
पोखरा १३, कार्तिक,
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीको सहज आवागमनका लागि महत्वपूर्ण मानिएको विद्यालय बस सञ्चालनमा सहयोग पुर्याउने दाताहरूलाई कास्कीको मादीमा सम्मान गरिएको छ । कास्कीको मादी गाउँपालिका–७ स्थित धनुवास कालिका माध्यमिक विद्यालयको व्यवस्थापन तथा विद्यालय बस सञ्चालनका लागि आर्थिक सहयोग गर्ने चन्दादाताहरूलाई सम्मान गरिएको हो । मादी गाउँपालिका अध्यक्ष देविजंग गुरुङ वडाध्यक्षहरुले दातालाई सम्मान गर्नु भएको हो । बिद्यालय बस संचालन भएसंगै बिद्यालयमा बिद्यार्थी सङख्या बृद्धि गर्न बस सेवाले सहयोग गरेको उहाँले बताउनु भयो ।
विद्यालयको शैक्षिक विकासमा सहयोगी हातहरूलाई कदर गर्दै थप सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘चन्दादाता सम्मान कार्यक्रम–२०८३’ सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको शैक्षिक उन्नति र बस सञ्चालनका लागि आर्थिक तथा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने सहयोगीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मादी गाउँपालिका–७ का वडाध्यक्ष दुर्गा गुरुङले विद्यालय बस सञ्चालनको यात्रा सहज नभए पनि सामूहिक प्रयास, सहकार्य र एकताले सम्भव भएको बताउनुभयो । बस सञ्चालन गर्नुअघि विभिन्न चुनौती र समस्याको सामना गर्नुपरेको स्मरण गर्दै उहाँले सबैको साथ र सहयोगले ती कठिनाइ पार गर्न सफल भएको उल्लेख गर्नुभयो ।
उहाँले बस सञ्चालनमा ल्याउनु उपलब्धिको एउटा पाटो मात्रै भएको बताउँदै यसको नियमित सञ्चालन, प्रभावकारी व्यवस्थापन र दीर्घकालीन निरन्तरता अहिलेको मुख्य जिम्मेवारी रहेको धारणा राख्नुभयो । विद्यालय बसलाई व्यवस्थित र दिगो रूपमा सञ्चालन गर्न सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । बस सञ्चालनका लागि महत्वपूर्ण सहयोग गरेको लेखनाथ खानेपानी उपभोक्ता संस्थाप्रति विशेष धन्यवाद व्यक्त गर्दै वडाध्यक्ष गुरुङले देश तथा विदेशमा रहेर विद्यालयको हितका लागि आर्थिक सहयोग गर्ने सम्पूर्ण चन्दादाताप्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा मादी गाउँपालिका–५ का वडाध्यक्ष हुमनाथ अधिकारी, वडा नं.६ का वडाध्यक्ष दिलबहादुर क्षेत्री, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, वडा नं। ७ का संस्थापक वडाध्यक्ष लालबहादुर गुरुङ तथा नेकपा एमालेका युवा नेता बालकृष्ण गुरुङलगायतले विद्यालयको विकासमा समुदायको सहभागिता र सहयोगको महत्वमाथि प्रकाश पार्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अर्थ संकलन समितिका संयोजक क्याप्टेन इन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपाल सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । अर्थ संकलन समितिका सचिव सन्तोष शाहीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
सामुदायिक विद्यालयको विकासमा समुदाय, अभिभावक, पूर्वविद्यार्थी तथा देश–विदेशमा रहेका शुभेच्छुकहरूको योगदान महत्वपूर्ण हुने यस कार्यक्रमले देखाएको छ । चन्दादाताको सहयोगबाट विद्यालयको व्यवस्थापन र विद्यार्थीको आवागमनमा सहजता थपिनुका साथै विद्यालय र समुदायबीचको सम्बन्ध समेत थप मजबुत हुने अपेक्षा गरिएको छ ।






