
भाद्र १९,पोखरा,
कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको मुख्य प्रायोजनमा शुक्रबारदेखि तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल टेनिस प्रतियोगिता सुरु भएको छ ।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले खेल पर्यटन प्रवद्र्धन तथा खेलाडीबीच भाइचारा सम्बन्ध प्रगाढ पार्नका लागि रेवान पोखराले यो प्रतियोगितालाई सहयोग गर्दै आएको बताउनुभयो । यसअघि रेवान पोखराका पदाधिकारीहरूले कास्की जिल्ला खेलकुद विकास समितिले पोखरा रङ्गशालाभित्र सञ्चालन गरेको ‘क्लिन रङ्गशाला ग्रीन रङ्गशाला’ कार्यक्रममा हातेमालो गर्दै रेवान पार्क निर्माण गरिने उद्देश्य सहित वृक्षारोपण गरेको थियो । सोही वृक्षा संरक्षणका लागि टेनिस उद्घाटन समारोहमा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ लाई १५ हजारको चेक प्रदान गर्नुभयो ।
आयोजक कास्की जिल्ला टेनिस संघका कार्यवाहक अध्यक्ष नविन चालिसेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संघका द्वितीय उपाध्यक्ष नविन श्रेष्ठले स्वागत मन्तव्य तथा सचिव एवं प्रतियोगिता संयोजक भिष्मराज पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । समारोहमा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, पोखरा पर्यटन परिषद्का नवनिर्वाचित अध्यक्ष हरि भुजेल, नेपाली सेना पश्चिम प्रितना हेडक्वाटरबाट महासेनानी युवराज केसी, मेजर किशोर कुँवर, रेवान पोखराका पूर्व अध्यक्ष गोपीबहादुर भट्टराई, सूर्यबहादुर भुजेल लगायतको उपस्थिति रहेको थियो । पाँच दिनसम्म चल्ने प्रतियोगितामा सिङ्गल तथा डबलतर्फ विजेता र उपविजेता खेलाडीले नगदसहित ट्रफी मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।





