायमा आधारित पर्यटनको सम्भावनालाई आफ्ना सामग्रीमार्फत विश्वसामु प्रस्तुत गर्नेछन्।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार क्रिएटरहरूले टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत नेपालका पर्यटकीय गन्तव्यबारे तयार गरिएका सामग्री अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउनेछन्। यसबाट नेपालको पर्यटन पहिचान विस्तार हुनुका साथै सम्भावित विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ।

एनटीबी र टिकटकबीच नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०२५ अगस्ट १९ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही सहकार्यअन्तर्गत सुरु गरिएको ‘लाइफटाइम एक्सपिरियन्सेस’ अभियानले नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि र स्थानीय जीवनशैलीलाई छोटा भिडियोमार्फत विश्वभर पुर्‍याउने लक्ष्य राखेको छ।

यसअघि काठमाडौंमा पर्यटन बोर्ड र टिकटकको संयुक्त आयोजनामा तीनदिने ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला पनि सम्पन्न भएको थियो। उक्त कार्यशालामा पर्यटन व्यवसायी, डिजिटल क्रिएटर, पदयात्रा व्यवसायी, पर्वतारोही तथा पर्यटन क्षेत्रका सरोकारवालालाई डिजिटल स्टोरीटेलिङ, भिडियो निर्माण र सामाजिक सञ्जालमार्फत पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने विषयमा प्रशिक्षण दिइएको थियो।

पोखरामा अन्तर्राष्ट्रिय उडानको विस्तारसँगै डिजिटल माध्यमबाट हुने प्रचारप्रसारलाई पनि प्रभावकारी बनाउन सके पर्यटन विकासले थप गति लिने अपेक्षा गरिएको छ। विदेशी कन्टेन्ट क्रिएटरले आफ्ना लाखौँ दर्शकमाझ पोखराका पर्यटकीय आकर्षण प्रस्तुत गर्दा यहाँका होटल, रेस्टुरेन्ट, ट्राभल तथा ट्रेकिङ व्यवसाय, साहसिक पर्यटन र स्थानीय समुदायले समेत लाभ लिन सक्ने पर्यटन व्यवसायीहरूको विश्वास छ।



This will close in 20 seconds