लेकसाइडमा खाडल छोप्न राखिएको ढुङ्गामा टेक्दा लडेर महिला घाइते

-


     पोखरा क्लिक     
     कार्तिक ६ गते २०८३ मा प्रकाशित


पोखरा, ६, कात्तिक

पोखरा महानगरपालिका–६, लेकसाइडमा सडकको खाडल छोप्न राखिएको ढुङ्गामा टेक्ने क्रममा लडेर एक महिला घाइते भएकी छन्। काखमा सानो बच्चा बोकेर हिँडिरहेकी ती महिला लडेर बेहोस भएपछि स्थानीय बासिन्दाले तत्काल उद्धार गरेका थिए। भैरहवाबाट पोखरा घुम्न आएकी ती महिला सडकमा रहेको खाडल छोप्न राखिएको ढुङ्गामा टेक्ने क्रममा लडेको स्थानीयले बताएका छन्। महिला लडेर बेहोस भएपछि उहाँको काखमा रहेको बच्चा जोडले रुन थालेको थियो। त्यसपछि घटनास्थलमा रहेका स्थानीय बासिन्दाले तत्काल उद्धारमा जुट्दै महिला र बच्चालाई सुरक्षित बनाएका थिए।

उद्धारपछि महिलालाई सुरक्षित रूपमा उहाँका आफन्तको जिम्मा लगाइएको थियो। पोखराको व्यस्त पर्यटकीय क्षेत्र लेकसाइडमा भएको यस घटनाले सडक तथा पैदलमार्गमा रहेका खाल्डाखुल्डी र तिनलाई छोप्न राखिएका असुरक्षित संरचनाले पैदलयात्रीलाई जोखिममा पारेको देखाएको छ। विशेषगरी बालबालिका बोकेर हिँड्ने महिला, ज्येष्ठ नागरिक तथा पर्यटकलाई यस्ता असुरक्षित सडक संरचनाले थप जोखिममा पार्न सक्छन्।पर्यटकीय सहर पोखराको मुख्य पर्यटकीय क्षेत्रमा पैदलयात्रीको सुरक्षालाई ध्यान दिँदै सडकका खाल्डाखुल्डी व्यवस्थित रूपमा मर्मत गर्न र जोखिमपूर्ण स्थानको तत्काल पहिचान गरी सुरक्षित बनाउन आवश्यक देखिएको छ।



This will close in 20 seconds