
दीननाथ बराल,
पोखरा ४, साउन,
डिजिटल मार्केटिङमा अवसर र चुनौती उत्तिकै हुने हुँदा सावधानि पूर्वक मार्केटिङ गर्न शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले सुझाव दिनु भएको छ । ट्रेकिङ एजेन्टस् एशोसिएसन अफ नेपाल(टान) गण्डकीको आयोजनामा, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत शुक्रबार सम्पन्न पाँच दिने डिजिटल मार्केटिङ सम्बन्धी प्रशिक्षणको समापन समारोहमा वोल्ने वक्ताहरुले उक्त कुरा बताउनु भएको हो ।

विश्व व्यापी रुपमा रहेको डिजिटल मार्केटिङ रणनीति यसको महत्व र यसलाई सहि रुपमा प्रयोग गर्न नसके अहिलेको अबस्थामा कुनै पनि पर्यटन व्यवसाय फष्टाउन नसक्ने वक्ताहरुको भनाई थियो । तालिमको समापन गर्दै गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिँह गुरुङले पोखरा क्षेत्रमा पर्यटकहरुको बसाई अवधि लम्बाउने गरी यहाँको पर्यटकीय नयाँ गन्तव्यहरुको खोजि देखि प्रबद्र्धन र मर्मत सुधारमा प्रदेश सरकारको बिषेश ध्यान गएको जनाउनु भयो । पदयात्राको प्रवद्र्धन र सहितलाई यसलाई बचाउने चूनौती रहेको उल्लेख गर्दै उहाँले योजनावद्ध तरिकाले पर्यटन र पदयात्रा पर्यटनको विकासमा लागेको बताउनु भयो । सचिव गुरुङले पदयात्राहरुको प्रवद्र्धन गर्ने र ती पदयात्राहरुलाई जोगाउनुपर्ने ठूलो चूनौती रहेकोले त्यसको लागि निजी क्षेत्र र सरकार दुबैको समन्वय आवश्यक भएको उल्लेख गर्नु भयो ।

पोखरामा सामुहिक तथा बृहत रुपमा विभिन्न जनजातिहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुतः गराउने तयारी भएको उहाँको भनाई थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा प्रकृति र संस्कृतिको धनि देशको विश्व बजारमा डिजिटल मार्केटिङको खाँचो भएको दाबी गर्नु भयो ।नेदरल्याण्डको पुम नेदरल्यान्डका अन्तर्राष्ट्रिय प्रशिक्षक जेरोएन भिन्केस्टेइजनले सहभागि ३० जनालाई प्रशिक्षण गराउदै नेपाल जस्तो देशमा आगन्तुक पाहुनालाई सहज रुपमा आउने हवाई रुटको सहज पहुच भए विश्वका अधिकांश पर्यटकहरु नेपाल आउने दाबी गर्नु भयो । नेपालको राजनीति बाहेक अन्य सबै राम्रो भएको उहाँले पोखराक्लिकलाई उल्लेख गर्नु भयो । टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले अहिलेको व्यवसायको प्रमुख चुनौती डिजिटल मार्केटिङ रहेको दाबी गर्नु भयो । उक्त प्रशिक्षण निकै फलदायी रहेकाले आगामी दिनमा यस्ता व्यवहारिक ज्ञान सिप हासिल हने प्रशिक्षण निरन्तर रुपमा आयोजना गर्ने वचन दिनु भयो ।

प्रविधिको प्रयोग गरेर कसरी व्यवसायको प्रवद्र्धन गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षणमा सहजीकरण गरिएको टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले बताउनु भयो । समयको माग अनुसार सूचना प्रविधि र यसले विकास गरेको डिजिटल प्रविधिलाई कसरी प्रबद्र्धन गर्न सकिन्छ त्यसका बारेमा समेत गहन छलफल भएको उहाँको भनाई थियो । प्रशिक्षणमा सहभागी यदुराज पोखरेलले यस्तो तालिम फलदायि हुने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा टानका पूर्वअध्यक्ष सोम थापा, टानका सचिव तीर्थराज सुवेदी लगायतले तालिमले व्यवसायीको क्षमता विकासमा सहयोग पुग्ने दाबी गर्नु भयो ।